Page header hundai
  • सविता प्रसाई सापकोटा


    सामाजिक विज्ञानका महत्वपूर्ण शाखामध्ये इतिहासलाई पनि लिइन्छ । अगाडि नै प्रस्ट पारिसकिएको छ कि इतिहास विगतमा घटेका घटनाको क्रमबद्ध विवरण हो । यो मानिसको सम्पूर्णताको अध्ययन हो । कुनै पनि विज्ञान आफैमा पूर्ण हुँदैन । एउटै परिवारका सदस्य भएको नाताले अन्य सामाजिक विज्ञानसँग पनि इतिहासले गहिरो सम्बन्ध स्थापित गरिरहेको हुन्छ । यसरी कुनै पनि विज्ञानको कुरो गर्दा अन्य विज्ञानसँगको सम्बन्धबारे चर्चा गर्ने पहिलो विद्वान वाइब्ज हुन् । उनको भनाइमा ‘सबै विषयबीच आन्तरिक सम्बन्ध हुन्छ ।’ सबै सामाजिक विषयहरू इतिहासको पृष्ठभूमिमै आधारित हुन्छन् । यसैले ट्राबेलियनले इतिहासको महत्वलाई जोड दिँदै भनेका छन्, ‘इतिहास कुनै विषय होइन, तर त्यो त्यस्तो एउटा घर हो जहाँ सबै विषयले निवास गरेका छन् ।’ यो भनाइले इतिहास र अन्य विषयसँगको सम्बन्धको बारेमा जान्नलाई निकै बल मिल्छ । विशेष गरी इतिहासले साहित्य, राजनीतिशास्त्र, भूगोल, अर्थशास्त्र आदि जस्ता विषयसँग निकै गहिरो सम्बन्ध राखेको पाइन्छ । यी सबै विषयले आ–आफ्नो क्षेत्रमा एक अर्कालाई गहिरो सहयोग गरेको पाइन्छ ।
    प्राचीन युगमा इतिहासलाई नै साहित्यको एक अंगको रूपमा लिइन्थ्यो । त्यसैले साहित्यको रूपमा नै इतिहास अध्ययन अध्यापन गराइने प्रचलन पनि निकै पछिको समयसम्म चलेको पाइन्छ । साहित्य पढ्न प्रायः सबैको रूचि हुने भएकाले पनि सायद इतिहास साहित्यमा समावेश गरिएको हुनसक्छ । साहित्यमा कल्पनाको प्रयोग बढी हुन्छ । त्यसैले पनि इतिहासकारहरूको एउटा त्यस्तो वर्ग छ, जसले साहित्यको त्यस्तो पक्षलाई स्वीकार गर्दछन्, जसमा ऐतिहासिक घटनाहरूको धारावाहिक रूपले चर्चा गरिएको हुन्छ । वैज्ञानिक युगको आविष्कारसँगै इतिहासलाई पनि एउटा विज्ञान मानियो र पछि साहित्यको रूपमा मात्र इतिहासलाई लिन छाडियो । यसपछि कल्पना र साहित्यिक रोचकताभन्दा निकै टाढा इतिहासलाई स्वीकार्न थालियो । पछि इतिहास एउटा निरस र अरूचिको विषय हुन थाल्यो । इतिहास पढ्ने मानिसको संख्या पनि कम हुन थाल्यो । यो विवेचनाबाट के प्रस्ट हुन्छ भने इतिहासको अध्ययन साहित्यलाई पर राखेर पूरा हुन सक्दैन । इतिहास पढ्न साहित्यको सहारा लिनै पर्छ र साहित्य रचनामा पनि इतिहासको आवश्यकता पर्छ । 
    प्रो. बेकनकोे विचारमा इतिहास र साहित्यको समन्वय इतिहासको अध्ययन गर्नेहरूलाई ज्ञानप्रति रूचि उत्पन्न गराउने उद्देश्यले गर्नुपर्छ । त्यस्तै, प्रो. घाटेको विचारमा इतिहासको अध्ययनमा साहित्यको प्रयोग ऐतिहासिक वातावरणको निर्माणका लागि गरिनुपर्छ । त्यस्तै, विभिन्न कालखण्डको सामाजिक स्थितिको ज्ञान प्राप्ति गर्नपनि साहित्यको उचित प्रयोग गर्न सक्नुपर्छ । इतिहासको प्रयोग साहित्यसँग गर्न नसकेमा इतिहास निरस र अत्यन्त सूक्ष्म विषयको रूपमा मात्र चिनिन्छ ।  त्यसैले हिजोआज ऐतिहासिक साहित्य लेखन त्यत्तिकै महत्व र रूचिको विषय बन्न पुगेको छ । 
    इतिहासले मानिसले गर्ने कार्यको अध्ययन गर्ने हुनाले पनि साहित्यमा मानिसका भावना र कल्पना थप्न निकै सजिलो हुन्छ । साहित्यले विशेष गरी इतिहासलाई सामाजिक स्थितिहरूको विस्तृत वर्णन, रीतिरिवाजहरू, संघ–संस्थाहरू, रहनसहनको तरिका आदिका बारेमा सामाग्री प्रदान गर्दछ । त्यसैले पनि इतिहासको अध्ययन गर्दा साहित्यको सहायता लिनुपर्ने हुन्छ । यस अर्थमा इतिहास र साहित्यको घनिष्ठ सम्बन्ध रहेको प्रस्ट हुन्छ । 
    इतिहास र राजनीतिशास्त्रबीच पनि त्यत्तिकै गहिरो सम्बन्ध रहेको छ । राजनीतिशास्त्रले वर्तमान शासन व्यवस्था मात्र वर्णन गर्दैन, यसले कुनै पनि देशको शासन व्यवस्थाको सुरूवात र त्यसको विकासको लेखाजोखा आदिको वैज्ञानिक तरिकाले अध्ययन गर्दछ । त्यसैले राजनीतिशास्त्रको सहयोगले विगतमा कुन कुन  शासन व्यवस्था अंगालेर आजको अवस्थामा समाज आइपुग्यो भन्ने विषयको जानकारी मिल्दछ । आधुनिक युगमा राजनीतिशास्त्रप्रति ज्यादै उदार दृष्टिकोण रहेको छ । यसले समाजमा व्यक्तिलाई एउटा जिम्मेवार नागरिक भएर जिउन सिकाउँछ । यसले वर्तमान समाजमा सामाजिक र राजनीतिक समस्याहरूको वर्णन गर्छ । जसको समाधानका लागि ऐतिहासिक विषयको उठान गरिन्छ । यसले विगतको समाजको शासन व्यवस्थाको क्रमबद्ध तरिकाले अध्ययन अध्यापन गराउँछ । जसमा कतिपय विषयवस्तु ऐतिहासिक हुन्छन् । यसले मानिसको कुनै एक पक्षको मात्र अध्ययन नगरी पूरै समाजलाई नै विकासक्रमको दृष्टिकोणले व्याख्या र विश्लेषण गर्दछ । त्यसैले दुवै विषयका अध्ययनका विषय वस्तु कतिपय अवस्थामा एकै पर्न जान्छन् । दुवैले मानिसको शासन व्यवस्थाहरूसँग उनीहरूको कुन किसिमले सम्बन्ध कायम रहेको छ, सो बारे अध्ययन गर्दछन् । इतिहास र सरकारको सम्बन्ध पनि त्यत्तिकै गहिरो रहेको छ । फ्रिमैनले यी दुवै शास्त्रको महत्वलाई प्रकाश पार्दै लेखेका छन्, ‘इतिहास अतितको राजनीतिशास्त्र हो ।’
    इतिहास र भूगोलको पनि त्यत्तिकै नजिकको सम्बन्ध पाइन्छ । दुवै अध्ययन सामग्रीका दृष्टिकोणले एक अर्काका परिपूरक विषय मानिन्छन् । इतिहास र भूगोल दुवै समाजका अंग हुन् । हुन त इतिहास अतितसँग सम्बन्धित छ भने भूगोल वर्तमानसँग । मानव विकासको क्रममा मानव कुन ठाउँमा बस्थ्यो, कसरी र के कारणले अर्को स्थानमा बसाइँ सरेर गयो र आफ्नो जीवनयापनका लागि के कस्ता तरिका अपनायो भन्ने विषयको खोजी भूगोलको अध्ययनबाट मात्र सम्भव छ । यसको साथै भूगोलले मानिसले आजको रहनसहन र जीवनयापनका लागि के कस्ता समस्या भोग्यो भन्ने विषयको पनि अध्ययन गर्दछ । एकको सहयोगविना अर्कोको ज्ञान अधुरो रहन्छ । इतिहास ठाउँ र समयको आधारमा चल्दछ र ठाउँको विस्तारपूर्वक अध्ययन भूगोलअन्तर्गत गरिन्छ । यही कारणले गर्दा नै केही विद्वान्हरूले भूगोललाई इतिहासको आधारशिला मान्दछन् । 
    विभिन्न देशका बासिन्दाहरूले जे जे गरे ती सबै गर्नु उनीहरूको प्राकृतिक र भौतिक वातावरणको फलस्वरूप नै सम्भव भएको हो । प्राचीन युगमा मानिस पूरा रूपले प्रकृतिमा आधारित थियो । आज वैज्ञानिक आविष्कारले गर्दा मानिसले प्रकृतिमाथि विजय प्राप्त गरिसकेको छ । हुन त इतिहास र भूगोल दुवै स्वतन्त्र विषय हुन् । तर दुवै विषयले एक अर्कालाई सूचना आदानप्रदान गर्दछन् । प्रत्येक देशको इतिहास निर्माणमा भूगोलको विशेष हात रहेको हुन्छ । यसकारण इतिहासको अध्ययन अध्यापन गर्ने व्यक्तिले भौगोलिक तथ्यको महत्वलाई पनि त्यत्तिकै नजिकको दृष्टिले हेर्नुपर्छ । भूगोलसँग जहिले पनि इतिहास जोडिएको हुन्छ । पृथ्वीनारायण शाहको अध्ययन गर्दा र उनको विजययात्राको वर्णन गर्दा त्यहाँको भौगोलिक पृष्ठभूमि र आधारहरूले के कसरी सहयोग गरे, त्यो पनि अध्ययन गर्नु त्यत्तिकै आवश्यक हुन्छ । त्यसैले दुवै विषयले एक अर्कालाई आ–आफ्ना क्षेत्रमा सूचना आदानप्रदान गर्नमा सहयोग पु¥याउँछन् । 
    इतिहास र अर्थशास्त्र पनि सामाजिक विज्ञानका महत्वपूर्ण विषय हुन् । इतिहास मानव सभ्यताका भण्डार हो । त्यसमा सामाजिक, आर्थिक, राजनीतिक आर्थिक र सांस्कृतिक सबै क्षेत्रमा मानवको उन्नति एवं अवनतिको विश्लेषण हो । इतिहास विगतको ऐना हो, जसले भविष्यलाई दिशानिर्देशन गरेको हुन्छ । अर्थशास्त्रले मानिसको आर्थिक कार्यहरूमाथि प्रकाश पार्न बल मिल्छ । मार्शलकाअनुसार जीवनको सामान्य स्थितिको चित्र मानवको अध्ययन गर्नु नै अर्थशास्त्र हो । अर्थशास्त्रले व्यक्तिगत र सामाजिक कार्यहरूको खोजीनीति गर्दछ, जसको भौतिक सुखको साधनहरूको प्राप्ति र प्रयोगसँग ज्यादै नजिकको सम्बन्ध राख्दछ । अर्थशास्त्रले विगतमा मानिसले गरेको सबै आर्थिक क्रियाकलापको खोजीनीति गर्दछ । यो मानव व्यवहारको आर्थिक उन्नतिको एउटा व्यवस्थित विवरण हो । अर्थशास्त्रको अध्ययनविना इतिहासको पूरा अध्ययन हुन सक्दैन । इतिहासले जहिले पनि विगतको सम्पूर्णताको विवरण दिन्छ । त्यस्तै, अर्थशास्त्र कुनै पनि समाजको मेरूदण्ड हो । कुनै समाजको विकासको आधारशिला त्यो देशको आर्थिक पक्ष नै हो । आर्थिक इतिहासले यी सबै पक्षको विवरण दिन्छ । 

  • प्रदेश २ मा को होला  मुख्यमन्त्री ?

    जनकपुर । निर्वाचनको मतपरिणामले प्रदेश नम्बर २ मा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीचको चुनावी तालमेलले नै…

  • आउने साता प्रदेश प्रमुखको नियुक्ति 

    काठमाडौं । सरकारले प्रदेश प्रमुखको नियुक्तिका लागि गृहकार्य अघि बढाएको छ । प्रदेश प्रमुखको नियुक्ति नगरेसम्म प्रदेश सरकार गठनको प्रक्रिया…

  • शीर्ष नेताको बारेमा गलत रिपोर्टिङ

    काठमाडौ । प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन भइरहँदा गृह मन्त्रालयका उच्च अधिकारीहरूले पार्टीका शीर्ष नेताहरूको मत आंकलनमा गलत रिपोर्टिङ गरेको पाइएको…

  • प्रधामन्त्रीलाई दिए गृहसचिवले धोका 

    काठमाडौं । प्रधामन्त्री तथा गृहमन्त्री शेरबहादुर देउवाले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनभर गृह मन्त्रालयको जिम्मा मन्त्रालयकै सचिवलाई छाड्दा धेरै धोका पाएका…

  • विजय गच्दारको विजयसँगै प्रत्यक्षतर्फ काँग्रेसको २३

    काठमाडौ । सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका उम्मेदवार  बिजयकुमार गच्छदार ३ सय २१ मतान्तरमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका…

  • निधि हार्दा क–कसलाई लाभ

    काठमाडौं । एमाले र माओवादीबीच चुनावी तालमेलको घोषणालगत्तै   विभिन्न मिडियाले स्थानीय निर्वाचनको मतपरिणामसँग तुलना गर्दै आंकलन गरेका थिए– ‘नेपाली…

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…