Page header hundai
  • बजरंग साह


    धनुषाका चार निर्वाचन क्षेत्रमध्ये जनकपुर उपमहानगरपालिकाका अधिकांश वडा र केही गाउँ मिलाएर ३ नम्बर क्षेत्र बनेको छ । यो क्षेत्रबाट नेपाली कांग्रेसका राष्ट्रियस्तरका नेता विमलेन्द्र निधि र मधेस केन्द्रित दल राजपाका राजेन्द्र महतो प्रतिस्पर्धामा छन् । मधेसी समुदायबाट नेपाली कांग्रेसको सबैभन्दा माथिल्लो तहमा पुगि सकेका र भोलि प्रधानमन्त्री बन्ने सम्भावना बोकेका निधिजी उम्मेदवार भएका कारण अहिले यो क्षेत्रले धनुषामा मात्रै नभएर पूरै देशभरि नै चर्चा पाएको छ । मधेसी समुदायबाट मुलुककोे कार्यकारी प्रमुख पदमा अहिलेसम्म कोही नेताहरू पुगेका छैनन् । निधिजी त्यो सम्भावनाको धेरै नै नजिक पुग्नुभएको छ । निधिबाहेक त्यो सम्भावना बोकेका मधेसका धर्तीपुत्रहरू अब विकास हुन धेरै वर्ष कुर्नुपर्नेछ । त्यसकारण पनि सिंगो मधेस निधिप्रति गौरवान्वित भएको हो ।

    यहाँका अधिकांश जनताको भनाइ यो क्षेत्रमा जसले पहिलेदेखि नै काम गर्दै आएका थिए र कर्मशील भए उनैले नै यस क्षेत्रका जनताको चाहना र भावनाअनुसार केही गर्न सक्छन् भन्ने रहेको छ । बाहिरको व्यक्ति आएर राम्रो गर्न सक्दैनन् । निधिजीले मधेसीका मागहरू पार्टीभित्र उठाएर यी मुद्दा सम्बोधनको वातावरण धेरै अनुकूल पनि बनाउनुभएको हो । उहाँकै प्रयासले कांग्रेस जस्तो ठूलो र राष्ट्रिय पार्टीको सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासमेतले पटक पटक मधेसका माग सम्बोधन गर्दछु भनिरहनुभएको छ । निधिजीले मधेसका जनताको माग सम्बोधन गर्न खेलेको भूमिका र उहाँको जन्म र कर्मथलो धनुषा भएका कारण पनि हामीलाई हरहालतमा निधि चाहिएको छ भन्ने दृष्टिकोण जबर्जस्त रूपमा यहाँ आएको छ ।

    मधेसका सर्वसाधारण पिछडिएका व्यक्तिहरू जो हामीले अधिकार पाएका छैनौं, हामीप्रति भएको अन्ययाविरुद्ध मधेस आन्दोलन भयो भन्ने सोच्दछन्, त्यस्ता व्यक्तिहरूलाई मधेसीको मुद्दा मधेसी दल र तिनका नेताले उठाएको भन्ने छाप रहेको थियो । जुन अर्धसत्य हो, तर अहिले विस्तारै वास्तविकतालाई बुझ्दै आफ्नो सोचाइमा परिवर्तन गर्दै कांग्रेस र कांग्रेसका उम्मेदवारलाई नै जिताउनुपर्छ भन्ने पक्षमा जनमत बढिरहेको छ । होस नपु¥याई गरिने आन्दोलनले फाईदाभन्दा बेफाईदा गर्छ भन्ने कुरा जनताले बुझेका छन् ।

    प्रायः सबै नेता वा मानिसमा कुनै न कुनै कमीकमजोरी रहेका हुन्छन् । सतप्रतिशत सर्वगुण सम्पन्न कोहि मानिस हुँदैन, भगवानका पनि कमजोरी थिए । तर मेरो विचारमा केही वर्षयता विमलजीले धेरै राम्रो काम गरिरहनुभएको छ । जस्तो पछिल्लो तीन वर्षको अवधिमा नै दुईपटक मन्त्री भएर भौतिक पूर्वाधार तथा यातायातमन्त्री हुँदा जनकपुरको विकासमा धेरै राम्रो काम गर्नुभएको छ । त्यस क्षेत्रका मानिसहरूले नचिताएको र अपेक्षा नै नगरेको विकास निर्माण र सडक विकासको सञ्जाल नै विस्तार गरिदिनुभयो । 

    त्यसैगरी, धेरै वर्षदेखि प्रयास गरिरहेको राजर्षीजनक विश्वविद्यालय स्थापनाका लागि आवश्यक ऐन बनाउनुभयो । यो धनुषाको शिक्षा र संस्कृतिको विकासमा कोसेढुंगा नै हो । यो सानोतिनो प्रयासले सम्भव थिएन । त्यसैगरी सीमाबाट जटही हुँदै ढल्केवरसम्म दुई लेनको सडक बनाउन पनि कठिनाइ हुने अहिलेको अवस्थामा उहाँले ६ लेनको सडक बनाउनु भयो । जुन जनकपुरकै लागि धेरै ठूलो उपलब्धि हो । त्यसैले पनि उहाँको जनाधार धेरै बलियो भएर गएको छ । यो सडकको विषयमा म उद्योग वाणिज्य संघको अध्यक्ष हुनुभन्दा अगाडि नै सिन्धुलीका सूर्यबहादुर श्रेष्ठ जो नेपाल सरकारका सडक सम्बन्धी विज्ञ थिए, उनले त्यतिबेला भनेका थिए कि यो बाटो खुलाउन र विस्तार गर्न सकियो भने कोलाकत्तादेखि आउने ठूला मालबाहक ट्रकहरू दरभंगा हुँदै जटही र जनकपुरबाट बर्दिवास जोड्न सकियो भने जनकपुरको ठूलो विकास हुन सक्छ । जनकपुर मुलुकको आर्थिक केन्द्र नै बन्न सक्छ । यो सानो सोच र पहुचले हुनसक्ने कुरा थिएन ।

    जनकपुरबाट सिन्धुली हुँदै काठमाडौं जान सकिन्छ । विमलजीले यो बाटो विस्तार गरेर राजधानी काठमाडौका लागि छोटो बाटो बनाउने काम गर्नुभएको छ । नेपालमा रेलवे लिंक विकास गर्न सकियो भने मालढुवानीमा सस्तो र सुरक्षित हुने कुरा अहिले विमलजीले अघि बढाएर धनुषालाई व्यापारिक केन्द्रको रूपमा विकास गराउँदै हुनुहुन्छ । यो अवस्थामा विमलजीलाई बलियो बनाउनुपर्छ, उहाँलाई बलियो बनाउँदा नै जनकपुरको गरिमा बढ्छ ।

    राजनीतिक संघर्षको दृष्टिकोणले निधि र महतोबीचको तुलना हुनै सक्दैन । उहाँहरूबीच धेरै फरक छ ।  महतोजीको राजनीतिक आन्दोलन संविधान संशोधनमार्फत मधेसीको माग सम्बोधन हुनुपर्छ भनी केही वर्षयतादेखि सुरु भएको हो । उहाँ विवादित पनि हुनुहुन्छ । र, मधेस आन्दोलनको इतिहास केही वर्षयताको मात्रै हो । जब देशमा राजनीतिक परिवर्तन भएर नयाँ संविधान आयो भने यसमा सबै वर्ग, क्षेत्र र समुदायको अधिकार समान हुनु पर्छ भन्नेलगायतका मुद्दाहरू मधेसमा केही वर्षयता उठेको हो । तर, विमलजीको राजनीतिक जीवनको इतिहास विद्यार्थी जीवनदेखि नै सुरु भएको हो । उहाँ पञ्चायतकालदेखि ठूलो संघर्षबाट खारिएर आउनु भएको नेता हो । 

    मलाई याद छ, जतिवेला २०४६ सालमा प्रजातन्त्रको घोषणा भयो त्यसका लागि पनि उहाँले ठूलो संघर्ष गर्नुभएको थियो । विमलजीलाई सुट एट साइटसम्मको वारेन्ट थियो, झन्डै सात वर्ष त प्रजातन्त्रका लागि जेल नै बस्नुभएको छ । उहाँ जनकपुरको सीमापारि बिहारमा र नेपालभित्र पनि धनुषाका विभिन्न गाउँमा भूमिगत भएर बस्नुपरेको थियो । म अहिले पनि सम्झन्छु, बेलाबेला मलाई उहाँको फोन आउथ्यो र भन्नुहुन्थ्यो जनकपुरका जनताले प्रजातन्त्रको पक्षमा आन्दोलनलाई साथ दिन यहाँको व्यापारिक समुदायले पनि सहयोग गर्नु पर्योे । यहाँका आमजनता र व्यापारिक समुदायसँग साँझ १५ मिनेट बत्ती निभाएर पञ्चायतको विरोध गर्न सहयोग माग्नु हुन्थ्यो । यी सबै कुरालाई हेर्ने हो भने देशमा प्रजातन्त्र ल्याउन उहाँको ठूलो भूमिका रहेको थियो । त्यतिबेलादेखि आजसम्म उहाँ हमेशा प्रजातन्त्र र जनताको अधिकारका लागि संघर्ष नै गरिरहनुभएको छ । त्यसैले राजेन्द्र र विमलजीमा धेरै फरक छ र राजनीतिक रूपमा पनि तुलनै हुन सक्दैन । विमलजी देशको नेतृत्व लिने हैसियतमा हुनुहुन्छ, राजेन्द्रजीले आफ्नै भविष्य सुरक्षित महसुस गर्न सक्नुभएको छैन । उहाँको न इतिहास छ, न वर्तमान नै राम्रो छ ।

    अहिले भइरहेको मधेसीलगायतका समुदायको अधिकारको लडाइको आधार भनेको प्रजातन्त्र पुनर्बहालीका लागि विमलेन्द्रजीहरू जस्ता प्रजातन्त्रवादी नेताहरूले लडेकै लडाइँको आधारमा तय भएको हो । त्यतिबेला विमलजीलगायतका नेताहरूले ठूलो संघर्ष गर्नु भयो । पटक पटक उहाँ जेलमा पर्नु भयो । प्रजातन्त्रकै लागि उहाँले पक्राउ पूर्जीदेखि निर्वासित जीवनसमेत बिताउनुपरेको थियो । आसन्न चुनावमा जनताको अपेक्षा के छ भने विमलजीले निर्वाचित भएर गएपछि मधेस र मधेसी जनताको माग सम्बोधन गराउन, संविधानमा आवश्यक संशोधनका लागि राष्ट्रिय भूमिका खेल्नु होला भन्ने ठूलो अपेक्षा राखेका छन् । त्यसपछिको अपेक्षा भनेको समग्र धनुषाको विकासको अपेक्षा हो । धनुषाधाम यो क्षेत्रको र देशकै केन्द्रविन्दु हो । यस क्षेत्रमा राजनीतिक रूपमा विमलजी एकदमै महत्वपूर्ण नेता हो । उहाँ संलग्न रहेको नेपाली कांग्रेस यो देशकै पुरानो र सबैभन्दा ठूलो प्रजातन्त्रवादी पार्टी हो । मुलुककै ऐतिहासिक पार्टीको नेताका रूपमा विमलजीको हैसियत धेरै माथि छ । यस जिल्लामा कांग्रेसका अरु पनि नेताहरू जस्तै लिला कोइराला, जस्को श्रीमाद् सहिद हुनुभएको थियो । विमलजीकै उमेरका अरु पनि नेताहरू छन् । तर म उहाँको भविष्य उज्ज्वल देख्छु ।

    यतिबेला जनकपुरमा ‘मधेस मधेसीको भने जस्तै सर्लाही सर्लाहीका राजेन्द्र महतोको, धनुषा धनुषाकै विमलेन्द्र निधिको’ भन्ने नारा लगाउन थालिएको छ । राजेन्द्र महतोलाई मैथिली शब्दमा (बहरिया) बाहिरबाट आएको हो भनेर भन्न थालिएको छ । भलै संविधानले जो कोहीलाई जहितहिबाट उम्मेदवार बन्न छुट दिएको छ । तर कुनै पनि क्षेत्रमा त्यहि जन्मे, हुर्केर त्यस क्षेत्रको भलाईका लागि कर्म गरेकै व्यक्ति हुनु पर्छ । बाहिरबाट आएर हुँदैन भनि जनताले नै बोल्न थालेका छन् । महतोजी आफ्नै जन्मथलोमा उम्मेदवार बन्नु भएको भए हुने थियो । तर आफूले चुनाव हारेपछि श्रमतीलाई सांसद बनाउन लाग्नु भयो, जसका कारण उहाँलाई हार्ने डर भयो । महतोजी आफ्नै निर्वाचन क्षेत्रमा उम्मेदवार बनेको भए मधेसमा पनि लोकतान्त्रिक गठवन्धन बन्न सक्थ्यो । उहाँले आप्mनो ईज्जत जोगाउन सक्नु भएन ।  अन्यथा संविधान संसोधनद्वारा मधेसका माग सम्बोधन गर्ने निधिजीको एजेन्डा कार्यान्वयनमा महतोको संसदमा उपस्थितिले सहयोग नै पुग्थ्यो ।  निधिजीले देश व्यापी रूपमा चुनाव प्रचारमा जाने मौका पाउनु हुन्थ्यो । तर संविधान संशोधनमार्फत मधेसका माग सम्बोधन गर्ने एजेन्डामा महतोजी आफैं बाधक बन्नुभयो ।

    लोकतान्त्रिक गठबन्धनको नेतृत्व लिएको कांग्रेसले फोरमका नेताहरू उपेन्द्र यादव, अशोक राईदेखि राजपाका महन्थ ठाकुरको समर्थनमा उम्मेदवारीसमेत दिएन । तर यहाँ त मधेसी दलकै नेताले उम्मेदवारी दिए । कांग्रेसले बडो उदारता देखाएर उपेन्द्र, महन्थलगायतका नेतालाई समर्थन दिएपछि उनीहरूले पनि राजनीतिक इमान्दारिता देखाएर यहाँ कांग्रेसका नेता विमलजीलाई समर्थन दिनुपर्दथ्यो । त्यो गर्न नसक्नु मधेस केन्द्रीत दलको कमजोरी हो । यहाँ उनीहरूले जिम्मेवार राजनीति गरेनन् । जनकपुरलाई विभाजित गर्ने, मनमुटाब बढाउने काम गरे । यो एमालेको रणनीति पनि हुन सक्छ ।

    मधेसका  मुद्दाहरूको सम्बोधन राष्ट्रियस्तरकै दलबाट हुनुपर्छ । केन्द्रमा तीनवटा दल मुख्य रूपमा कांग्रेस, एमाले र माओवादी नै रहेका छन् । एमाले र माओवादीले मधेसका मुद्दा र माग कुनै हालतमा सम्बोधन गर्न चाहँदैनन् र सक्दैनन् पनि । किनभने एमाले नेता केपी ओलीले प्रधानमन्त्री हुँदादेखि नै मधेसका मागका विषयमा अत्यन्त नकारात्मक राजनीतिक संस्कार र सोचाइ देखाएका छन् । एमालेसँग मिल्न पुगेको माओवादीले पनि अब गर्दैन । त्यसैले कांग्रेसले मात्रै यी माग पूरा गर्न सक्छ । जुन कुरा कांग्रेस सभापति र प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले चुनावी सभामा सम्बोधन गर्दामात्र होइन, भारत भ्रमणमा जाँदासमेत प्रतिबद्धता व्यक्त गरेर यो मुद्दालाई अन्तर्राष्ट्रियस्तरमा समेत सन्देश दिनुभएको छ । जुन अरु साना र क्षेत्रीय दलले गर्नै सक्दैनन् ।

    यसका लागि मधेसी जनता र मधेसी दलले उसलाई साथ दिएर कांग्रेसको अगुवाइमा अगाडि बढ्नुपर्छ । माग पूरा गर्न माग राख्नु एउटा कुरा हो । त्यसलाई पूरा गर्ने अर्थात् राष्ट्रियस्तरबाट दिने हैसियत भएको पार्टी पनि चाहिन्छ । त्यो भनेको कांग्रेस नै हो । किनभने यसका सभापतिदेखि नेता निधिसमेतले प्रतिबद्धता व्यक्त गरिरहेका छन् । त्यसैले हामी सबैले यो पार्टीको पक्षमा बहुमत जुटाउनुपर्छ  भन्ने कुरामा जनकपुरका जनता सचेत छन् । स्थानीय तहको निर्वाचनमा पार्टी नेतृत्वको कमीकमजोरीका कारण र टिकट वितरणमा भएको असन्तुष्टिका कारण परिणाम कांग्रेसको अपेक्षा बाहिर गएको थियो । तैपनि यस क्षेत्रमा अरु पार्टीले भन्दा कांग्रेसले सबैभन्दा धेरै मत प्राप्त गरेको छ । अर्थात् दुईवटा मधेसी दलकोभन्दा कांग्रेसको मत बढी छ । दुईवटा कम्युनिस्ट पार्टीको भन्दा कांग्रेसको मत बढी छ । स्थानीय चुनावको भोट हेर्ने हो भने पनि कांग्रेस नै बलियो छ । तर यसपटक त्यसको प्रभाव पनि पर्दैन । त्यतिबेलाको परिस्थिति अथवा उम्मेदवार र अहिलेको प्ररिस्थिति फरक छ ।

    (पूर्वमेयर बजरंग साहसँग हिमालदैनिक अनलाइनले गरेको कुराकानीमा आधारित)
     

  • प्रदेश २ मा को होला  मुख्यमन्त्री ?

    जनकपुर । निर्वाचनको मतपरिणामले प्रदेश नम्बर २ मा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीचको चुनावी तालमेलले नै…

  • आउने साता प्रदेश प्रमुखको नियुक्ति 

    काठमाडौं । सरकारले प्रदेश प्रमुखको नियुक्तिका लागि गृहकार्य अघि बढाएको छ । प्रदेश प्रमुखको नियुक्ति नगरेसम्म प्रदेश सरकार गठनको प्रक्रिया…

  • शीर्ष नेताको बारेमा गलत रिपोर्टिङ

    काठमाडौ । प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन भइरहँदा गृह मन्त्रालयका उच्च अधिकारीहरूले पार्टीका शीर्ष नेताहरूको मत आंकलनमा गलत रिपोर्टिङ गरेको पाइएको…

  • प्रधामन्त्रीलाई दिए गृहसचिवले धोका 

    काठमाडौं । प्रधामन्त्री तथा गृहमन्त्री शेरबहादुर देउवाले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनभर गृह मन्त्रालयको जिम्मा मन्त्रालयकै सचिवलाई छाड्दा धेरै धोका पाएका…

  • विजय गच्दारको विजयसँगै प्रत्यक्षतर्फ काँग्रेसको २३

    काठमाडौ । सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका उम्मेदवार  बिजयकुमार गच्छदार ३ सय २१ मतान्तरमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका…

  • निधि हार्दा क–कसलाई लाभ

    काठमाडौं । एमाले र माओवादीबीच चुनावी तालमेलको घोषणालगत्तै   विभिन्न मिडियाले स्थानीय निर्वाचनको मतपरिणामसँग तुलना गर्दै आंकलन गरेका थिए– ‘नेपाली…

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…