Page header hundai
  • डा. सुरेश आचार्य


    यसपटकको निर्वाचनमा कांग्रेसमा बागी वा विद्रोही तुलनात्मक रूपमा कम रहे । कम्युनिस्ट पार्टीको गठबन्धनका कारण पनि कांग्रेसमा मनोवैज्ञानिक एकता कायम भएको छ । तर यो एकता पार्टी अनुशासनको अर्थमा भएको छैन । आफू उम्मेदवार भए ठीक र अर्को उम्मेदवार भए उसलाई किन जिताउने भन्ने मान्यतामा अहिले पनि कांग्रेस नेता कार्यकर्ताहरू कायमै छन् । यो कारणले कतिपय कांग्रेसले जित्ने निर्वाचन यसपटक पनि हारे भने आश्चर्य मान्नुपर्ने छैन । 
    कांग्रेसमा टिकट आफूले र आफ्नाले मात्रै पाउनुपर्ने मान्यता छ । पटक पटक मन्त्री भएर चित्त बुझ्दैन । हरेक पटक आफैं हुनुपर्छ । अरु सधैं आफ्ना झोले कार्यकर्ता हुन् भन्ने मान्यता केन्द्रदेखि जिल्ला तहका कार्यकर्तामा छ । अर्को कमजोरी केन्द्रीय नेतृत्वको पनि छ । टिकट जित्नेलाई होइन, आफ्नालाई दिने संस्कार केही घटेको छ, तर अन्त्य हुन सकेको छैन । राम्रा र हाम्राबीचको अन्तर छुट्याउने संस्कारको विकास हुन सकेको छैन ।
    उम्मेदवार को जित्छ वा हार्छ, त्यो गौण हुनुपर्ने हो । मूल प्रश्न पार्टी हार्छ कि जित्छ भन्नुपर्ने हो । तर पार्टीको हारको दोष शेरबहादुर देउवालाई दिन पाइयो । पार्टी नेतृत्वका हिसावले देउवाको यो नैतिक जिम्मेवारी त हुन्छ नै । तर शेरबहादुरलाई कमजोर देखाउनका लागि निर्वाचनमा नै जानुपर्दैन । उनका हरेक गतिविधिका आलोचना गरेर, पार्टीका गतिविधिमा असहयोग गरेर पनि प्रतिपक्षीलाई बलियो बनाउन सकिन्छ । पार्टीलाई कमजोर बनाउन सकिने आधार अरु पनि होलान् । तर आमनिर्वाचनमा पार्टीलाई जिताउने भनेको संगठनलाई बलियो बनाउने हो । सकिन्छ भने शेरबहादुरलाई कमजोर बनाउने पार्टी महाधिवेशनमा हो । पार्टीमा आफू जित्न नसकेको प्रतिशोध आमनिर्वाचनमा लिएर भोलि आउने पार्टी नेतृत्वले पनि पार्टी संगठन गर्न सक्दैन ।
    यसपटक केही उम्मेदवार हार्दैछन् भने हिजो स्थानीय तहमा उनीहरूले निर्वाह गरेको भूमिकाका कारण पनि हार्दैछन् । हिजो गाउँ वा नगरपालिकामा उम्मेदवार भएकालाई असहयोग गर्नेहरू यसपटक आफैं उम्मेदवार भएका छन् । हिजो असहयोग गरिरहँदा भोलि कुनै दिन आफू पनि उम्मेदवार हुनुपर्ने छ भन्ने सोचेको भए यो अवस्था आउने थिएन । उदाहरणका लागि, हिजो प्रतिनिधिसभा सदस्य जितेका कञ्चन वादे काभ्रेको प्रदेशसभा सदस्यमा किन राम्रो सहयोग पाइरहेका छैनन् ? किन हारिने त्रास उनमा बढेको छ ? यसको जवाफ बनेपा नगरपालिकामा कांग्रेसले किन हा¥यो भनेर कञ्चन आफैंले दिनुपर्ने भएको छ । 
    कांग्रेसले हिजो धेरैलाई हैसियत दियो । कोही राजदूत भए । कोही विभागीय प्रमुख भए । कोही उपकुलपति भए । कोही उच्च पदको हैसियत राख्ने भए । कांग्रेस सत्तामा थियो र उनीहरूले त्यो अवसर पाए । आज पनि कांग्रेसका कारण पदीय हैसियतमा रहनेको संख्या सयौं होला । तर पार्टीले चुनावका लागि सहयोग गर्न व्यक्तिगत रूपमा बोलाउँदा आज उनीहरूलाई फुर्सद हुन छाडेको छ । सम्पूर्ण रूपमा चुनाव हारेछ भने पनि कांग्रेस अझै दुई महिना सत्तामा रहन्छ । निर्वाचनका सबै प्रक्रिया पूरा गरेर सत्ता हस्तान्तरणका लागि पनि दुई महिना लाग्ने निश्चित छ । प्रदेश प्रमुख नियुक्त गर्ने दायित्व पनि यही सरकारको हो । यसबीचमा हुने सरुवा बढुवा पनि यही सरकारले गर्ने हो । तर एकथरी हिजोका कांग्रेसका लाभग्राहीहरू आज कांग्रेसलाई कमजोर ठानिरहेका छन् । कांग्रेसलाई सहयोग गर्नुको औचित्य समाप्त भएको देखिरहेका छन् । कांग्रेसलाई जिताउन आफूले निर्वाह गर्नुपर्ने स्वतस्फूर्त भूमिका त छैन नै, पत्र पठाएर, टेलिफोन गरेर र म्यासेज पठाएर बोलाउँदा पनि उनीहरूलाई फुर्सद हुन छाडेको छ । अरु कामको प्राथमिकता बढेको छ । 
    वाम गठबन्धनका कारण तुलनात्मक रूपमा कांग्रेस कमजोर देखिएको होला । दुई कम्युनिस्ट पार्टीको सिट जोड्दा कांग्रेस दोस्रो नै पनि हुन सक्ला । तर एक सय पूर्णांक हल गर्न खोज्ने विद्यार्थीले बढी नम्बर ल्याउँछ कि आधा वा त्यो भन्दा कम हल गर्नेले पाउँछ ? यो अंकगणितीय लाग्ने प्रश्न खासगरी समानुपातिक उम्मेदवारका हकमा लागू हुनेछ । मतदातालाई एउटै चुनाव चिह्नमा मतदान गर्न जति सहज हुन्छ, त्यति फरक चिह्न खोजेर मतदान गर्न हुँदैन । कांग्रेसले १६५ मध्ये १५४ ठाउँमा उम्मेदवार दिएको छ । त्यसैले समानुपातिक मत स्वाभाविक रूपमा कांग्रेसले नै बढी ल्याउने देखिन्छ । 
    एक माघले जाडो जाँदैन भनेर नबिर्सने हो भने फेरि पनि कांग्रेस कमजोर हुँदैन । कसैले बिर्सिएछन् भने नै पनि कुनै कम्युनिस्ट पार्टीले चाहना राखे जस्तो पचास वर्षको शासन महाराजले त चलाउन सकेनन्, अरु कसैले यो कल्पना गर्नु मूर्खता मात्र हुनेछ । त्यसैले यतिबेला कांग्रेसहरूमा इमान्दारीको खाँचो छ, चुनाव हारिन्छ भन्ने मानसिकताबाट उठेर हामी चुनाव जित्दैछौं भन्ने भावनाको विकास गर्न जरुरी छ । कम्युनिस्टहरूमा पलाएको दुई तिहाइको सपना यति छिट्टै बहुमतमा सीमित भएको होइन ।
     

  • प्रदेश २ मा को होला  मुख्यमन्त्री ?

    जनकपुर । निर्वाचनको मतपरिणामले प्रदेश नम्बर २ मा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीचको चुनावी तालमेलले नै…

  • आउने साता प्रदेश प्रमुखको नियुक्ति 

    काठमाडौं । सरकारले प्रदेश प्रमुखको नियुक्तिका लागि गृहकार्य अघि बढाएको छ । प्रदेश प्रमुखको नियुक्ति नगरेसम्म प्रदेश सरकार गठनको प्रक्रिया…

  • शीर्ष नेताको बारेमा गलत रिपोर्टिङ

    काठमाडौ । प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन भइरहँदा गृह मन्त्रालयका उच्च अधिकारीहरूले पार्टीका शीर्ष नेताहरूको मत आंकलनमा गलत रिपोर्टिङ गरेको पाइएको…

  • प्रधामन्त्रीलाई दिए गृहसचिवले धोका 

    काठमाडौं । प्रधामन्त्री तथा गृहमन्त्री शेरबहादुर देउवाले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनभर गृह मन्त्रालयको जिम्मा मन्त्रालयकै सचिवलाई छाड्दा धेरै धोका पाएका…

  • विजय गच्दारको विजयसँगै प्रत्यक्षतर्फ काँग्रेसको २३

    काठमाडौ । सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका उम्मेदवार  बिजयकुमार गच्छदार ३ सय २१ मतान्तरमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका…

  • निधि हार्दा क–कसलाई लाभ

    काठमाडौं । एमाले र माओवादीबीच चुनावी तालमेलको घोषणालगत्तै   विभिन्न मिडियाले स्थानीय निर्वाचनको मतपरिणामसँग तुलना गर्दै आंकलन गरेका थिए– ‘नेपाली…

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…