Page header hundai

  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक प्रधानमन्त्री बन्ने अवसर पाउने नेताहरू विश्वमा कमै छन् । तर देउवा चारैपटक मुलुकको अत्यन्त कठिन घडीमा प्रधानमन्त्री बनेका छन् । २०५२ सालमा देउवा पहिलो पटक प्रधानमन्त्री बन्दा मुलुकमा त्रिशंकु संसद् थियो । निर्दलीय संस्कार बोकेको पूर्वपञ्चहरूको पार्टी राप्रपा सत्ताको साँचो लिएर बसेको थियो । राप्रपा जता जान्छ, उसैको बहुमत पुग्ने अवस्था रहेका कारण सरकार टिकाउनकै लागि देउवाको अधिकांश समय तथा साधनस्रोत खर्च भयो । जसभन्दा अपजस बढी पाएरै १८ महिनापछि देउवा बिदा भए । दोस्रो पटक २०५८ सालमा देउवा प्रधानमन्त्री बन्दा एकातिर मुलुक माओवादी हिंसाको उत्कर्षमा पुगेको थियो भने अर्कातिर  देउवा स्वयंको पार्टी नेपाली कांग्रेसमा ठूलो उथलपुथल आइसकेको थियो । कृष्णप्रसाद भट्टराईलाई भावी प्रधानमन्त्री घोषणा गरेर नेपाली कांग्रेसले बहुमत प्राप्त गरेको थियो, तर उनलाई प्रधानमन्त्रीका रूपमा ६ महिना पनि काम गर्न नदिई लखेटिएको थियो । भट्टराईलाई लखेटेर प्रधानमन्त्री बनेका पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले   मुलुकमा शान्ति सुरक्षा प्रदान गर्न सेना परिचालन गर्न खोजेका थिए, तर सफल नभएपछि राजीनामा दिन बाध्य भए । कोइरालाको राजीनामापछि प्रधानमन्त्री बनेका देउवा शान्ति सुरक्षका लागि सेना परिचालन गर्न सफल भए, तर देउवाको यो सफलतालाई सभापति कोइरालाले आफूविरुद्धको षड्यन्त्रका रूपमा बुझे । जसका कारण  सभापति कोइराला र प्रधानमन्त्री देउवाबीच ठूलो तनाव उत्पन्न भयो । उक्त तनाव संसद् विघटन र पार्टी विभाजनसम्म पुग्यो ।  
    देउवा दोस्रो पटक प्रधानमन्त्री हुँदा दाजु वीरेन्द्रको वंश विनाशपछि  भाइ ज्ञानेन्द्र शाह राजा बनेको भर्खर तीन महिना भएको थियो ।  प्रजातन्त्र मासेर आफैं प्रत्यक्ष शासन गर्ने महत्वाकांक्षा राजा ज्ञानेन्द्रमा जागेको थियो । एकातिर माओवादी हिंसात्मक आन्दोलन र अर्कातिर आफ्नै पार्टीका सभापति कोइराला तथा राजा ज्ञानेन्द्रको चरम असयोगका कारण देउवाको दोस्रो पटकको कार्यकाल पनि रक्षात्मक अवस्थामै गुज्रयो । २०५९ असोज १८ गते राजा ज्ञानेन्द्रले ०१७ साल दोहो¥याए । चौतर्फी असहयोगका बाबजुद दोस्रो कार्यकालमा देउवाले मुलुकको आर्थिक तथा सामाजिक सुधारका लागि कोशेढुंगा सावित हुने केही महत्वपूर्ण काम गरेका थिए । असोज १८ को ‘कू’ विरुद्ध चौतर्फी आन्दोलन भएपछि देउवालाई प्रधानमन्त्रीको रूपमा पुनर्बहाली गर्न तत्कालीन राजा ज्ञानेन्द्र बाध्य भए, तर संसद् नरहेको त्यो अवस्थामा दरबार धेरै नै सक्रिय भएकाले देउवाको तेस्रो पटकको कार्यकाल पनि उत्साहजनक रूपमा अघि बढेन, अन्तत्वगत्वा २०६१ माघ १९ गते प्रधानमन्त्री देउवालाई राजा ज्ञानेन्द्रले अपदस्थ गरे ।
    यतिखेर चौथोपटक प्रधानमन्त्री हुँदा मुलुकमा राजतन्त्र उन्मूलन भइसकेको छ । दरबारबाट हुनसक्ने षड्यन्त्रबाट देउवामुक्त छन् । यतिबेला नेपाली कांग्रेसको सभापति देउवा आफैं छन् । पार्टीको संसदीय दलमा देउवाको दुई तिहाइभन्दा बढी बहुमत छ । विगतमा जस्तो आफ्नै पार्टीबाट असहयोग हुने खतरा अब छैन । यसैगरी,  संसद्को करिब दुई तिहाइ बहुमतबाट प्रधानमन्त्री निर्वाचित भएका छन् । संसद्मा कुनै एक पार्टीसँग सत्ताको साँचो छैन । एक वा दुई पार्टीले समर्थन फिर्ता लिँदैमा सरकार धरापमा पर्ने अवस्था छैन ।  विगतमा परेको अप्ठेरोबाट पाठ सिकेका देउवाले यो चौथो कार्यकालमा मुलुकका लागि केही ऐतिहासिक काम गर्ने आशा मुलुकवासीले गरेका छन् । देउवा सरकारबाट देश र जनताले धेरै ठूलो अपेक्षा पनि राखेका छैनन् । आगामी मंसिरको पहिलो साताभित्र  केन्द्रीय तह र प्रदेश तहको निर्वाचन अनिवार्य छ । यसका लागि नवनिर्वाचित प्रधानमन्त्री देउवाले प्रतिबद्धतासमेत जाहेर गरेका छन् ।  उनको यो कार्यकाल बढीमा आठ महिना मात्रै हो । यो आठ महिनाको अवधिमा तीनवटा महत्वपूर्ण निर्वाचन कुनै पनि हालतमा सम्पन्न गर्नुपर्नेछ । देउवाबाट जनताले अपेक्षा गरेको पनि यही हो ।
    मुलुकको आर्थिक वृद्धिदर करिब ७ प्रतिशतको हाराहारीमा रहेका बेला देउवा प्रधानमन्त्री बनेका छन् । राष्ट्रिय गौरवका आयोजना निर्माणले गति लिइरहेका छन् । दुवै छिमेकी मुलुकसँगको सम्बन्ध सुचारु भइसकेको छ । यो अवस्थालाई कायमै राख्न सक्ने हो भने मुलुकको भविष्य अत्यन्त उज्ज्वल छ । यस्तो अवस्थामा प्रधानमन्त्रीको बागडोर सम्हाल्न पाउनु देउवाका लागि अहोभाग्य हो । प्रधानमन्त्रीका रूपमा ठूलो जस पाउने अवसर देउवालाई छ । तर आगामी चुनावमा आफ्नो पार्टी नेपाली कांग्रेसलाई सके बहुमत दिलाउने, नसके पनि  पार्टीको वर्तमान हैसियत कायमै राख्नुपर्ने चुनौती प्रधानमन्त्री देउवासामु छ । स्थानीय तहको पहिलो चरणको निर्वाचनको परिणामले नेपाली कांग्रेसलाई राम्रो संकेत गरेको छैन । करिब दुई तिहाइ पालिकाहरूमा आगामी असार १४ गते दोस्रो चरणको निर्वाचन हुँदैछ । यो निर्वाचनको परिणामले धेरै कुराको संकेत गर्नेछ ।

     

  • यी हुन् एमालेका तीन दर्जन आकांक्षी

    काठमाडौं । प्रदेश मुख्यमन्त्री तथा प्रदेश सभामुखको विषयमा एमालेभित्र कडा प्रतिस्पर्धा चलिरहेका बेला राष्ट्रिय सभाको प्रतिनिधित्व गर्ने विषयमा पनि उस्तै…

  • सातवटै प्रदेशमा मतदाता नामावली प्रकाशित

    काठमाडौं । राष्ट्रियसभा सदस्यको यही माघ २४ गते बुधबार हुने निर्वाचनको (निर्वाचन मण्डल) मतदाता नामावली आज प्रकाशित गरिएको छ ।…

  • अवसर नपाएकालाई राष्ट्रिय सभा

    काठमाडौं । राष्ट्रिय सभामा प्राप्त हुने सीमित सिटमा प्रतिनिधित्व कसरी गराउने भन्ने मापदण्ड नेपाली कांग्रेसले तय गरेको छ । राष्ट्रिय…

  • कुन प्रदेशको अस्थायी राजधानी कहाँ ? प्रदेशप्रमुख को ?

    काठमाडौं । सरकारले अन्ततः सातओटै प्रदेशका अस्थायी मुकाम र प्रदेशप्रमुखको टुंगो लगाएको छ । बुधबार अपराह्न बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशप्रमुख…

  • सचिव दाहिना भएपछि बजेट झिरिप्प

    काठमाडौं । संघीयता कार्यान्वयनको जिम्मा पाएको कर्मचारी प्रशासन आफैं त्यसको विरुद्धमा रहेको रहस्य खुलेको छ । संविधानले स्थानीय निकायलाई विकास…

  • एआईजी थपिए, डिआईजी थपिँदै

    काठमाडौं । प्रदेश प्रमुख र प्रदेश केन्द्र कहाँ हुने ? बहस चलिरहेका बेला सशस्त्र प्रहरीमा पाँच एआईजी थप हुने भएका…

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…