Page header hundai
  • विजय यादव, कोषाध्यक्ष, संघीय समाजवादी फोरम


    ० प्रदेश नम्बर २ मा नयाँ सरकार कहिले बन्छ ?
    – मुख्यमन्त्री चयनका लागि पहिले प्रदेश प्रमुखले सूचना निकाल्नु हुुन्छ । त्यसपछि सरकार बन्ने प्रक्रिया सुरु हुन्छ । त्यसैले यो काम प्रदेश प्रमुखको हो ।

    ० माघ मसान्तभित्र प्रदेश सरकार बन्छ ?
    – बन्नु पर्छ । माघ २१ गते प्रदेश नम्बर २ मा प्रदेश सभाको  पहिलो बैठक छ । सपथग्रहणमै सो सूचना दिइएको थियो ।

    ० मुख्यमन्त्री बन्न पनि प्रदेश प्रमुखले सूचना निकाल्नुपर्छ, के छ प्रक्रिया ?
    – प्रदेश प्रमुखले सूचना निकालेपछि प्रक्रियाअनुसार दलहरूले आफ्नो दाबी प्रदेश प्रमुखसँग पेस गर्छन् । सोअनुसार संघीय समाजवादी फोरम सबैभन्दा ठूलो दल भएको हैसियतले प्रदेश नम्बर २ मा सरकारको नेतृत्वका लागि दाबी गर्नेछ ।

    ० सरकार बनाउन संघीय फोरमको एक्लै बहुमत पुग्छ ?
    – प्रदेश नम्बर २ मा सरकार बनाउन कुनै दलको एक्लै बहुमत पुग्दैन । तर हाम्रो दल सबैभन्दा ठूलो बनेको छ । त्यसैले हामीले सरकार बनाउन प्रदेश प्रमुखसँग दाबी गर्छौं । सरकार गठनका लागि हामीले अरु दलसँग छलफल गर्ने तयारी गरेका छौं ।

    ० राजपासँग सहकार्य नगरीकनै सरकार बनाउन लाग्नु भएको हो ?
    – सरकार बनाउन सबैभन्दा ठूलो दल भएको हैसियतले फोरमले दाबी गर्छ । हामी एक्लै सरकार बनाउन दाबी गर्छौं, तर सरकार बनाइसकेपछि राजपालगायतका दलहरूसँग सहयोग र समर्थन माग्छौं ।  

    ० राजपासँग मिलेर सरकार बनाउने दाबी गर्नु हुन्न ?
    – राजपासँग चुनावमा सहकार्य गरेर गएका थियांै । चुनावमा सहकार्य सबैसँग हुन्छ । चुनावमा सहकार्य गरेको नाताले सरकार बनाउन राजपाले संघीय समाजवादी फोरमलाई सहयोग गर्नुपर्ने हो । किनभने चुनावमा एकताबद्ध भएरै गएका थियौं । त्यो चुनावी एकता मात्र थियो, मोर्चा थिएन । मैले भनिसके, सरकार बनायौं भने हामी सबैलाई समेटेर जाने प्रयास गर्नेछांै ।

    ० प्रदेश नम्बर २ मा सरकार बनाउन दाबी गर्ने अधिकार राजपालाई छ कि छैन ?
    – संसदीय व्यवस्थामा सरकार बनाउने दाबी ठूलो दलले गर्नुपर्छ, त्यसैले राजपालाई सरकार बनाउन दाबी गर्ने अधिकार छैन । राजपा ठूलो दल बनेको छैन । त्यो अधिकार हामीलाई छ ।

    ० तर, प्रदेश नम्बर २ मा फोरम र राजपा मिलेर सरकार बनाउने चर्चा छ नि ?
    – मैले पहिले पनि भनें, सबैभन्दा ठूलो दल भएको हैसियतले प्रदेश नम्बर २ मा सरकार बनाउने दाबी फोरमले गर्छ ।  सरकार बनाइसकेपछि हामी सबै दलसँग सहकार्य र सहमति गरेर जाने पक्षमा छौं । त्यसका लागि कुनै दललाई छाड्ने छैनौ । सरकारको नेतृत्व गरिसकेपछि सरकारमा आउन हामी सबै दललाई आह्वान गर्छौं । जसले समर्थन गर्छन्, हामी ती दललाई नीतिगत रूपमै सरकारमा लैजान्छौं ।

    ० फोरमले प्रदेश नम्बर २ मा एमालेसँग मिलेर सरकार बनाउन लागेको हो ?
    – एमालेले हामीलाई समर्थन ग-यो भने उसलाई किन छाड्ने ? माओवादीले सहयोग ग¥यो भने माओवादीलाई पनि किन छाड्ने ? ज–जसले समर्थन गर्छन्, ती दल सरकारमा सहभागी हुन्छन् । कांग्रेसले समर्थन ग¥यो भने हामी कांग्रेससँग मिलेर सरकार बनाउँछौं ।

    ० फोरमको एमालेसँग पनि सहकार्य हुने सम्भावना रह्यो होइन ?
    – संसदीय व्यवस्थामा खासगरी एउटा प्रक्रिया हुन्छ । चुनावपछि सबैसँग सँगै मिलेर जानुपर्ने हुन्छ । त्यो प्रक्रियामा  हामी जान खोजेका हौं । सबै दलले हामीलाई सहयोग गरुन् भन्ने हाम्रो सोच हुनेछ । त्यही सोचका साथ हामी अघि बढ्छौं ।

    ० प्रदेश नम्बर २ मा राजपा र संघीय समाजवादी फोरम मिल्दा पनि बहुमत त पुग्दैन नि ?
    – त्यसैले त हामीले सबै दलसँग सहयोग र समर्थन लिन्छौं भनेका हौ । हामीले प्रदेशमा स्थायित्व दिनु छ । सरकार चलाउनु छ । नेपालमा पञ्चायतकालदेखि गणतन्त्रसम्म पाँच वर्ष कसैको पनि सरकार टिकेको छैन । बहुमतको सरकार ढालेर चुनाव भएको इतिहास हामीसँग छ । पञ्चायतकालमा राजाले नियुक्त गरेपछि प्रधानमन्त्री बन्ने व्यवस्था थियो, तर राजाले समेत एउटा व्यक्तिलाई पाँच वर्षसम्म विश्वास गर्न सकेनन् ।  यो परम्परालाई तोडेर पाँच वर्षसम्म प्रदेश नम्बर २ मा स्थिर सरकार चलाउने हाम्रो पार्टीको सोच छ ।

    ० प्रदेश नम्बर २ मा भावी मुख्यमन्त्री को होला ?
    – प्रदेश नम्बर २ मा फोरमका नेता मुख्यमन्त्री हुने निश्चित छ । फोरमको दाबी छ । जनताले त्यही आधारमा हाम्रो पार्टीलाई
    विश्वास गरेका छन् ।

    ० तपाई पनि मुख्यमन्त्रीको प्रबल दाबेदार हो ?
    – यो कुरा हाम्रो पार्टीको विधायक दलले निर्णय गर्ने कुरा हो । यो सर्वसम्मतिबाट हुन्छ । जसलाई विधायक दलले निर्णय गर्छ, त्यही मुख्यमन्त्री हुन्छ । यो फोरमको परम्परा नै छ । यसबारेमा पार्टीमा विवाद हुने स्थिति छैन । मुख्यमन्त्रीमा मेरो पनि दाबी रहन्छ । म उपयुक्त छु भन्ने मलाई लागेको छ । तर निर्णय गर्ने विधायकाहरूले हो ।

    ० यसमा ढुक्क हुने स्थिति छ कि छैन ?
    – नेपालको राजनीति हेर्दा कुनै पनि कुरामा ढुक्क हुने स्थिति छैन । सबै कुरामा अहिले नै विश्वास गर्ने अवस्था छैन । केन्द्रमा वाम गठबन्धनको बहुमत छ । तर यो वाम गठबन्धनको सरकार कति दिनसम्म टिक्छ ? अहिले नै भन्न सकिने स्थिति छैन । गिरिजाप्रसाद कोइरालाले बहुमतको सरकार ढालेर मध्यावधि निर्वाचन गराएका थिए । यो इतिहास पनि हामीसँग छ ।
    वाम गठबन्धनलाई हाम्रो शुभकामना छ, जनताको म्यान्डेटअनुसार वाम गठबन्धनले पाँच वर्षसम्म सरकार चलाओस् । अब बन्ने सरकार स्थिर होस् भन्ने फोरमको धारणा छ । बीचमै चुनाव गराएर सरकार बनाउँदा देश अस्थिर हुन्छ । प्रदेश नम्बर २ मा फोरम सबैभन्दा ठूलो दल बनेको छ । फोरमको नेतृत्वमा स्थिर सरकार बनोस् भन्ने हाम्रो दाबी हो । लोकतन्त्रमा जसको बहुमत छ, त्यसले सरकार चलाउँछ ।

    ० मुख्यमन्त्रीका लागि लालबाबु राउत र शैलेन्द्र साहको पनि नाम चर्चामा छ नि ?
    – उहाँहरू पनि मुख्यमन्त्रीका लागि योग्य हुनुहुन्छ । अरु थु्रप्रै नेता योग्य हुनुहुन्छ । यसको निर्णय विधायक दलले गर्छ । पार्टीले जे निर्णय गर्छ, त्यही मुख्यमन्त्री हुन्छ ।

    ० केन्द्रमा बन्ने एमाले र माओवादीको सरकारलाई संघीय समाजवादी फोरमले सहयोग र समर्थन गर्छ कि गर्दैन ?
    – अहिले नै सरकारको नेतृत्व कसले गर्छ भन्ने थाहा छैन । केपी ओली प्रधानमन्त्री हुनुहुनेछ कि प्रचण्ड ? अहिले नै प्रस्ट भएको छैन । त्यो उहाँहरूबीचको सहमतिको विषय हो । उहाँहरूले आवश्यकता ठान्नु भयो भने हाम्रो सहयोग र समर्थन लिन सक्नु हुन्छ । आवश्यकता छैन भन्ने ठान्नु  भयो भने लिन सक्नु हुन्न । नौ महिनामा सरकार ढाल्ने, पहिले नै सम्झौता गरेर प्रधानमन्त्री बन्ने, ६ महिनामै सरकार परिवर्तन हुने जुन परम्परा छ, त्यो परम्परा अन्त्य हुनुपर्छ भन्ने हाम्रो भनाइ हो । सात महिना तिमी चलाऊ, आठ महिना म चलाउँछु भनेर बाँडफाँट गरी प्रधानमन्त्री हुने परम्परा अब अन्त्य हुनुपर्छ । नेपाली जनताले पनि एउटा म्यान्डेट दिएका छन् । हामी जनताको म्यान्डेटलाई स्विकार गर्छौं । त्यसैले प्रधानमन्त्री हुनेले आवश्यकता ठान्यो भने सबै दलसँग सहयोगका लागि आह्वान गर्न सक्छन् ।

    ० एमाले र माओवादीको गठबन्धन सरकारमा फोरम नेपाल जान्छ कि जाँदैन ?
    – संघीय समाजवादी फोरम एजेन्डामा आधारित पार्टी हो । हामीले एजेन्डामा समर्थन र विरोध गरेका छौं । एमाले र हामी एउटै देशमा बसेका छौं । जनप्रतिनिधि पनि एउटै देशका हौं ।  । हाम्रो एजेन्डालाई एमाले र माओवादीले समर्थन ग¥यो भने हामी सरकारमा जान्छौं । तर हामीलाई लैजाने या नलग्ने सोच नेतृत्व गर्नेको हुनुप¥यो । हामीलाई लैजाने हो भने हाम्रा मुद्दालाई सम्बोधन गर्नुपर्छ ।

    ० फोरमका नेताहरूले संविधान संशोधनको सुनिश्चिता भए मात्र सरकारमा जान्छौं भनिरहेका छन् नि ?
    – हामीले उठाएको एजेन्डालाई एमाले र माओवादीले समर्थन गरे भने हाम्रो दुश्मन कोही पनि छैन । हामीले सुरुदेखि नै संविधानको पुनर्लेखन गर्नुपर्छ भन्यौं । हाम्रो अध्यक्षज्यूले यो संविधानको पुनर्लेखन गर्नुपर्छ भन्नुभयो । त्यतिखेर नेपाली कांग्रेस, एमाले र माओवादीले भने कि, यो संविधान संसारको उत्कृष्ट संविधान हो । तर अहिले नै यो संविधानमा समस्या आइरहेको छ । उहाँहरूले आफैंं लेखेको संविधानमा समस्या आएको छ । हाम्रो संवैधानिक एजेन्डा छ । त्यो एजेन्डामा उनीहरू आए भने यो देशको कायापलट हुन्छ । नेपाली जनता विकासतिर उन्मुख हुन्छन् भन्ने हाम्रो विश्वास छ । त्यो काम गर्नुपर्छ पनि । हाम्रो लागि कांग्रेस, एमाले र माओवादी तीनवटै पार्टी बराबर हुन् ।

    ० फोरम अध्यक्ष उपेन्द्र यादव र एमाले अध्यक्ष केपी ओलीबीच पटक पटक कुराकानी नयाँ सरकार गठन गर्ने विषयलाई लिएर भइरहेको हो ?
    – यो राजनीतिक संस्कार हो । लोकतन्त्रमा खासगरी संसदीय व्यवस्थामा जहाँ पनि जोसँग पनि कुराकानी गर्न सकिन्छ । एमालेसँगको कुराकानीमा हाम्रो पार्टी अध्यक्षले आफ्नो एजेन्डा छाड्नुभएको छैन । पार्टीको एजेन्डालाई राखेर उहाँले कुराकानी गर्नुभएको छ । सबैभन्दा ठूलो दलको पार्टीको अध्यक्षको हैसियतले एमालेसँग कुराकानी गर्नुलाई म नकारात्मक मान्दिनँ । तर, केन्द्रमा नयाँ सरकार गठनका लागि भइरहेको हो कि प्रदेशमा भन्ने थाहा हुन सकेको छैन ।

    ० प्रदेश नम्बर २ मा एमाले, माओवादी र संघीय फोरमबीच तालमेल हुने स्थिति कत्तिको छ ?
    – हामी सहयोग र समर्थनका लागि आह्वान गर्छांै । ज–जसले हामीलाई समर्थन गर्छन्, हामीले उनीहरूलाई लिएर जान्छौं । फोरम र राजपा मिले पनि बहुमतको सरकार हुँदैन । त्यसमा एक मत कम हुन्छ । त्यसैले हामीले सबै दललाई आह्वान गर्ने तयारी गरेका छौं ।

    ० राजपा र कांग्रेस मिलेमा बहुमत पुग्छ नि ?
    – त्यो पछिको कुरा हो । हामी व्यावहारिकतामा जान्छौं । परिस्थितिअनुसार र जनताको सोचअनुसार हामी काम गर्छौं ।

    ० प्रसंग बदलौं, सरकारको पछिल्लो निर्णयलाई एमाले र माओवादीले विरोध गरेका छन्, खासगरी ६५ वर्ष पुगेकोलाई वृद्धभत्ता दिने विषय । यसमा तपाईको धारणा के छ ?
    – हाम्रो संविधानमा ६० वर्षलाई वृद्ध मानिएको छ । नेपाली कांग्रेस, एमाले र माओवादी मिलेर यो संविधान बनाए । तर अहिले उनीहरूको मोर्चा कुकुर बिरालोको जस्तो बनेको छ । राष्ट्र बनाउने सोच उनीहरूको छैन । खाली जनतालाई देखाउने र ठग्ने काम गरेका छन् । सुरुदेखि अहिलेसम्म उनीहरूले त्यही काम गरेका छन् ।

    ० वृद्धभत्ता दिने समय ६५ वर्ष पु¥याउनु स्वाभाविक हो त ?
    – नेपाली नागरिकको औसत आयु ६० वर्षको छ । औसत आयु ६० वर्षको छ भने ७०÷७५ वर्ष पुगेपछि मात्र भत्ता दिनु भनेको नेपाली जनतालाई ठग्नु हो । नेपाली नागरिकको औसत आयुअनुसार बृद्धभत्ता दिनुपर्छ ।

    ० सरकारले सही निर्णय ग-यो भन्न खोज्नुभएको हो ?
    – वर्तमान शेरबहादुर देउवा सरकारले एकदमै सही निर्णय गरेको हो । अब कसरी यो निर्णय खारेज गर्छ हेरौं ।

    ० एमाले र माओवादीको विरोध किन ?
    – त्यो उनीहरूको सोच हो । उनीहरूले जनतालाई ढाँट्ने र झूटो बोल्ने काम गरिरहेका छन । उनीहरू सही बोल्दैनन् । एमाले र माओवादीको चुनावी घोषणापत्र पढ्नुहोस् न । उनीहरूले घोषणापत्रमा संविधानमा जति पनि समस्या छन्, ती सबै समस्यालाई समाधान  गर्न सच्च्याउँछौ भनेका छन । तर उनीहरूले आज सबै बिर्से र जनतालाई ठग्ने काम गरेका छन् । त्यो उनीहरूको सोच हो । जनतालाई ठग्ने सोच हो ।

    ० चुनाव भएको दुई महिना भइसक्यो, केन्द्रमा नयाँ सरकार बन्न सकेको छैन । किन ढिलो भएको ?
    – यही संविधानको कारणले हो । तीन दलले यस्तो संविधान बनाए । संविधान सही ढंगबाट बनाएको भए यो स्थिति आउने थिएन । त्रुटिपूर्ण संविधान बनाएपछि हुने नै यस्तै हो ।

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…