Page header hundai
  • सविता प्रसाई सापकोटा


    इतिहास विगतमा घटेका घटनाहरूको एउटा व्यवस्थित दस्तावेज हो । इतिहास त्यत्तिकै अनुमानका भरमा तयार हुँदैन । विभिन्न किसिमका स्रोतहरूको संकलन, विश्लेषण र विवेचनापछि विज्ञहरूको सामूहिक स्वीकारबाट मात्र यसको लेखन अगाडि बढ्छ । नेपालमा इतिहास लेखनको व्यवस्थित थालनी भएको धेरै समय भएको छैन । प्रारम्भमा विदेशीहरूले आफ्नो स्वार्थ अनुकूल लेखेका विवरणहरूले मात्र पनि केही हदसम्म भए पनि नेपालीहरूको लेखनकार्यलाई घच्घच्याएको हुनुपर्छ । त्यसपछि निकै समयपछि मात्र वैज्ञानिक लेखाजोखा गरेर पुरातात्विक उत्खनन् र अनुसन्धान अगाडि बढेको मानिन्छ । प्राप्त विभिन्न स्रोतको आधारमा इतिहासका स्रोतलाई पुरातात्विक स्रोत, साहित्यिक स्रोत र विदेशीहरूको वृत्तान्तमा विभाजित गरेर इतिहास लेख्ने प्रचलन छ । पुरातात्विक स्रोतमा अभिलेख, मुद्रा कला तथा वास्तुकलाका नमुनाहरू, भग्नावशेष आदि नै मुख्य मानिन्छ । त्यस्तै, साहित्यिक स्रोतमा वंशावली, पुराण, सन्धि सम्झौता, ऐतिहासिक दस्तावेजहरू आदि र विदेशीहरूको वृत्तान्तमा विभिन्न समयमा भ्रमणमा आएका विभिन्न विदेशी यात्रीहरूले यात्राका क्रममा देखेका भोगेका कुरालाई आफ्ना डायरी तथा लेख आदिलाई इतिहासका स्रोतका रूपमा लिइन्छ । अघिल्लो अंकमा पुरातात्विक स्रोतको रूपमा अभिलेखलाई मुख्य विषयवस्तुको रूपमा व्याख्या गरिएको थियो । यस अंकमा पुरातात्विक स्रोतको अर्को विषय मुद्रा र अन्य विषयहरूलाई कोट्याउने कोसिस गरिएको छ । 
    इतिहासको स्रोतको रूपमा मुद्रालाई महत्वपूर्ण रूपमा हेरिन्छ । नेपालमा लिच्छविकालीन समयदेखिका मुद्रा पाइएका छन् । हुन त यहाँ विभिन्न समयमा व्यापारको सिलसिलामा आएका भारतीय व्यापारीहरूले प्रयोग गरेका पञ्चमार्क मुद्रा पनि भेटिएको छ । तर नेपाली शासकहरूले औपचारिक रूपमा निष्कासन गरेका मुद्राको प्रयोग भने पाँचौँ शताब्दीदेखि मात्र भएको पाइन्छ । इतिहासकारका अनुसार नेपालमा अभिलेखको तुलनामा मुद्रा निकै कम मात्रामा पाइएको छ । यसको कारण मुद्रा सानो हुने कारणले पनि छिट्टै जमिनमुनि दबिने र हराउने कारणले नभेटिएको पनि हुनसक्छ । मुद्रा हेर्दा सानो देखिए पनि यसमा कुँदिएका विभिन्न विषयवस्तुले तत्कालीन समयको धेरै कुरा पत्ता लगाउन सकिन्छ । मुद्रा त्यसै पनि एक स्वतन्त्र शासकले मात्र निष्कासन गर्ने हुनाले तत्कालीन शासकको स्थिति तथा सार्वभौमता, देवी देउताको उल्लेख हुनाले धार्मिक विवरण, सामाजिक विवरण, तिथिमिति उल्लेख हुने हँदा तत्कालीन शासकको कालक्रमको निर्धारण र मुद्रामा प्रयोग भएको धातुले आर्थिक स्थिति पनि थाहा पाउन सकिन्छ ।
    नेपालको प्राचीन इतिहासमा लिच्छविकाल हरेक दृष्टिकोणबाट महत्वपूर्ण मानिन्छ । यो समयमा धेरै राजाहरूले राज्य गरे, तर निकै कम राजाको मात्र अभिलेख र मुद्रा प्राप्त भएका छन् । लिच्छविकालका प्रथम प्रमाणिक राजा मानदेव हुन् । उनको तिथिमितिसहितका अभिलेख  र ‘मानांक’ नामक मुद्रा पाइएको छ । यो मुद्रा हालसम्मकै मौद्रिक इतिहासको पहिलो मुद्रा हो । यस मुद्राको अग्र भागमा बायाँ फर्किएर उभिइराखेको सिंहको आकृति जो बायाँ खुट्टा उचालेर झण्डा समाएको साथै ‘श्री मानांक’ अभिलेख कुँदिएको छ । यस्तै पृष्ठ भागमा लामो डाँठमा फुलेको कमलमाथि पद्मासनमा बसेकी लक्ष्मीको आकृति र त्यसको बायाँपट्टि ‘श्री भोगिनी’ लेखिएको छ । मुद्रामा अंकित सिंहको आकृतिले राजा मानदेव निकै पराक्रमी एक सार्वभौम सम्पन्न राजा भएको मानिन्छ भने रानी भोगिनीको नाममा समेत उत्तिकै सम्मान दिएर मुद्रा निष्कासन गरेकाले तत्कालीन समाजमा राजपरिवारमा महिलाको सम्मानजनक स्थिति रहेको कुरा मान्न सकिन्छ । प्रारम्भमा यो भोगिनी अभिलेखले विद्वानबीच निकै विवाद उत्पन्न गरेको थियो । कसै कसैले भोगिनीलाई मानदेवकी इष्टदेवी र कसैले महालक्ष्मीको प्रतीक मानेका थिए । तर ५०५ ई.को मानदेवकी छोरी विजयवतीको सूर्यघाट अभिलेखमा स्पष्ट रूपमा भोगिनीलाई मानदेवकी रानी र विजयवतिकी आमाको रूपमा व्याख्या गरिएको हुनाले यो भ्रम सधंैका लागि निवारण भएको थियो । यसरी दुई भिन्नाभिन्नै ऐतिहासिक स्रोतको मिलानले इतिहासका कतिपय विवादित विषयको पनि हल निष्किएको यथार्थ छ ।
    लिच्छविकालमा मानांक मुद्राबाहेक अन्य विभिन्न नामका मुद्रा पाइएका छन् । यस समयका अन्य मुद्राहरूमा अंशुवर्माले निकालेका पशुपति मुद्राहरू, श्रयंशु मुद्रा, वैष्णव मुद्रा, गुणांक मुद्रा आदि प्रख्यात छन् । मुद्राहरूमा राजाहरूले प्रयोग गरेका उपाधि तथा देवीदेवताका नामले समाजमा कुन धर्मले बढी प्राथमिकता पाएको थियो भन्ने विवरण पनि प्राप्त गर्न सकिन्छ । अंशुवर्माको उदय क्रमैसँग भएको थियो भन्ने विवरण पनि प्राप्त मुद्राहरूकै अध्ययनबाट थाहा पाइन्छ । यस्तै, मल्लकालमा पनि विभिन्न मुद्राहरू पाइएको छ । पूर्वमध्यकालमा भने मुद्रा तथा अभिलेख केही पनि यथेष्ठ मात्रामा नपाइएकै कारणले यो समयलाई इतिहासमा अन्धकारमय युगका रूपमा लिइएको छ । तर पछिल्लो मध्यकालमा भने तिथिमितिसहितका विभिन्न धातुमा मुद्रा निष्कासन भएका छन् । दोलखाका इन्द्रसिंह देवले पहिलोपल्ट नेपालमा चाँदीको मुद्रा प्रचलनमा ल्याएका थिए । तर कान्तिपुरमा भने महेन्द्र मल्लले ‘महेन्द्र मल्ली’ नामक चाँदीको मोहोर प्रचलनमा ल्याएका हुन् । उनको यो मोहोर निकै प्रचलित पनि भयो । मध्यकालमा तिब्बतबाट चाँदी झिकाएर नेपाली कालीगढहरूले नेपाल तथा तिब्बत दुबै देशका लागि चाँदीका मुद्रा बनाउने गर्दथे । विभिन्न साना ठूला मापनका मुद्राहरू त्यसवेला निष्कासन भएका छन् । राजादेखिबाहेक रानी तथा राजपरिवारका अन्य सदस्य र कतिपय अवस्थामा मन्त्रीका समेत नाम उल्लेख भएका मुद्रा त्यसवेला प्रयोगमा भएको देखिन्छ । पछिल्लो मल्लकालमा मुद्रा निष्कासन गर्दा धातुमा मिसावट गरेको पाइन्छ । यो प्रसंगले तत्कालीन बिग्रदो आर्थिक स्थितिको विवरण दिन्छ । मुद्रामा आएको मिसावटले नै पछिल्लो समयमा नेपाल–तिब्बत युद्ध नै भएको थियो । आधुनिक समयका पनि विभिन्न आकारप्रकारका र नाप तौलका मुद्राहरू प्राप्त छन् । 
    नेपाली इतिहासका स्रोतमा कला तथा वास्तुकला पनि एक भरपर्दो स्रोत मानिन्छ । विभिन्न समयमा भएका उत्खनन् कार्यले प्राचीन समयमा नेपाल कला तथा वास्तुकलाले समृद्ध थियो भन्ने भरपूर प्रमाण दिएका छन् । लिच्छविकालका अभिलेखबाट त्यस समयमा ‘मानगृह’, ‘कैलाशकुट भवन’, र ‘भद्रधिवास’ भवनजस्ता वास्तुकलाका नमुना भएको प्रमाण मिल्दछ, तर आज ती वास्तुकलाका नमुना प्राप्त छैनन्, तर त्यसवेलाका ढुंगामा कुँदिएका अनेकौँ मूर्ति तथा चित्रहरूले आजसम्म पनि कलाकार तथा कलापारखीहरूलाई आश्चर्यचकित पार्दछ । लिच्छविकालभन्दा निकै अघि बनेका ढुंगाका सुन्दर मूर्तिहरू आजसम्म पनि प्राप्त छन्, जो तत्कालीन समयको समृद्धिको साक्षी बनेर उभिइरहेका छन् । पाटन च्यासलहिटीको गजलक्ष्मीको मूर्ति एक हो, जो ई.पू. प्रथम शताब्दीको मानिएको छ । उक्त मूर्तिबाट तत्कालिन आभूषण तथा धार्मिक भावनाको समेत परिचय पाइन्छ । लिच्छविकालीन मानदेवको समयमा बनेका त्रिविक्रम वामनदेवका मूर्तिहरू पनि तत्कालिन समयका निकै उत्कृष्ट मूर्ति मानिन्छन् । चाँगुनारायणको विश्वरूपको मूर्ति, बुढानिलकण्ठको शेषशायी भगवान विष्णुको शयन मूर्ति, चाँगुनारायणकै गरूढको मूर्ति, लक्ष्मीनारायणको मूर्ति, त्यस्तै विभिन्न स्थानमा बनेका उमामहेश्वरका शिवपरिवारका मूर्तिहरू, लक्ष्मीको गरूढसमेतको विष्णुको मूर्ति, शिवमूर्ति, तथा लिंग र सूर्यमूर्तिहरूले तत्कालिन कलाको उत्कृष्ट नमूना प्रस्तुत गर्दछन् । यी कलाहरूसँगै कुँदिएका अभिलेखहरूबाट तत्कालीन राजनीतिक, सामाजिक, तथा आर्थिक अवश्था बुझ्न निकै मद्दत पुग्दछ । 
    मध्यकालीन वास्तुकलाका उत्कृष्ट नमुना हालसम्म पनि प्राप्त छन् । विशेष गरी उपत्यकाका तीनवटै सहर कला तथा वास्तुकलाले नै सिंगारिएका छन् । काठमाडौं हनुमानढोका तथा वसन्तपुर दरबार, तलेजु भवानी, भक्तपुरको पचपन्न झ्याले दरबार र न्यातपोल देवल, पाटनको कृष्णमन्दिर, महाबौद्ध मन्दिर, त्यस्तै पाटनको चार स्थानमा बनेका अशोककालिन स्तुपहरू जो सातदोबाटो, शंखमूल, पुल्चोक र ग्वार्को क्षेत्रमा रहेका छन्, निकै प्राचीन र महत्वपूर्ण कलाकृति हुन् । यी चार स्तूपलाई साधारण बनावट र विभिन्न किंवदन्तीका आधारमा अशोककालीन स्तूमानै गणना गरिएको छ । यी सबै कलाकृतिहरू इतिहासका स्रोतका रूपमा महत्वपूर्ण नमुना मानिन्छन् ।
     

  • यी हुन् एमालेका तीन दर्जन आकांक्षी

    काठमाडौं । प्रदेश मुख्यमन्त्री तथा प्रदेश सभामुखको विषयमा एमालेभित्र कडा प्रतिस्पर्धा चलिरहेका बेला राष्ट्रिय सभाको प्रतिनिधित्व गर्ने विषयमा पनि उस्तै…

  • सातवटै प्रदेशमा मतदाता नामावली प्रकाशित

    काठमाडौं । राष्ट्रियसभा सदस्यको यही माघ २४ गते बुधबार हुने निर्वाचनको (निर्वाचन मण्डल) मतदाता नामावली आज प्रकाशित गरिएको छ ।…

  • अवसर नपाएकालाई राष्ट्रिय सभा

    काठमाडौं । राष्ट्रिय सभामा प्राप्त हुने सीमित सिटमा प्रतिनिधित्व कसरी गराउने भन्ने मापदण्ड नेपाली कांग्रेसले तय गरेको छ । राष्ट्रिय…

  • कुन प्रदेशको अस्थायी राजधानी कहाँ ? प्रदेशप्रमुख को ?

    काठमाडौं । सरकारले अन्ततः सातओटै प्रदेशका अस्थायी मुकाम र प्रदेशप्रमुखको टुंगो लगाएको छ । बुधबार अपराह्न बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशप्रमुख…

  • सचिव दाहिना भएपछि बजेट झिरिप्प

    काठमाडौं । संघीयता कार्यान्वयनको जिम्मा पाएको कर्मचारी प्रशासन आफैं त्यसको विरुद्धमा रहेको रहस्य खुलेको छ । संविधानले स्थानीय निकायलाई विकास…

  • एआईजी थपिए, डिआईजी थपिँदै

    काठमाडौं । प्रदेश प्रमुख र प्रदेश केन्द्र कहाँ हुने ? बहस चलिरहेका बेला सशस्त्र प्रहरीमा पाँच एआईजी थप हुने भएका…

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…