Page header hundai
  • किशोरी साह, नेता नेपाली कांग्रेस


    ० राजनीतिमा लागेको कति भयो ?
    – उमेर राजनीतिमै बित्यो । म राजनीतिमा सक्रिय रूपमा लागेको ४५ वर्षभन्दा बढी भयो होला । साधारण परिवारको भएका कारण पढाइभन्दा पनि आफ्नो जीविकोपार्जनमै ध्यान दिनुप¥यो । त्यसैले विद्यार्थीकालमा राजनीतिमा संलग्न हुन सकिनँ । राजनीतिमा लागेपछि सानोतिनो व्यवसाय पनि छुट्यो, तर जनपाको उपमेयर हुने अवसर भने पाएँ ।

    ० राजनीतिमा कसरी जोडिनुभयो ? 
    – युवाहरूलाई समेटेर खेलकुदको टिम बनाउने मेरो रुचि थियो । हरेक पूर्णिमामा मेला जस्तो लाग्थ्यो । विवाह पञ्चमी, रामनवमी, जानकी पञ्चमी, झुला परिक्रमालगायतका चाडपर्वमा जनकपुरमा मेला लाग्ने गर्दछ । यस्ता मेलामा युवालाई समेटेर स्वयंसेवकको काम गर्ने, यसक्रममा अलिकति रवाफ पनि देखाउने गरिन्थ्यो सानैदेखि । अलि सिनियर टोलीको नेतृत्व सिनियरले नै गर्थे, जुनियर टोलीको नेतृत्व जुनियरले नै गर्थे । राजकुमार चौधरीले सिनियर टोलीको र म जुनियर टोलीको नेतृत्व गर्थेँ ।   त्यतिबेला राजकुमारजी, विमलेन्द्र निधिको प्रेरणाले नेविसंघमा आवद्ध भइसक्नुभएको रहेछ । विमलेन्द्रजी पनि जनकपुरमै पढ्नु हुन्थ्यो । त्यही नाताले पनि नेपाली कांग्रेसमा आवद्ध भएँ । अहिले जनकपुर क्षेत्रमा नेपाली कांग्रेसका जति पनि नेताहरू छन्, सबै जनकपुरको रारा क्याम्पसका उत्पादन हुन् । 

    ० तपाई राजनीतिमा नेविसंघको कार्यकर्ताका रूपमा रूपमा जोडिनुभयो कि नेपाली कांग्रेस भनेर ? 
    – जनकपुरमा नेविसंघको पहिलो अधिवेशन यहीँको धर्मशालामा भएको हो । हामी अहिले जहाँ बसेर कुरा गर्दैछौं । यो ठाउँको ठिक पछाडिको पोखरी  नजिकै धर्मशाला छ । विश्वनाथजीको नामले यो धर्मशाला प्रचलित छ ।   कला संगीतसँग पनि रुचि राख्ने भएकाले हामीले सहगल कला मन्दिर नामक क्लबको पनि स्थापना गरेका थियौं । त्यही क्लबमार्फत हामीले विश्वनाथ धर्मशालामा नेविसंघको अधिवेशन गरायौं । त्यतिबेला त धेरै लामो अधिवेशन हुँदैनथ्यो । ५०–६० जनाको जमघट हुनु पनि ठूलो कुरा थियो ।

    ० विमलेन्द्र निधिजी अध्यक्ष बनेको पनि यहीँको महाधिवेशनद्वारा हो नि ?
    – मैले अलि पहिलेको कुरा माथि उल्लेख गरेको हुँ । विमलेन्द्रजी अध्यक्ष बनेको त २०३६ चैतमा हो । २०३६ जेठमा जनमतसंग्रहको घोषणा भयो । त्यसै सालको चैतमा जनकपुरमा नेविसंघको दोस्रो महाधिवेशन भयो । त्यही महाधिवेशनबाट निधिजी अध्यक्ष बन्नुभएको हो ।

    ० तपाईले राजनीति सुरु गर्दा कांग्रेस पार्टीको नेता को थियो ?
    – कांग्रेसका प्रायः सबै नेता भारत प्रवासमा थिए, तर महेन्द्रनारायण निधि प्रवासमा जानुभएन, आफ्नै गाउँमा बसेर संगठन गर्नुभयो । त्यतिबेला जनकपुर क्षेत्रमा कांग्रेसको ठूलो नेताका रूपमा महेन्द्रनारायण निधिको मात्रै पहिचान थियो । उहाँलाई देख्नेवित्तिकै कार्यकर्ताहरू सतर्क हुन्थे । उहाँ   जनकपुरमा घुम्न निस्कँदा प्रशासनसमेत सतर्क हुन्थ्यो । उहाँ यस्तो आदर्श पुरुष हुनुहुन्थ्यो, उहाँले यो देशमा प्रजातन्त्रका लागि अरु कुनै नेताले गर्न नसकेको काम गर्नुभएको छ । राणा र पञ्चायतसँग लड्ने योद्धा हुनुहुन्थ्यो ।  उहाँको अनुहार, उहाँको पर्सनालिटी, उहाँको हिँडाइ, बोलाई र उहाँको जीवनशैली देखेर मान्छेहरू प्रभावित हुन्थे । उहाँ गम्भीर भएर बाटोमा हिँड्नु हुन्थ्यो । हामी उहाँको पछिपछि लाग्थ्यौं ।

    ० त्यसबाहेक उहाँको के कुराले तपाईलाई नेपाली कांग्रेस बन्न प्रेरणा दियो ?
    – एकतन्त्रीय राणा शासन समाप्त पारेर मुलुकमा प्रजातन्त्र स्थापना गर्न उहाँको ठूलो योगदान थियो भन्ने कुरा हामीले पढेर र सुनेर थाहा पायौं । हामीले संगत गर्दा उहाँ पञ्चायती व्यवस्था ढालेर प्रजातन्त्र पुनस्र्थापना गर्ने अभियानमा हुनुहुन्थ्यो । प्रजातन्त्र स्थापनापछि जनताको हकअधिकार  सुरक्षित हुन्छ भन्ने हामीलाई थाहा थियो । प्रजातन्त्र पुनस्र्थापनाका लागि निधिजीलाई साथ दिनुपर्छ भन्ने बुझाई हाम्रो थियो । हाम्रो देश किन पछाडि प¥यो ? प्रजातन्त्र स्थापनापछि हाम्रो देश कसरी अगाडि बढ्छ ? भन्ने सन्दर्भमा जनताले बुझ्ने भाषामा उहाँ व्याख्या गर्नुहुन्थ्यो । उहाँले एउटा गुण्टा जतिबेला पनि साथमा राख्नुहुन्थ्यो । पक्राउका लागि प्रहरी आउँदैछ भन्ने सुइँको पाउनासाथ त्यो गुण्टा लिएर हिँडिहाल्नु हुन्थ्यो । स्वदेशमा बसे पनि उहाँलाई प्रहरीले हत्तपत पक्राउ गर्न सक्दैनथ्यो । जुनबेला नेपाली कांग्रेस र बीपी कोइरालाको कुरा गर्नेलाई राज्यले मारिदिन्थ्यो, त्यो बेलामा पनि निधिजीले आफ्नो क्षेत्रमा भयरहित  वातावरण बनाएर भित्रभित्रै कांग्रेसको संगठन निर्माण गरिरहनुभयो, पञ्चायतको खिलापमा जनमत तयार बनाइरहनु भयो ।

    ० त्यो बाटो त कठिन थियो नि होइन ?
    – धेरै नै कठिन थियो । जेलमा बस्न र प्रवासमा बस्न जस्तो सजिलो कहाँ थियो र ? जतिबेला पनि मारिदिने खतरा थियो । सरोज कोइराला, तेजबहादुर अमात्य, योगेन्द्रमान शेरचनलाई मारिएको होइन र ? हामी बजारमा हिँड्दा थकाई लाग्यो भने बस्ने ठाउँ हत्तपति पाउँदैनथ्यौं । कांग्रेसका मान्छेलाई किन बस्न दिइस् भन्दै प्रहरीहरू आएर आतंकित पार्थे । 

    ० के भविष्य देखेर तपाईहरूले यस्तो कठिन बाटो रोज्नुभयो ?
    – निधिजी हिँडेको बाटो पक्कै पनि उज्ज्वल छ भनेर नै हो । २०१५ सालको आमनिर्वाचनमा भारी मतले चुनाव जितेर मुलुकको पहिलो उपसभामुख बन्नुभएको थियो उहाँ । पञ्चायतको समर्थन गरेको भए आजीवन मन्त्री बन्न पाउने अवस्था थियो । यति हुँदाहुँदै पनि उहाँले दुःख–कष्टको बाटो रोज्नुभयो । मुलुकमा प्रजातन्त्र ल्याएर सबै जनतालाई  अधिकार सम्पन्न बनाउने अभियानका लागि उहाँले दुःख–कष्ट उठाउनुभएको थियो । त्यो दुःख–कष्ट नै हाम्रा लागि प्रेरणा बन्यो । हामीले दुःख गर्दा भावी सन्ततीले प्रजातन्त्र उपभोग गर्न पाउँछन् भने किन नगर्ने ? भन्ने प्रेरणा हामीलाई प्राप्त भयो निधिजीको जीवनशैलीबाट ।
    हामीलाई प्रजातन्त्र भनेको थाहा थियो, राष्ट्रियता भनेको के हो ? समाजवाद भनेको के हो ? थाहा थिएन । जब निधिजीको संगत गर्दै गयौं, तब राष्ट्रियता र समाजवादको अपरिहार्यताबारे पनि थाहा भयो । २०३६ सालको जनमतसंग्रहपछि त अलि खुला वातावरण बन्यो । बीपी पनि  जनकपुर आउनुभयो । 

    ० तपाई आफू पनि पक्राउ पर्नुभयो ?
    – धेरैपटक परेँ । हरेक दुई–चार महिनामा पक्राउ परिने भएकाले कतिपटक पक्राउ परेँ ? भन्ने याद छैन । पाँच–६ महिना जेल बस्ने, निस्कने, फेरि जेल बस्ने घटना त कति भए कति । त्यतिबेला जेल बस्दा नेताहरूको संगतले धेरै कुरा सिक्ने मौका पाइयो । देशभरका साथीहरूसँग चिनजान हुने मौका पाइयो । काठमाडौं, जलेश्वर जेलमा धेरै बसेँ ।

    ० तपाईहरू जस्ता कार्यकर्ताको योगदानको कारणले त देशमा प्रजातन्त्र आयो, लोकतान्त्रिक गणतन्त्र आयो, होइन र ? 
    – हाम्रो विश्वासमा जनता पनि लागेका कारण यो उपलब्धि सम्भव भएको हो । जनताले साथ दिएर आत्मबल नबढाइदिएको भए, जनताले हामीलाई मजबुत नबनाइदिएको भए कहाँ यत्रो परिवर्तन सम्भव थियो र ?   प्रतिबन्धितकालमा आन्दोलनताका त जनताले बढो सहयोग गरेका छन् नि । तराईमा नौलो लोग्ने मान्छेलाई घरभित्र पस्न दिने चलन छैन । आजभन्दा ३०–४० वर्ष अगाडि त झन् गाह्रो अवस्था थियो । तर कांग्रेसको मान्छे भन्नेवित्तिकै यो बीपी कोइरालाको अनुयायी हो, यो निधिजीको अनुयायी हो भनेर घरभित्र लगेर लुकाउँथे, जति दिन पनि पाल्न तयार हुन्थे । जनबल र जनविश्वास हाम्रो पछाडि थियो । त्यो विश्वास अहिलेसम्म कायम छ । 

    ० २०४६ सालमा आफ्नो मिसनअनुसार बहुदलीय व्यवस्था आएपछि कस्तो लाग्यो ? 
    – त्यो अत्यन्तै खुसीको क्षण थियो । बहुदलको घोषणा हुँदाको दिनसम्म हामी जेलमा थियौं । ११ बजे राति हामीलाई अदालतमा ल्यायो । के गर्न लगेको हो ? थाहा थिएन । यहीबीचमा विमलेन्द्रजीले कहीँबाट टेलिफोन गरेर खबर पठाइसक्नुभएको थियो, राजाले अब घोषणा गर्दैछन्, केही नयाँ कुरा हुन्छ भनेर । जेलभित्रै यो कुरा थाहा पाइसकेका थियौं । जेलभित्र त्यतिबेला प्रहरीले पनि समाचार दिन हामीलाई सहयोग गरेको हो । हामी अदालतको चौरमा बसेर रेडियोमा गीत सुनिरहेका थियौं । यहीबीचमा रेडियोबाट राजाले बहुदलको घोषणा गरेको समाचार आयो, त्यसपछि हामीलाई रिहा गरियो ।

    ० तपाई र विमलेन्द्र निधि त समकालीन जस्तै हुनु हुँदोरहेछ, होइन ? 
    – मभन्दा दुई–चार वर्ष सिनियर भए पनि हामी साथी जस्तै हौं । केटाकेटी उमेरदेखि नै संगत भयो उहाँसँग । सानैदेखि पढाइमा सधैं फस्ट हुनुहुन्थ्यो ।  राजनीतिमा पनि सधंै अगाडि हुनुभयो । २४ वर्षकै उमेरमा नेविसंघको केन्द्रीय अध्यक्ष बन्नुभयो । त्यसअघि नै जनकपुरको रारा बहुमुखी क्याम्पसमा स्ववियुको सभापति निर्वाचित भइसक्नुभएको थियो । पढाइमा मात्रै होइन, आफ्ना समकालीनको तुलनामा उहाँ राजनीतिमा पनि अहिलेसम्म फस्ट नै हुँदै जानुभएको छ । उहाँको शरीरमा बुबाको स्वस्थ रगत बगेको छ, साथै उहाँको दिमागमा पनि बुबाको विचार बगेको छ । आफ्ना पिताभन्दा पनि अझै परिस्कृत र युग सुहाउँदो नेता हुनुहुन्छ विमलेन्द्रजी । उहाँ यहाँ आएको बेला जनकपुर नै तरंगित हुने गर्छ, जसरी उहाँको बुबा बजारमा घुम्न निस्कँदा सारा जनकपुर तरंगित हुन्थ्यो । मैले विद्यार्थी हुँदादेखि नै मूल्यांकन गरेको थिएँ कि एकदिन अवश्य पनि विमलेन्द्रजीले यो मुलुकको बागडोर सम्हाल्नुहुनेछ, उहाँ अवश्य पनि प्रधानमन्त्री र नेपाली कांग्रेसको सभापति बन्नु हुनेछ । मैले त्यतिबेला गरेको अनुमानको नजिक विमलेन्द्रजी पुग्नुभएको देख्दा मलाई ज्यादै आनन्द लाग्ने गरेको छ ।

    ० विमलेन्द्रजीको कुन कुराले तपाईलाई प्रभाव पार्छ ?
    – उहाँ सानै उमेरदेखि तर्कशील हुनुहुन्थ्यो । हरेक घटनाको तुलना गरेर विश्लेषण गर्नुहुन्थ्यो । सूक्ष्म रूपमा अध्ययन गर्नुहुन्थ्यो, आफूले अध्ययन गरेर निकालेको निष्कर्ष साथीभाइलाई चित्त बुझाउने ढंगले सेयर गर्नुहुन्थ्यो । जुनसुकै विषयवस्तुमा पनि उहाँको पकड थियो । नाच्ने, गाउने र खेलकुदको क्षेत्रमा पनि विमलजी अगाडि नै हुनुहुन्थ्यो । आफ्नो त्यो प्रतिभालाई उहाँले अहिलेसम्म पनि निरन्तरता दिनुभएको छ । गहिरो अध्ययनका साथ योजना बनाउन उहाँ सक्षम हुनुहुन्छ । आफूले बनाएको योजनालाई कार्यान्वयन गर्ने संयन्त्र निर्माणमा पनि उहाँ अघि हुनुहुन्छ । उहाँको तर्कका अगाडि मुलुकका कुनै पनि नेताहरू टिक्न सक्दैनन् । भाषण उत्तिकै राम्रो गर्नुहुन्छ । लेखन कला त्यत्तिकै छ । उहाँको लेखन कला तिखोे छ । कार्यकर्तालाई नहुने र नसक्ने आश्वसन दिनुहुन्न । जनता तथा कार्यकर्तासँग ज्यादै सरल रूपमा प्रस्तुत हुनुहुन्छ । कहिलेकाँही रिसाउनु स्वाभाविकै हो, तर इगो लिनुहुन्न । 

    ० निधिजी यसपटक पनि चुनावी मैदानमा हुनुहुन्छ, अवस्था कस्तो देख्नु भएको छ ?
    – २०१५ साल र २०४८ सालमा यसै क्षेत्रबाट महेन्द्रनारायण निधिलाई जनताले जिताएका हुन् । २०५१ सालमा विमलेन्द्रजी यस क्षेत्रबाट चुनाव लड्नुभयो । भारी मतले जित्नुभयो । २०६४ र २०७० सालमा राम्रो मत अन्तरले चुनाव जित्नुभयो । यसपटक पनि उहाँले चुनाव जित्ने कुरामा शतप्रतिशत ढुक्क हुने अवस्था छ । यसबारे कुनै प्रश्न नगरे पनि हुन्छ, किनकि यो ठाउँ नै उहाँको हो । यो ठाउँ प्रजातन्त्रवादीको हो, नेपाली कांग्रेसको हो । विश्वको सबै ताकत खिलापमा लागे पनि निधिजीले चुनाव जित्नुहुन्छ । उहाँ यहीँको सरस्वति हाइस्कुलको विद्यार्थी हुनुहुन्छ, यही रारा बहुमुखी क्याम्पसको विद्यार्थी हुनुहुन्छ । उहाँको घर मिल्स एरियामा पनि छ, नगराइनमा पनि छ । यहाँको माटो र रुखपातले पनि निधिजीलाई चिन्छ ।  देशले नै चिन्ने निधिजीलाई जनकपुरको त के कुरा भयो र ? 
    यस सन्दर्भमा म एउटा घटना उल्लेख गर्न चाहन्छु । २०४८ सालको आमनिर्वाचनअघि प्रधानमन्त्री किशुनजीलाई भेट्न हामी जनकपुरका साथीहरू बालुवाटार पुगेका थियौं । हामीभन्दा धेरै सिनियर सीताराम साह हुनुहुन्थ्यो । उहाँ महेन्द्रनारायण निधिभन्दा जुनियर हुनुहुन्थ्यो । किशुनजी जस्तै उहाँ पनि पानको सौखिन हुनुहुन्थ्यो । बट्टै राख्नु हुन्थ्यो । उहाँलाई देख्नेवित्तिकै ए साहजी पान खिलाइए भनिहाल्नुहुन्थ्यो किशुनजी । त्यतिबेला टिकटको बारेमा कुरा भयो । सबैजना साथीहरूको बीचमै किशुनजीले भन्नुभयो– ‘महेन्द्रनारायण निधिलाई यसकारण जनकपुरबाट टिकट हुनुपर्छ, महेन्द्रनारायण को हो ? हिमालयका कन्दराका मान्छेले पनि चिन्छन् । जनकपुर भेगका नेपाली कांग्रेसका एक मात्र ठूला नेता निधि हुन् भन्ने कुरा मुलुकवासीलाई थाहा छ ।’ 
    नेविसंघको पनि नेतृत्व गर्ने अवसर पाएका कारण विमलेन्द्र निधिलाई मुलुकका कुनाकाप्चाकाले अझ बढी चिन्छन् । यो उमेरमै विमलेन्द्र निधि नेपाली कांग्रेसको कार्यवाहक सभापति, मुलुकको कार्यबाहक प्रधानमन्त्री भइसक्नुभएको छ । अब कन्फर्म सभापति र कन्फर्म प्रधानमन्त्रीको लाइनमा हुनुहुन्छ । यो अवसर भनेको निधिजीका लागि मात्रै नभएर जनकपुरका लागि प्राप्त हुने अवसर हो । जनकपुरबाट न यहाँ भन्दा पहिले कोही प्रधानमन्त्री भयो, न निधिबाहेक अरु कोही छिट्टै प्रधानमन्त्री हुने लाइनमा छ । मुलुकको पहिलो राष्ट्रपति रामवरण यादवका कारण जनकपुर गौरवान्वित छ । अब निधिका कारण पनि जनकपुर गौरवान्वित हुँदैछ ।  हिमालको कन्दरामा बस्ने नेपाली दाजुभाइले समेत निधिजीलाई भावी प्रधानमन्त्री र नेपाली कांग्रेसको भावी सभापतिका रूपमा हेर्नुभएको छ । सारा मुलुकबासीको इच्छालाई कदर गर्दै यसपटक पनि जनकपुरका जनताले निधिजीलाई भारी मत अन्तरले चुनाव जिताउने छन् । 

    ० सर्लाहीबाट आएका एक सामान्य व्यक्तिले निधिलाई चुनौती दिइरहेका छन् भन्ने चर्चा मुलुकका कुनाकन्दरामा पुगिरहेको छ नि ?
    – बाहिरबाट आएर कसैले हल्ला ग-यो भने उसका कुरा त सुनिहाल्छन् नि । निधिजीबारे मुलुकभरि चासो भएका कारण उनीविरुद्ध को चुनाव लड्दैछ ? भन्ने व्यक्तिबारे चर्चा हुनु स्वाभाविकै हो । एक महिनाका लागि त्यही चर्चा बटुल्न त उनी यहाँ आएका हुन् नि । सर्लाहीबाट कुनै हालतमा चुनाव हार्ने अवस्था आएपछि ठूलै मान्छेसँग हार्दा लाज बचाउन सकिन्छ भनेर उनी आएका हुन् । जनकपुरमा डमरु बजाएर जन्तर बेच्नेहरूकहाँ  ठूलो भीड लाग्ने गर्छ । नौटंकी हेर्न पनि त्यत्तिकै भीड लाग्ने गर्छ ।  बाहिरबाट आएकोे पाहुनालाई  लखेटिहाल्ने संस्कार जनकपुरवासीको छैन ।  तर पाहुनालाई आफ्नो घरको तालाचाबी दिइहाल्ने संस्कार पनि जनकपुरवासीको छैन । जनकपुरको तालाचाबी मै पाउँछु कि भन्ने भ्रममा उनी छन् । जनकपुरको संस्कार सुहाउँदो बोल्ने शैली पनि उनको छैन । उनको मुखबाट निस्केको शब्द उल्लेख गर्न पनि जनकपुरवासीलाई लाज लाग्छ । उनले बोलेको जवाफ फर्काउँदा मलाई आफ्नो स्तर घट्छ भन्ने डर पनि लाग्छ ।

  • प्रदेश २ मा को होला  मुख्यमन्त्री ?

    जनकपुर । निर्वाचनको मतपरिणामले प्रदेश नम्बर २ मा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीचको चुनावी तालमेलले नै…

  • आउने साता प्रदेश प्रमुखको नियुक्ति 

    काठमाडौं । सरकारले प्रदेश प्रमुखको नियुक्तिका लागि गृहकार्य अघि बढाएको छ । प्रदेश प्रमुखको नियुक्ति नगरेसम्म प्रदेश सरकार गठनको प्रक्रिया…

  • शीर्ष नेताको बारेमा गलत रिपोर्टिङ

    काठमाडौ । प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन भइरहँदा गृह मन्त्रालयका उच्च अधिकारीहरूले पार्टीका शीर्ष नेताहरूको मत आंकलनमा गलत रिपोर्टिङ गरेको पाइएको…

  • प्रधामन्त्रीलाई दिए गृहसचिवले धोका 

    काठमाडौं । प्रधामन्त्री तथा गृहमन्त्री शेरबहादुर देउवाले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनभर गृह मन्त्रालयको जिम्मा मन्त्रालयकै सचिवलाई छाड्दा धेरै धोका पाएका…

  • विजय गच्दारको विजयसँगै प्रत्यक्षतर्फ काँग्रेसको २३

    काठमाडौ । सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका उम्मेदवार  बिजयकुमार गच्छदार ३ सय २१ मतान्तरमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका…

  • निधि हार्दा क–कसलाई लाभ

    काठमाडौं । एमाले र माओवादीबीच चुनावी तालमेलको घोषणालगत्तै   विभिन्न मिडियाले स्थानीय निर्वाचनको मतपरिणामसँग तुलना गर्दै आंकलन गरेका थिए– ‘नेपाली…

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…