Page header hundai

  • काठमाडौं । नेपाली कलाकारहरू आफूले अभिनय गरेका चलचित्र प्रमोसनमा त्यति खट्दैनन् । चलचित्र खेलेपछि हलसम्म नआइञ्जेलसम्म विदेशतिर अधिकांश कलाकार प्रमोसनमा लाग्छन् । त्यसका लागि उनीहरूसँग सम्झौता नै गरिएको हुन्छ । एउटा चलचित्र खेलेर हलमा नआइञ्जेल अरुमा खेल्न नपाउने, खेल्ने हो भने स्वीकृति लिनुपर्ने । तर, नेपालमा भने एउटा कलाकार एकै समय तीनदेखि चारवटा चलचित्रमा अभिनय गरिरहेको हुन्छ । चलचित्र खेलिसकेपछि आफू भूमिका सकिएको कलाकारले सोच्ने गरेका छन् । जसमा सानादेखि ठूला र नायकदेखि नायिका सबै पर्छन् ।
    जब लाखौं रुपैयाँ खर्च गरेर निर्माता निर्देशकले चलचित्र हलसम्म ल्याउन खोज्छ, तब प्रमोसनका लागि कलाकार नै सम्पर्कमा आइदिँदैनन् । सकेसम्म प्रमोसनमा नबोलाइदिए हुन्थ्यो भन्ने उनीहरूको सोच छ । सोही कारण ती कलाकारले अभिनय गरेका चलचित्रले व्यापारिक सफलता पाउने गरेको देखिन्न । जुन जुन कलाकार चलचित्रको प्रमोसनमा खटिएका छन्, ती सबैको चलचित्रले उल्लेख्य सफलता प्राप्त गरेको नजिर छ । ‘म यस्तो गीत गाउँछु’, ‘प्रेमगीत २’, ‘ए मेरो हजुर २’, ‘२ रुपैयाँ’, ‘छक्का पञ्जा २’ लगायतका जति पनि सफल चलचित्र छन्, ती चलचित्रमा अभिनय गर्ने कलाकार प्रमोसनमा निकै खटिएका छन् । आगामी कात्तिक ९ गते रिलिज हुन लागेको ‘ऐश्वर्य’ चलचित्रमा अभिनय गर्ने कलाकार पनि प्रमोसनमा निकै खटिएका छन् । चलचित्रको गीत हिट भइसकेकाले ‘ऐश्वर्य’ हिट हुने विश्लेषण गरिएको छ । चलचित्रमा अभिनय गर्ने रमेश उप्रेती, दीपिका प्रसाई, प्रशान्त ताम्राकार दिनरात प्रमोसनमा खटिएका छन् ।
    तर, आगामी लक्ष्मीपूजाको दिन कात्तिक २ गते रिलिज हुन लागेको दयाराम दाहाल निर्देशित ‘रानी’ चलचित्रकी नायिका विदेश हिँडेकी छन् । आफू अभिनित फिल्मको प्रचारप्रसारमा पर्याप्त समय नदिने मनिला मात्रै पहिलो कलाकार होइनन् ।
    निखिल उप्रेतीले ‘निर्भय’ र ‘राधे’ फिल्मको प्रमोसनमा साथ दिएका थिएनन् । त्यसैगरी, दयाहाङ राई र केकी अधिकारीले पनि ‘घामपानी’ फिल्मको प्रचारप्रसारमा त्यति समय व्यवस्थापन गरेका थिएनन् । शिल्पा पोखरेलले आफू अभिनित ‘वृन्दावन’ र ‘हामी शरणार्थी’ लाई पनि साथ दिइनन् । भुवन केसीले ‘ब्ल्याक डायरी’ को वास्ता गरेनन् भने ‘जय पर्श‘राम’ का लागि विराज भट्ट खटिएनन् ।
    पूर्वमिस नेपाल तथा अभिनेत्री मलिना जोशी अभिनित प्रदर्शनमा आएका कुनै फिल्म पनि सफल भएनन् । उनी अभिनित प्रतिक्षित फिल्म ‘रानी’ कात्तिक २ देखि प्रदर्शन हुँदै छ । तर, मलिना ‘वुमन इन कन्सर्ट युएस’ यात्रामा सहभागी हुन अमेरिका उडेकी छन् । रानीमा उनी प्रमुख भूमिकामा छिन् । निर्माता, निर्देशकले फिल्म प्रचारप्रसारमा मलिनाको साथ खोजेका छन् । तर, उनी अब फिल्म रिलिज भएपछि मात्रै स्वदेश फर्कनेछिन् । 
    ‘रानी’ मा मलिना दुई नवअभिनेता शारुख ताम्राकार र मनीष श्रेष्ठको केन्द्रमा छिन् । उनले रानीलाई विशेष रूपमा लिनुपर्ने थियो । तर, उनले त्यसो गरिनन् । यसअघि मलिना अभिनित ‘झुम्की’, ‘ऋतु’, ‘द विनर’, ‘संरक्षण’ र ‘लीला’ ले राम्रो व्यापार गर्न सकेनन् । रानीबाट भने उनले निकै आस गरेकी छन् । रानीबाट उनले आफूलाई अब्बल प्रमाणित गरिन् भनेचाहिँ केही वर्ष उनलाई फिल्मको अभाव नहुने अनुमान गर्न सकिन्छ ।

    रेखा र निर्देशक भुपाल सिंहबीच ‘शीतयुद्ध’
    अभिनेत्री रेखा थापाले निर्माण गरेको चलचित्र ‘रुद्रप्रिया’ पनि कात्तिक २ गते लक्ष्मीपूजाको अवसर पारेर देशभर एकसाथ प्रदर्शनमा आउन लागेको छ । चलचित्रलाई सेन्सर बोर्डले पीजी सर्टिफिकेट दिएको छ । चलचित्र हेर्ने अब १६ वर्षमुनिका बालबालिकालाई अभिभावकको साथ चाहिने छ । सेन्सरले कुनै पनि दृश्य नकाटेको र केही एक्सनको दृश्यका कारण पिजी दिएको चलचित्र अभिनेत्री थापाले बताइन् । 
    रेखा फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई रमेश एम पौडेलले निर्माण गरेका हुन् । सुदिप बबी भुषाल सिंहको निर्देशन रहेको चलचित्रमा रेखा थापा र आर्यन सिग्देलको साथमा राजन इशान, टिका पहारीलगायतका कलाकारको अभिनय रहेको छ । १ घन्टा ५५ मिनेट लामो ‘रुद्रप्रिया’ को प्रमोसनमा भने निर्देशक गायब भएका छन् । अन्य चलचित्रको प्रमोसनमा निर्माता निर्देशक बढी खटिने गरेका छन् भने ‘रुद्रप्रिया’ मा निर्देशक भुपाल सिंह बेपत्ता छन् । चलचित्रको सुटिङ सकिएपछि मिक्सिङदेखि सम्पादनका बेलासम्म आइुपग्दा रेखा र भुपाल सिंहबीच तिक्तता धेरै बढेको स्रोतको भनाइ छ । यसअघि ‘माला’ निर्देशन गरेका भुपाल सिंहले ‘रुद्रप्रिया’ मा पनि निकै राम्रो काम गरेको बताइन्छ । तर, रेखाको व्यवहारका कारण उनी दिक्क भएको र प्रमोसनमा नदेखिएको स्रोतले बतायो ।
    यसअघि पनि रेखाले निर्माण गरेको ‘हिम्मतवाली’ चलचित्रबाट निर्देशक श्याम भट्टराई बाहिरिएका थिए । चलचित्रको सुटिङको अन्तिम अन्तिम समय पुगेपछि भट्टराईले निर्देशन छाडेर हिँडेका थिए । त्यसपछि रेखा आफैंले बाँकी सुटिङ पूरा गरिन् । चलचित्रले राम्रो व्यापार गर्न सकेन । निर्देशकमा श्याम भट्टराईको नाम हटाएर रेखाले आफ्नै नाम पोस्टरमा राखिन् । श्याम अहिले अमेरिकामा छन् ।

    रोज राणालाई निर्देशक विवेक शर्माको टेन्सन
    असोज ११ गते प्रदर्शनमा आएको ‘मेरो पैसा खोइ’ पनि निर्माता निर्देशकको लफडामा परेको चलचित्र हो । सुटिङ सुरु भएको केही समयपछि नै निर्देशक विवेक शर्मा छाडेर मुम्बई हिँडेका थिए । उनी चर्चित बलिउड निर्देशक हुन् । यसअघि उनले ‘भूतनाथ’ र ‘भूतनाथ अंकल’ भन्ने हिन्दी चलचित्र निर्देशन गरेका थिए । ‘भूतनाथ’ मा अमिताभ बच्चन, शाहरुख खान, जुही चावला जस्ता कलाकारले अभिनय गरेका छन् । निर्माता रोज राणासँग द्वन्द्व बढेपछि शर्माले सुटिङ नै छाडेर हिँडेको बताइन्छ । पछि रोज आफैंले निर्देशनको पाटो सम्हालेका थिए । ‘मेरो पैसा खोइ’ मा सौगात मल्ल, वर्षा सिवाकोटी, बुद्धि तामाङ जस्ता चर्चित कलाकारले अभिनय गरेका छन् ।
     

Ghar Bheti Animal Nepal
  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…