Page header hundai
  • अजयशंकर नायक, पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता


    ० एमाले र माओवादी केन्द्रबीच कहिलेसम्म एकीकरण हुन्छ त ?
    – पार्टी एकीकरणका लागि छलफल भइरहेको छ । अहिले अध्यक्षस्तरमा कुराकानी भइरहेको छ । एकीकरणको टँुगो अब उहाँहरूले लगाउने कुरा हो ।

    ० अहिले कुन चरणमा छलफल भइरहेको छ ?
    – कुन चरणमा भन्दा पनि अध्यक्षस्तरमा छलफल भइरहेको छ । पार्टी एकीकरणको विषय, जिम्मेवारी बाँडफाँट कार्यविधि, विधान बनाउने कुरालगायतका सबै विषयमा छलफल भइरहेको हामीले बुझेका छौ ।  

    ० पार्टी एकीकरणको घोषणा गर्न ढिलो हुनुको कारण के हो  ?
    – पार्टी एकीकरण सामान्य विषय होइन । केही समय लिन्छ । यो जटिल कुरा हो । संविधान बनाउँदा कति समय लागेको थियो, पार्टी एकीकरण पनि त्यस्तै जटिल काम हो । जटिल विषयलाई सहजै किसिमबाट मिलाउन सकिँदैन । धेरै कुरा मिलाउनुपर्ने हुन्छ । धेरै मनोविज्ञान मिलाउनुपर्ने हुन्छ ।

    ० सरकार गठनअघि नै दुई पार्टीबीच एकीकरण हुन्छ होइन ?
    – सरकार गठन अगाडि नै एकीकरण हुन पनि सक्छ, नहुन पनि सक्छ । सरकार गठन भइसकेपछि पनि एकीकरणको काम हुन सक्छ । यसैगरी, सरकार गठन सँगसँगै एकीकरण हुन पनि सक्छ ।

    ० माओवादी केन्द्रले सरकार गठनअघि नै एकीकरण हुनुपर्छ भनेको छ नि ?
    – सरकार गठनअघि दुई पार्टीबीच एकीकरण भए धेरै राम्रो हुने थियो भन्ने हाम्रो भनाइ हो । एउटै पार्टीबाट मन्त्री भएमा त्यसले जनतामा राम्रो सन्देश जान्छ । सरकार गठनपछि पार्टी एकीकरण हुँदा सरकारमा जाने मन्त्रीहरू दुई पार्टीको प्रतिनिधित्व भएर जान्छन् । तर सरकार गठनअघि एकीकरण हुँदा एउटै पार्टीबाट मन्त्री हुन्छन् । अहिले हामी वाम गठबन्धनमा छौं । तर पार्टी एकीकरण भए गठबन्धनबाट एउटै पार्टी हुन्छ । सरकारमा दुईवटा पार्टीको प्रतिनिधित्व हुुनुभन्दा  एउटै पार्टीको सरकार हुनु राम्रो हो भन्ने हाम्रो भनाइ हो ।

    ० त्यस्तो स्थिति छ र अब ?
    – हामीले सरकार गठनअघि दुई पार्टीबीच एकता भयो भने त्यो धेरै राम्रो हो भनेका हौं । जनतामा जाँदा हामी दुई पार्टीले एकीकरण गर्दैछौ भनेर वाम गठबन्धन बनाएका हौं । नेपाली जनताले यो गठबन्धन पार्टी एकताका लागि हो भनेर नै गठबन्धनलाई भोट दिए । एमाले र माओवादीबीच पार्टी एकीकरण गर्ने सहमति गरी हामीले वाम गठबन्धन निर्माण गरेका हौ । त्यसैले सरकार गठनअघि नै दुई पार्टीबीच एकीकरण भए त्यसले जनतामा अझै उत्साह ल्याउँथ्यो भन्ने हाम्रो भनाइ हो ।

    ० तर एमालेका केही नेताहरूले सरकार गठन र पार्टी एकीकरणबीच कुनै सम्बन्ध छैन, सरकार गठनपछि पार्टी एकीकरण हुन सक्छ भनिरहेका छन् नि ?
    – यही बेला नै एकीकरण हुनुपर्छ भनेर हामीले पनि भनेका होइनौं, तर एउटा आधार तयार गरेर सरकारमा जाने हो भने त्यसले जनतामा विश्वास दिलाउँछ भन्ने हाम्रो भनाइ हो ।

    ० तपाईहरूको अडान पार्टी अध्यक्षमा प्रचण्ड र प्रधानमन्त्रीमा केपी ओली हुनुपर्छ भन्ने छ, होइन ?
    – हाम्रो अडान भनेको जिम्मेवारीमा बाँडफाँट हुनुपर्छ भन्ने हो । दुई नेतालाई भूमिकाअनुसार जिम्मेवारी दिनुपर्छ भन्ने हाम्रो भनाइ हो । एउटै व्यक्तिलाई सबै जिम्मेवारी दिँदा बिग्रन्छ  । जिम्मेवारी बाँडफाँट गर्दा त्यसले एउटा सन्देश दिन्छ । राष्ट्रिय भूमिकामा नेतत्वको जिम्मेवारी बाँडफाँट हुनुपर्छ भन्ने हाम्रो भनाइ हो ।

    ० एउटै व्यक्ति प्रधानमन्त्री र पार्टी अध्यक्ष किन हुन सक्दैन ?
    – मैले भने नि, पार्टी एकीकरण गर्दा जिम्मेवारी बाँडफाँट हुनु पर्छ । एउटै व्यक्तिले सबै जिम्मेवार लिनु हँुदैन । र, त्यो मिल्दैन पनि । भूमिका र जिम्मेवारी बाँडफाँट हुनुपर्छ ।

    ० एमालेका केही नेताहरूले केपी ओली पार्टी अध्यक्ष र  प्रधानमन्त्री र प्रचण्ड पार्टीको सहअध्यक्ष हुने गरी दुई पार्टीबीच एकीकरणको प्रक्रिया अघि बढिरहेको छ भन्ने गरेका छन्, त्यो सम्भावना छ ?
    – दुई नेताबीचको कुराकानीमा कुन विषयमा छलफल भइरहेको छ, त्यो हामीलाई थाहा छैन । अध्यक्ष तहमा भएको कुराकानी अध्यक्ष तहमै सीमित छ, बाहिर आएको छैन । के हँुदैछ भन्ने कुरातिर हामी नजाआंै । जिम्मेवारी भूमिकाअनुसार र राष्ट्रिय राजनीतिमा नेताहरू जुन भुमिका हुनुहुन्छ, त्योअनुसारको जिम्मेवारी बाँडफाँट हुनुपर्छ भन्ने हाम्रो भनाइ हो ।

    ० तपाई पार्टी अध्यक्ष प्रचण्डसँग व्यक्तिगत रूपमा निकै नजिकको मानिनु हुन्छ, एउटा कुरा प्रस्ट भनिदिनुस् न, प्रचण्ड सहअध्यक्ष भएर दुई पार्टीबीच एकीकरण हुन सक्छ कि सक्दैन ?
    – प्रचण्ड सहअध्यक्ष भएर एकीकरण हुन सक्दैन । सहअध्यक्षको कुरा छँदै छैन । यो सम्भव पनि छैन । एमालेभित्रकै नेताहरूले प्रचण्ड पार्टी अध्यक्ष हुनुपर्छ भनिरहेका छन् । एमालेका नेताहरूको नै यस्तो अभिव्यक्ति आइसकेको छ । उहाँलाई सहअध्यक्ष बनाएर जाने कुरामा एमाले केही बोलेको छैन । यस्तो धारणा एमालेको आधिकारिक धारणा पनि होइन । त्यसैले उहाँलाई सहअध्यक्षको भूमिका दिनुपर्छ भन्ने कुरा कहिल्यै पनि उठेको होइन । मुख्य भूमिका दिनुपर्छ भन्ने कुरामै छलफल केन्द्रित भएको हो ।

    ० पार्टी एकतापछि अध्यक्षको जिम्मेवारी प्रचण्ड र प्रधानमन्त्रीको जिम्मेवारी केपी ओलीलाई दिनुपर्छ भन्ने तपाईको भनाइ हो ?
    – यो विषय हाम्रो चाहनामा मात्र भर पर्दैन । कुराकानी अध्यक्ष तहबाट भइरहेको छ । अध्यक्ष तहमा कस्तो कुराकानी भइरहेको छ, त्यो हामीलाई थाहा छैन । कसलाई अध्यक्ष दिने, कसलाई प्रधानमन्त्री दिने यसबारेमा दुई पार्टीका अध्यक्षले कुराकानी गरेर मिलाउनु हुन्छ ।

    ० तर दुईवटै नेतालाई महत्वपूर्ण भूमिका दिएर कसरी मिलाउन सकिन्छ त ?
    – दुईवटै नेताको राष्ट्रिय भूमिका हुनुपर्छ भन्ने मेरो भनाइ हो । अहिले पनि दुवैै नेता राष्ट्रिय भूमिकामा हुनुहुन्छ । केपी ओलीले एमालेको र प्रचण्डले माओवादीको नेतृत्व गर्नुभएको छ । दुई पार्टीबीच एकीकरण भएमा दुवैलाई  भूमिका दिनुपर्छ ।

    ० एमालेले जनताको बहुदलीय जनवादको नीति लिएको छ, पार्टी एकता भएमा जबजको सिद्धान्त मान्नु हुन्छ ?
    – एमालेले ल्याएको बहुदलीय जनवादको  विषय अर्कै  हो । हामीले एक्काइसौ शताब्दीको जनवादको विषय ल्याएका छांै । अहिले उहाँहरूले बहुदलीय जनवादको व्याख्या कसरी गर्नुभएको छ ? त्यो उहाँहरूको कुरा हो । हामीले एक्काइसौ शताब्दीको जनवादको व्याख्या अलग्गै ढंगबाट गरेका छौं । अहिलेको परिस्थितिमा ती दुईवटै कार्यदिशाको व्याख्या गर्दा कुन कुन बँुदाहरू ठिक हुन् या होइनन्, कुन कुन तर्कहरू ठिक हुन्, यसबारेमा छलफल गरी संश्लेषण गर्नु राम्रो हो ।  बहुदलीय जनवाद भनेर उहाँहरूले सिद्धान्त प्रतिवाद गर्नुभएको छ । हामीले एक्काइसौ शताब्दीको जनवाद भनेर सिद्धान्त प्रतिवाद गरेका छौ । अहिलेको परिवेश र वस्तु धरातलमा दुईवटै संश्लेषण ठिक हो भने दुईवटैलाई समायोजन गरेर एउटै बनाइदिए भइहाल्यो ।

    ० पार्टी एकीकरण सँगसँगै एकीकृत पार्टीको नाम र सिद्धान्त दुईवटै परिवर्तन हुनुप¥यो भन्ने तपाईको भनाइ हो ?
    – हामीले जुन कार्यदिशा लिएका छौं, त्यसअनुसार हामी अघि बढ्ने कुरा हो । उहाँहरूले बहुदलीय जनवादलाई कसरी सिद्धान्तको रूपमा अगाडि सार्नुभएको छ, हामीले एक्काइसौ शताब्दीको जनवादको विकास भनेका छौं, यसलाई कसरी बुझ्ने र कसरी संश्लेषण गर्ने भन्ने कुरा हो । आधारभूत सिद्धान्त जहिले पनि ठिक रहन्छ, तर समय परिवेशअनुसार केही चिजहरूमा परिमार्जन गर्नुपर्छ । र, केही चिजमा संश्लेषण पनि गर्नुपर्छ । अहिलेको समयको मागअनुसार कुन विषयमा संश्लेषण गर्नुपर्छ, त्यो नेताहरूले सोच्ने कुरा हो ।

    ० केही दिनयता वाम गठबन्धनमा उल्झन आयो, पद बाँडफाँटमा कुरा मिलेन भन्ने जस्ता समाचार आउने गरेका छन्, एकता प्रक्रिया रोकिएकै हो ?
    – केही न केही कुरा बाहिर आइहाल्छ नि । सिद्धान्त, विचार र सांगठानिक समस्यामा मेल नखाएको अवस्था अहिले देखिएको छ । यसकारणले पनि एकीकरणमा समय लागेको हो । सिद्धान्त र विचारलाई कसरी संश्लेषण गर्ने, आ–आफ्नो सिद्धान्तलाई कसरी छाड्ने, छाड्नै नहुने विषयलाई कसरी अगाडि बढाउने, सांगठनिक विषयलाई कसरी मिलाउने यी बारेमा कुरा नमिलेर त यति समय लागेको हो । यस हिसाबले खटपट भयो भन्नुभन्दा पनि विषयवस्तु नमिलेको अवस्था हो यो । अझै पनि विषयवस्तु मिलाउनुपर्ने बाँकी नै छ ।

    ० दुई पार्टीबीच एकीकरण त हुन्छ, होइन ?
    – दुइ पार्टीका अध्यक्षले एमाले र माओवादीबीच एकीकरण हुन्छ नै भन्नु भएको छ । उहाँहरूले नै एकीकरण हुन्छ भनेपछि हामीले कसरी एकीकरण हुँदैन भन्नू ?

    ० एमाले र माओवादबीच पावर सेयरिङ गर्दा राष्ट्रपति पद पर्छ कि पर्दैन, एमालेका नेताहरूले राष्ट्रपति एमालेले लिनुपर्छ भनिरहेका छन् नि  ?
    – पावर सेयरिङमा राष्ट्रपति पद मात्र होइन, धेरै विषय आउँछन् । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, प्रधानमन्त्रीलगायतका विषय यसमा आउँछन् । मैले पहिले पनि भने, यसबारेमा अध्यक्ष तहबाट कुराकानी भइरहेको छ । हामीले अहिले धेरै बोल्न आवश्यक पनि छैन ।

    ० तपाईको विचारमा राष्ट्रपति एमालेको भागमा पर्छ कि माओवादीको ?
    – राष्ट्रपति र उपराष्ट्रपति कसले लिने भन्ने बारेमा टँुगो लागेको छैन । मैले कसरी बोल्ने ? यसबारेमा अध्यक्षज्यूले नै टुँगो लगाउनु हुन्छ । पावर सेयरिङमा यी कुराहरू पनि पर्छन् । राष्ट्रपति पद पावर हो । यसबारेमा निर्णय गर्न कुराकानी हुन्छ ।

    ० एमाले र माओवादीबीच एकीकरणमा बाधा अवरोध ल्याउन चलखेल सुरु भयो भनेर केही नेताहरूले भन्ने गरेका छन्, त्यस्तै हो र ?
    – पार्टी एकता जटिल विषय हो । यसमा धेरै विषयमा बहस भएर यस्तो भएको हो । बोलेको भरमा पार्टी एकता हुँदैन । यसमा धेरै चिज मिलाउनुपर्छ । सांगठनिक कुरा, सिद्धान्त, विचार सबै कुरा मिलाउनुपर्छ । त्यसका लागि छलफल चलिरहेको छ ।

    ० पार्टी एकता प्रक्रियामा भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणले पनि केही अवरोध ल्यायो भनेर पनि चर्चा हुने गरेको छ, त्यस्तो लाग्दैन ?
    – मलाई त त्यस्तो लाग्दैन । उहाँको भेटघाट हो । भेटघाटमा के के कुुरा भयो ? त्यो हामीलाई थाहा हुने कुरा होइन । तर व्यवहारमा केही समस्या आयो भने त्यसबेला भन्ने कुरा हो । अहिले व्यवहारमा केही समस्या आएको छैन । व्यवहारमा समस्या नआईकन भेटघाटले बिगा¥यो भन्न मिल्दैन ।

    ० एमाले अध्यक्ष केपी ओलीले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग पटक पटक भेटघाट गर्नुभएको छ । एमाले र फोरम नेपाल मिलेर सरकार बनाउने सम्भावना देख्नु भएको छ कि छैन ?
    – त्यस्तो गर्नु हुन्छ भने त्यो राष्ट्रका लागि दुर्भाग्य हुन्छ । त्यस्तो कसैले सोच्छ भन्ने मलाई लाग्दैन । हामीले वाम गठबन्धनको नाममा जनादेश लिएका हांै । दुई पार्टीबीच एकता हुँदैछ भनेर हामी चुनावमा गएका हौं । चुनाव जित्यौं पनि । दुई पार्टीबीच एकीकरण हुँदैछ भनेर जनताले हामीलाई भोट दिएका हुन् । एकीकरणको कुरा नभएको भए एमालेको पनि भोट घट्ने थियो, माओवादीको पनि भोट घट्ने थियो होला । दुई पार्टीबीच मिल्दैछन् भनेर नै जनताले थपेर भोट दिएका हुन् ।

    ० माओवादीलाई बाहिर राखेर सरकार बन्न सक्दैन भन्न खोज्नु भएको हो ?
    – त्यसलाई हामीले दुर्भाग्य नै मान्नुपर्छ । किनभने जुन उद्देश्यले हामीले भोट माग्यौ, त्यसअनुसार नगए पनि त्यो दुर्भाग्य नै हो ।

    ० नयाँ सरकार कहिले बन्छ ?
    – फागुनको पहिलो र दोस्रो हप्तातिर नयाँ सरकार बन्छ होला । एक हप्ता त सहमतीयमा समय जाला । प्रतिनिधिसभाको समानुपातिकको परिणाम आएको एक हप्तामा राष्ट्रपतिले आह्वान गर्छन् होला । त्यो एक हप्ता सहमतिका लागि समय लाग्ला । त्यसपछि अर्को हप्तामा नयाँ सरकार बन्ला । त्यसैले फागुनको दोस्रो हप्तातिर नयाँ सरकार बन्छ जस्तो लाग्छ ।

    ० चुनाव सकिएको यति दिन भइसक्यो, तैपनि नयाँ सरकार बन्न सकेको छैन । नयाँ सरकार बन्न ढिलो हुनुको कारण संवैधानिक त्रुटि हो ?
    – संवैधानिक त्रुटि भनेर के भन्ने ? हामीसँग नैतिक धरातलको अभाव छ । नेताहरूले अब हाम्रो जिम्मेवारी होइन, अरुको जिम्मेवारी हो भनेर सोचेनन् । त्यसरी सोचेको भए नयाँ सरकार बन्न यति ढिलो हुँदैनथ्यो । संविधानको धारा, उपधाराको व्याख्या गरेर नेताहरूले छाड्न मान्दैनन् । यो  नैतिकता धरातलको कमीले हो ।

    ० माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुन सक्ने सम्भावना छ कि छैन ?
    – समझदारीमा जे पनि हुन सक्छ । यो विषयमा दुई अध्यक्षबीचको कुराकानी कसरी अगाडि बढ्छ ? भूमिका कसरी दिनेलगायतका विषयमा दुई अध्यक्षले टँुग्याउने कुरा हो ।

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…