Page header hundai
  • दमननाथ ढुंगाना, नेपाली कांग्रेसका उम्मेदवार, भक्तपुर २  


    भक्तपुरमा तपाईको उम्मेदवारी जिल्लावासीका लागि सरप्राइज नै भयो नि ? 
    – भक्तपुरका लागि सरप्राइज होइन, तर मेरो उम्मेदवारी चाहिँ सरप्राइज हो । पार्टीले विश्वास ग¥यो भने काहीँ पनि मलाई टिकट दिन सक्छ । त्यसैले मेरो उम्मेदवारी सरप्राइज हो । कुन  ठाउँमा टिकट दियो ? ठाउँ सरप्राइज होइन । 

    तपाई लामो समयपछि फेरि चुनाव लड्दै हुनुहुन्छ, किन इच्छा देखाउनु भएको हो ? 
    – पार्टीले र मैले महसुस गरेको कुरा एउटै ठाउँमा आयो ।  प्रजातन्त्र शुद्धीकरण, शान्ति प्रक्रिया, नागरिक समाज, नागरिक अधिकार जुन लोकतन्त्रका आधार स्तम्भ हो, त्यसका लागि मैले निरन्तर काम गरिरहेको छु । म दलमा मात्र सक्रिय नभएको हो । प्रजातन्त्रका लागि काम गरिरहेको छु । म सक्रिय राजनीतिक जीवनमै छु, मात्र चुनाव नलडेको हुँ । अहिले मलाई विधिवत् सांसद हुने इच्छा र आकांक्षा जागेको छ । अर्को कुनै कारण छैन । सांसद भएर मुलुकको राजनीतिक परिस्थितिलाई सम्हाल्न सहयोग गर्ने चाहना मात्र हो । 
    मुलुकमा लोकतन्त्र सँगसँगै विकृति पनि आयो । लोकतन्त्रप्रति अहिले सबैको विश्वास जगाउनु परेको छ । लोकतन्त्रप्रति विश्वास नभएका पनि यसमा आएका छन् । तर तिनीहरूको प्रशिक्षण सर्वहारा अधिनायकवादको छ । लोकतान्त्रिक संस्कार बन्न सकेको छैन । हामी लोकतन्त्रवादी पनि यो भन्दा बढी लोकतन्त्रवादी हुनु परेको छ । आदर्श लोकतन्त्रवादी हुनुपरेको छ । हामी सच्चा लोकतन्त्रवादी भएपछि मात्र उनीहरूलाई हामीले लोकतन्त्रप्रति प्रोत्साहित गर्न सक्छौं । त्यसैले राष्ट्रनिर्माणका लागि लोकतान्त्रिक संस्कृति निर्माण गर्नु मेरो लक्ष्य हो । 
    बाहिर बसेर मैले जुन काम गरिरहेको छु, त्यो काम संसद्मै बसेर गर्दा विधिवत् हुन्छ भनेर म त्यहाँ जान लागेको हुँ । मैले जे सोचेको थिएँ, पार्टीले पनि त्यही सोचेको रहेछ । पार्टी र मेरो इच्छा मिल्यो । त्यसैले उम्मेदवारी दिने निर्णय गरेको हुँ । यो अवधिमा जनताको माझमा म नागरिक समाजको तर्फबाट नेतृत्व गर्दै गइरहेको थिएँ । अब सांसद भएर जनतालाई सम्बोधन गर्नुप¥यो भन्ने ठानेर उम्मेदवारी दिएको हुँ । संसद्मा गएँ भने मैले गरेको काममा धेरै वैधानिकता हुन्छ । 

    प्रतिनिधिसभाको उम्मेदवारी दिनुमा तपाईको चाहना बढी थियो कि पार्टीले नै प्रस्ताव गरेको हो ?
    – दुइटैको इच्छा सँगसँगै हो । मेरो पनि उम्मेदवारी दिने इच्छा थियो, पार्टीले पनि मलाई उम्मेदवार बन्न भन्यो । भक्तपुरमा उम्मेदवारी मेरो निर्णय र पार्टीको स्वीकृतिमा भएको हो । भक्तपुरका साथीहरूले पनि मलाई सम्पर्क गरिरहनुभएको थियो । उहाँहरूले पनि पार्टीका नेताहरूलाई भन्नुभएको रहेछ । नेतृत्वसँग सम्पर्क भएका भक्तपुरका केही साथीहरूको भनाइ र त्यसमा मेरो पनि चाहना मिल्यो । ठिक छ म भक्तपुरमा चुनाव लड्छु भनेर मैले पार्टी नेतृत्वलाई मञ्जुरी दिएको हुँ । भक्तपुर जिल्ला मलाई स्वीकार्य छ भनेपछि पार्टीबाट टिकट आएको हो । 

    तपाईले भक्तपुर बाट उम्मेदवारी दिने कुरा जिल्लाका जनतालाई अघिल्लो दिनसम्म पनि थाहा थिएन नि ?
    – मेरो उम्मेदवारीबारेमा पार्टीका साथीहरूले सोचिरहनुभएको छ भन्ने मलाई थाहा थियो । सम्भावनाको खोजी भइरहेको छ भन्ने पनि थाहा थियो । त्यो सम्भावनामा जुनसुकै क्षेत्र पनि पर्छ भन्ने मलाई लागेको थियो । 

    स्थानीय नेताहरूलाई मेरो उम्मेदवारी भक्तपुरमा हुँदैछ भनेर भन्नुभएको थियो ? 
    – मैले पार्टीमा मात्रै इच्छा जाहेर गरेको थिएँ, मेरो इच्छा पूरा गर्छ कि गर्दैन, त्यो थाहा नपाई मैले भन्ने कुरा त आएन नि । 

    तर तपाई काठमाडौंवासी हुनुहुन्छ नि  
    – म भक्तपुरको स्थानीयवासी हुँ । मेरो जग्गा जमिन त्यहीँ छ । मैले पढेको पनि भक्तपुर नै हो । 

    भक्तपुरको कुन ठाउँमा ?
    – भक्तपुरमा मेरो पुख्र्यौली जग्गा पाँच सात ठाउँमा छ । म भक्तपुरको अन्न खाएर हुर्केको हुँ । 

    तर तपाईको जन्म काठमाडौंमा भएको हो नि ?
    – म जन्मेको काठमाडौंको ओमबहालमा हो । तर मेरो जिन्दगीको पहिलो स्कुल पनि भक्तपुर नै हो । श्रीपद्मा हाइस्कुलको विद्यार्थी हुँ म । त्यहाँ मेरो दिदी हुनुहुन्थ्यो । भिनाजु त्यो स्कुलको मास्टर हुनुहुन्थ्यो । केटाकेटीमा पहिलो पटक त्यहाँ गएर पढेको हुँ । यसैगरी मैले भक्तपुरको विश्वविद्यार्थी निकेतनमा पनि पढें ।

    तपाई पढ्ने बेला ती स्कुल कुन ठाउँमा थिए ?
    – मैले पढ्दा भक्तपुरको पचपन्न झ्याले दरबार नजिकै त्यो स्कुल थियो, अहिले पनि त्यही ठाउँमा छ । 

    चुनाव जित्नुभयो भने भक्तपुरमै बस्नु हुन्छ त ?
    – साथीहरूले आग्रह गर्नुभयो भने भक्तपुरमा बस्छु । किन नबस्ने ? भक्तपुरमै बस्ने मेरो चाहना पनि छ । अब म त्यहीं घर बनाउँछु । पहिल्यै बनाउन लागेको थिएँ, ढिलो भएको हो । 

    अब मतदाता नामावलीमा नाम भक्तपुरमा राख्नु हुन्छ त ?
    – राख्छु किन नराख्ने ?

    भक्तपुरका कांग्रेस नेताहरूसँग तपाईको सम्पर्क कस्तो छ ?
    – उहाँहरूसँग मेरो निरन्तर कुराकानी भइरहेको छ । सहमति र सरसल्लाह भइरहेको छ । कांग्रेस भक्तपुर सभापति दुर्लभ थापालगायतका कांग्रेस नेटवर्कसँग काम गर्न सुरु गरिसकेको छु । जिल्ला सभापतिको नेतृत्वमा मेरो प्रचार अभियान सुरु  भइसकेको छ । 

    पार्टी जिल्ला सभापति दुर्लभ थापा असन्तुष्ट हुनुहुन्छ, प्रदेशसभाको टिकट पनि बहिष्कार गर्नुभयो भन्ने कुरा पनि आएको नि ?
    – त्यो अर्को पक्ष हो । उहाँ मेरो सभापति हो । उहाँको नेतृत्वमा मैले चुनावको प्रचार प्रसारको काम सुरु गरेको छु । 

    तपाईले फेरि सक्रिय राजनीति सुरु गर्नुभएको हो ?
    – उम्मेदवार भएपछि सक्रिय राजनीति सुरु भएको भन्नै प¥यो नि । पहिले पनि सक्रिय नै थिएँ । पार्टी नेतृत्वलाई नयाँ पुस्ताप्रति विश्वास गराउन पनि मेरो उम्मेदवारी हो । 

    चुनावको तयारी कस्तो भइरहेको छ ? 
    – तीव्र ढंगले चुनावको तयारी भएको छ । पहिलो चरणमा परिचयको कार्यक्रममा पुगेको छु । छिट्टै प्रचार प्रसारको दोस्रो चरण सुरु हुन्छ । 

    भक्तपुर जहाँ तपाईले उम्मेदवारी दिनुभएको छ, यस ठाउँमा हालै सम्पन्न स्थानीय चुनावा अन्तर्घातको कुरा आएको थियो अब फेरि त्यो सम्भावना देख्नु भएको कि छैन ?
    – त्यस्तो केही पनि छैन । मेरो उम्मेदवारीले एउटा साझा सहमतिको वातावरण बन्ने मैले विश्वास लिएको छु । मेरो उम्मेदवारीले जिल्लामा सहज रूप लिएको छ । देशभरबाट यसलाई सकारात्मक रूपमा लिएको पाएको छु । 

    भक्तपुरका केही स्थानीय नेता सन्तुष्ट देखिएका छैनन्, तिनीहरूलाई कसरी मिलाउनु हुन्छ ?
    – उहाँहरूको असन्तुष्टि स्भाभाविक हो । उहाँहरू पार्टीप्रति बफादार हुनुहन्छ । उहाँहरू सबै मेरो सहयोगी हुनुहुन्छ । यसमा म पूर्णरूपमा विश्वस्त छु । 

    तपाईको पक्षमा भक्तपुर कांग्रेस एक होला त ?
    – एक हुन्छ, भइसकेको छ । यसमा कुनै शंका छैन । 

    ०चुनावको प्रचारको तयारी कसरी गर्नुभएको छ ?
    – चुनावको प्रचारमा त्यहाँको सभापति र नेतृत्वले जसरी लैजान्छ, त्यसरी म हिँड्छु ।

    अहिले राजनीतिमा निष्ठा इमान्दारिता हराउँदै गएको पैसावाला, डन राजनीतिमा हाबी देखिएका छन् अहिलेको राजनीतिलाई तपाईले कसरी हेर्नुभएको छ ?
    – तपाईको प्रश्नले नै उत्तर दिइरहेको छ । निष्ठाको राजनीतिको जगमा मात्रै प्रजातन्त्र बलियो हुन्छ । २०६२÷६३ सालको परिवर्तन धेरै ठूलो परिवर्तन हो । यसलाई कसरी जनतामा पु¥याउने ? अहिले त्यो प्रश्न महत्वपूर्ण हो । लोकतन्त्रलाई जनतामा पुग्ने लोकतन्त्र बनाउनुपरेको छ । मेरो उम्मेदवारी त्यसैका लागि हो । 

    एमाले माओवादी केन्द्र मिलेर वामपन्थी गठबन्धन बनाएका छन्, यसले आगामी राजनीतिमा कस्तो प्रभाव पार्ला ?
    – निर्वाचनका लागि प्रोपोगन्डाको रूपमा धेरै ठाउँमा भन्नु  स्वाभाविकै हो । तर संविधानअनुसार हामी सबै लोकतन्त्रवादी हौं । कम्युनिस्टहरू पनि लोकतन्त्रवादी हुन्, तर उहाँहरूको व्यवहार र बोली लोकतन्त्र विरोधी देखिन्छ । 

    यसपटक कांग्रेसको अवस्था कस्तो होला ?
    – म पार्टीको उम्मेदवार हुँ । कांग्रेसले बहुमत ल्याउँछ । 

    २०४८ सालपछि चुनाव लड्दै हुनुहुन्छ, पहिले अहिले कस्तो परिस्थिति पाउनुभएको छ  ?
    – त्यसबेला र अहिलेको परिस्थिति फरक छ । दलभित्रको संस्कृति र हाम्रो सामाजिक संस्कृति पनि फेरिसकेको छ । त्यो बेला यत्रो विधि साधन थिएनन् । मोबाइल, इलेक्ट्रोनिक साधन थिएनन् । फोटोग्राफी थिएन, अहिले मान्छेपिच्छे फोटो खिचिरहेका छन् । २०४८ सालमा चुनाव लड्दका फोटो अहिले मसँग छैन, तर अहिले मान्छेसँग हातहातमा मोबाइल छ । त्यतिखेर र अहिलेको समाज भिन्न भइसकेको छ । संस्कृति पनि भिन्न भइसकेको छ । नयाँ पुस्ताको युवा समाज धेरैजसो दलमा सम्मिलित भइसकेको छ । पुरानो पुस्ता विस्तार विस्तारै किनारा लागेको छ या विश्राम लिँदै छ । 

    अहिले वामपन्थीले कांग्रेसलाई एक्लाउन खोजेका छन् मधेसमा पनि लोकतान्त्रिक गठबन्धन भएन कांग्रेस एक्लै चुनाव लड्दा फाइदा हुन्छ कि घाटा ?
    – फाइदा घाटाको कुरा होइन । कांग्रेसले गठबन्धनलाई व्यापक बनाउन लागेको हो । 

    लोकतान्त्रिक गठबन्धन किन बन्न सकेन त ?
    – गठबन्धन भएन भन्न मिल्दैन । मतदातामा अन्डरस्ट्यान्ड पनि हुन्छ । हेर्दै जानुस् ।

    कांग्रेसले अपेक्षा गरे जस्तो भोट ल्याउँछ त ?
    – मतदान हुन बाँकी नै छ । कांग्रेसको पुरानो बेस छ । मधेसी पार्टीहरू चुनावमा आए । उहाँहरूलाई हामी स्वागत गर्छांै । यो निर्वाचनमा कांग्रेसले राम्रो मत ल्याउँछ भन्नेमा म विश्वस्त छु ।  

     

Ghar Bheti Animal Nepal
  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…