Page header hundai

  • कतार राजनीतिक संकटको तार सिधै इरान र साउदी अरबसँग जोडिएको छ । साउदी अरबले कतारसँगको कूटनीतिक सम्बन्ध तोड्ने कदम त्यहाँका अमिर शेख तमिम बिन हमद अल थानीको विवादास्पद टिप्पणीको आधारमा उठाएको हो, जसअनुसार इरानको पक्ष लिएको कतारमाथि आरोप छ ।
    गत बुधबार इरानको संसद र अयातुल्लाह खुमिनीको निवासमा हमला भयो । आक्रमणमा १२ जनाको ज्यान गयो । तीन आक्रमणकारी मारिए । आक्रमणको जिम्मेवारी सुन्नी चरमपन्थी संगठन आइएसले लियो । यद्यपि इरानको रेबुसनरी गार्डले उक्त हमला साउदी अरब र अमेरिकीको मिलेमतोमा भएको दाबी गरेको छ । यसलाई मात्र एउटा घटनाक्रमको रूपमा मात्र हेरिएको छैन, मध्यपूर्वमा क्षेत्रीय टकरावको सुरुवातीको संज्ञा दिइएको छ ।
    यो क्षेत्रीयमा जातीय, धार्मिक, सांस्कृतिक र कूटनीतिक दरार निक्कै गहिरो हुँदै गएको विश्लेषण गरिएको छ । जुन दरारलाई मध्यपूर्वका जनताले बुझ्न जरुरी रहेको बताइन्छ । मध्यपूर्वमा दुई ठूला शक्ति राष्ट्र इरान र साउदी हुन्, जसको सम्बन्धमा कटुताको गहिराइ बढ्दै गइरहेको छ । दुवै राष्ट्र पूरै क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्न जुटेका छन् । त्यसैकारण पनि उनीहरूबीच पटक पटक टकरावको स्थिति उत्पन्न हुने गरेको छ ।
    साउदी अरब कट्टरपन्थी सुन्नी समुदायको गढ मानिन्छ भने इरान शिया बहुल देश हो । दुवै देशको राजनीति र कूटनीतिमा धर्म नै केन्द्रविन्दु मानिन्छ । जानकारहरूका अनुसार संसारभरि नै साउदी अरब आफंै सुन्नी इस्लामको झन्डा फहराउन चाहन्छ भने इरान शिया मुसलमानको पे्ररणा स्रोत, रक्षक र सहयोगीको भूमिकामा सतहमा देखिएको छ ।
    मध्यपूर्व इरान, इराक र बहराइनजस्ता केही देश छन्, जहाँ शिया आवादी सुन्नीको भन्दा बढी छ । बाँकी मध्यपूर्वको देशमा सुन्नीको मत मान्ने बहुसंख्यक छन् । साउदी अरब आफैं यी देशको अगुवाइ मान्छ । यही धर्मका आधारमा मक्कामदिना साउदीमै पर्छ । त्यति मात्र होइन, ऊसँग संसारभरिकै सबैभन्दा ठूलो तेल भण्डार र हितैषी मित्रका रूपमा अमेरिकालाई पाएको छ ।
    सन् १९७९ को इस्लामिक क्रान्तिपछि अमेरिकासँग इरानको सम्बन्ध शत्रुतामा परिणत भएको हो । विकिलिक्सले खुलासा गरेको रहस्यअनुसार इजरायलमार्फत इरानमा आक्रमण गराउन साउदी शाह अमेरिकामाथि दबाब बनाइराख्न चाहन्छ । इरान र साउदी अरबबीचको शत्रुताको मुख्य जड पनि यही हो । साउदी अरबले पनि चरमपन्थलाई बढावा दिएको आरोप लागेको छ । उसले लेवनानमा सक्रिय शिया हतियारधारी संगठनलाई सहयोग गरिरहेको छ । हेजबुल्लालाई भने इरानले समर्थन गरेको छ ।
    सिरिया र इराकमा लडिरहेका हतियारधारी गुटको तार पनि शिया र सुन्नीको नाममा इरान र साउदी अरबसँग जोडिएको आमसर्वसाधारणलाई थाहा भएकै कुरा हो । मध्यपूर्वमा तीनवटा प्रभावशाली जाति छन् । अरबी, फारसी र तुर्क हुन् । उनीहरूबीच सदीयौंदेखि आपसमा संघर्ष चल्दै आइरहेको छ । एकै क्षेत्रमा बसोबास गर्ने भए पनि सांस्कृतिक हिसाबले इरानी र अरबी बेग्लाबेग्लै हुन् भन्ने कुरा बिर्सन हुँदैन ।
    इरान र इराकबीच ८० को दशकमा लामो लडाइँ भयो । यसलाई पनि सुन्नी र शियाबीचको युद्धका रूपमा हेरिन्छ । शिया बहुल इराक र सुन्नी सद्दाम हुसेनको शासन थियो । इराकको शिया आवदीमा इरानको बढ्दो प्रभावबाट उनी निक्कै समस्यामा परेका थिए । ८० को दशकको लडाइँ पनि यही मुख्य कारण थियो । बहराइन र इराक यस्ता शिया बहुल देश हुन्, जहाँ अल्पसंख्यक भए पनि सुन्नीको शासन लामो समयसम्म रह्यो ।
    इरान र साउदीबीचको अविश्वासमा महत्वपूर्ण कारण अमेरिका हो । साउदी अरब अमेरिकी हतियार किन्ने सबैभन्दा ठूलो देश हो । सुरक्षासहित आफ्ना आवश्यकतामा साउदी अमेरिकामाथि निर्भर रहन्छ । जबकि इरान र अमेरिकाबीच कूटनीतिक सम्बन्ध छैन । दोस्रो कुरा, इरान अधिकांश कुरामा आत्मनिर्भर छ । त्यसैले संसारले ऊमाथि प्रतिबन्ध लगाउँदा पनि उसले अलिकति पनि दबाब महसुस गरेन । उसले स्वतन्त्ररूपमा आफ्नो परमाणु भट्टी सञ्चालन गरिरह्यो । अफगानिस्तान एक यस्तो देश हो, जहाँ आफ्नो प्रभाव बढाउन इरान र साउदी अरब दुवै लागे । विशेष गरी पश्चिमी अफगानिस्तानमा इरान अधिक सक्रिय छ किनभने त्यो इरानको सीमा क्षेत्र हो ।
    यदि साउदी अरब र इरानबीच युद्ध हुने हो भने त्यसको दूरगामी परिणाम भोग्न विश्व तयार रहनुपर्ने विश्लेषकहरू बताउँछन् । द्वन्द्वको सुरुवात कतारसँग कूटनीतिक सम्बन्ध अन्त्य गरेर साउदी र उसका समर्थकहरूले गरेका छन् । कतारले अरब देशसँगको कूटनीतिक सम्बन्धलाई सामान्य बनाउन आफ्नो वैदेशिक नीति समर्पण नगर्ने प्रण गरेको छ । कतारले भनेको छ, ‘हामीलाई यसकारण अलग्याइएको हो किनभने हामी सफल र प्रगतिशील छौं, आतंकवादको समर्थक नभई हामी शान्तिका समर्थक हौं र हामी समर्पणका लागि तयार भए पनि आफ्नो वैदेशिक नीतिको स्वतन्त्रतालाई भने कदापि समर्पण गर्ने छैनौं ।’

    अहिलेसम्म के भयो ?
    साउदी अरबका विदेशमन्त्रीले ओमान गएर कुराकानी गर्ने कोसिस गरे पनि ओमानका अधिकारीले अहिलेसम्म कुनै रुचि देखाएका छैनन् । ओमानले अहिलेसम्म कतारविरुद्ध कदम उठाएको छैन । कतारलाई इरानको तर्फबाट खाना र पानी दिने प्रस्ताव गरिएको छ, तर कतारले अहिलेसम्म यो प्रस्ताव स्वीकार गरेको छैन । कतारका विदेशमन्त्री शेख मोहम्मद शनिबार मस्को पुगेका छन्, जहाँ उनले आफ्ना समकक्षी सर्गेई लावरोवसँग भेटघाट गरे । भेटघाटमा तत्कालीन मुद्दामा चर्चा भएको छ ।
    बीबीसी संवाददाता जेम्स रोबिन्स भन्छन्, ‘यो पूरा क्षेत्र राजा र धनाढ्यको हो, जो सामान्य रूपमा स्थानीयस्तरमा यति धेरै पकड राख्छन् कि उनीहरूको सत्ताका लागि खतरा बन्ने कुनै पनि विरोधीको स्वरलाई दबाउन सक्छन् । तर कतारका धनाढ्य ती नीतिमा चल्छन्, जो सामान्यतयाः सुन्नी इस्लामको सुपरपावर साउदी अरबको संकीर्ण खोल्सामा फिट हुँदैनन् । साउदी अरब यो नीतिको घोर विरोधी हो, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प साउदी राजाको पक्षमा भएको कुरा सार्वजनिक हुनेवित्तिकै साउदी अरब कतारविरुद्ध शत्रुताको कारबाही सुरु गर्न चाहन्छ ।

Ghar Bheti Animal Nepal
  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…