Page header hundai
  • डा. सुरेश आचार्य


    भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आएर फर्किइन् । उनी फर्किए पनि उनको आगमनबारेका प्रश्नले नेपाली राजनीतिलाई तताइरहेकै छ । उनको आगमन मन्त्री स्वराजका रूपमा भएन, भारतीय जनता पार्टीकी नेतृका रूपमा मात्र भयो । यद्यपि सरकारले देखाउनुपर्ने शिष्टाचारमा कुनै कमी हुन दिएन । अर्थराज्यमन्त्री उदयशमशेर राणा उनको स्वागतमा विमानस्थल पुगे । प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई दिवा भोज नै दिए । राष्ट्रपतिले पनि विना संकोच भेट दिइन् । छिमेकी देशकी सत्तारुढ दलकी नेतृ मात्र नभएर मन्त्रीसमेत रहेकी स्वराजलाई मित्रवत् व्यवहार सबैले देखाए ।
    उनी यसपटक भाजपा नेतृका रूपमा आइन् किनभने यो कुनै राज्यस्तरको निम्तो थिएन । उनी आउनुपर्ने कारण र कार्यक्रमबारे सरकारलाई अग्रिम जानकारी पनि गराइएन । उनी नेपाल भित्रँदासम्म थाहा नभएको निम्तोको जिम्मेवारी नेकपा एमालेका अध्यक्ष खड्ग ओलीले लिए । ‘उहाँ हाम्रो पार्टीको निम्तोमा आउनु भएको हो,’ बोलाइएका अतिथिलाई भेट्न सोल्टी होटल पुगेपछि ओलीले यो रहस्य खोले । अतिथि स्वराज न त ओलीको निवास बालकोट गइन्, न त एमाले पार्टी कार्यालय धुम्बाराही नै । ओलीले अतिथिलाई सोल्टी पुगेरै स्वागत गरे । दुईजना बीचको गोप्य वार्ता पनि त्यहीँ भयो । एमालेका नेताहरूको सामूहिक भेट पनि त्यहीं भयो । महाराज ज्ञानेन्द्रको होटल सोल्टीको सत्कार सकेर स्वराज फर्किइन् ।
    छिमेकीहरू कतिबेला आउँछन् र फर्कन्छन् ? पत्तो हुँदैन । कुनैबेला गाउँघरमा आगो लिन पनि छिमेकीकहाँ जानुपथ्र्यो । मोही माग्न जाने पनि छिमेकीकैमा हो । मर्दापर्दा पनि जम्मा हुने छिमेकीकैमा हो । छिमेकीलाई सधैं असल मान्नुपर्ने हुन्छ । भनिन्छ, मित्र फेर्न सकिन्छ, तर छिमेकी फेर्न सकिँदैन । त्यसैले मानिसहरूले छिमेकीलाई विशेषण जोडेर ‘असल छिमेकी’ भन्ने गर्छन् । गुरुप्रसाद मैनालीको कथा ‘छिमेकी’ मा गुमाने र धनजीतेको सम्बन्ध गोरुले धानको बीउ खाएदेखि अत्यन्तै बिग्रेको थियो । करेसो जोडिए पनि उनीहरूबीच आउजाउ त परै जाओस्, बोलचालसमेत थिएन । धनजीते ज्वरोले जब थलियो, उसका टाट्नाका बाख्रासमेत फुकाइदिने कोही भएनन्, त्यसपछि गुमानेको मन थामिएन । नबोलाईकन आफैं गयो ।
    स्वराज र ओली दिदीभाइ रहेछन् । एकताका ओली भारत पुगेका बेला रक्षाबन्धनको दिन परेको थियो । स्वराज र ओलीले त्यसबेला दाजुबहिनी कि दिदीभाइ भन्ने खुट्याएका थिए । यो बेला गुरुप्रसादको कथाका गुमाने र धनजीते को परे ? नेपाली नागरिकलाई छुट्याउन कठिन भएको छ । बिरामी स्वराज भएकी हुन् कि ओली ? एकपटक ओलीको धान स्वराजले खाएको नेपालीले थाहा पाएका थिए । भाइ ओली छिमेकी दिदी स्वराजसँग रिसाएनन् मात्र, तिमी नभए अर्को पनि छिमेकी छ भनेर बोलचालै बन्द गरेर बसे । अहिले बोलचाल मात्र खुलेको छैन, छिमेकी दिदीलाई आउन मन लाग्यो भन्ने मनको कुरा पनि थाहा पाउने भएका छन् ओली । त्यसैले उनले घरभित्र छिरेको छिमेकीलाई निम्तो नदिई कसरी आयो भन्ने प्रश्न किन उठाइराख्नु भनेर आफैंले निम्तो दिएको बताए ।
    ओलीको एकाघरमा सौतेनी भाइ बनेका नारायणकाजीलाई यतिबेला दाजुले दिदी बोलाएको मन परेन । मन नपराउनेमा भारतले आफन्त ठानेका अरु पनि छन् । स्वराज आउनु मौसम अनुकूल थिएन भन्नेहरू पनि ननिस्किएका होइनन् । तर भाइलाई संकट परेर दिदी आएकी ठानेर नारायणकाजीलाई चित्त नबुझेको हो कि आफ्नो संकट भाइले टार्न सक्छन् भनेर दिदी आइपुगेकी हुन् ? यो खुट्याउन एमालेकै कतिपय नेतालाई गाह्रो परेको छ । भर्खरै सौतेनी साइनो गाँसेका नारायणकाजीले कसरी पत्तो पाउन् ? कालापानीमा खुकुरी बोकेर राष्ट्र रक्षार्थ खटेका ओली कार्यकर्ता राजधानी नजिकको वीरगञ्जमा ५० बिघा जमिन अतिक्रमणको खबर सुन्न तयार भएनन् । दिदी आउँदैछिन् भन्ने भाइ ओलीले थाहा पाएकै कारण यो समाचार नसुन्नु भन्ने उर्दी बालकोटबाट सायद पहिले नै भएको हुँदो हो ।
    छिमेकी भनेकै मर्दाको मलामी र पर्दाको जन्ती भनिन्छ । भाइको खुसियालीमा दिदीको आगमनलाई किन अन्यथा ठान्ने ? आखिर खुसियाली साट्न बोलाएका पनि भाइले नै रहेछन् । अन्तर्राष्ट्रिय सर्वहारावादमा विश्वास गर्ने कम्युनिस्ट पार्टीले छिमेकीसँग कुनै सीमा तोकेर जाबो राष्ट्रवादको कुरा गर्न सुहाउँछ ? नेपालीहरू भ्रममा बाँच्न चाहन्छन् त बिचरा ओलीको के दोष ? छिमेकीले सद्भाव देखाउन इच्छा राख्छन् त ओलीले त्यति पनि मर्यादा नराखी दिनु ? नारायणकाजीले अब त बुझे होलान् ।

     

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…