Page header hundai
  • देशको ध्यान यिनै नेतामाथि


    पञ्चायतको नसा, प्रकाशमानविरुद्ध
    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग बदला लिने घोषणाका साथ रवीन्द्र मिश्र काठमाडौं क्षेत्र नम्बर १ मा चुनाव लड्दै छन् । उनले साझा विवेकशील पार्टीबाट उम्मेदवारी घोषणा गरेका हुन् । यो उनको निकै ठूलो आँट हो । २०४६ सालको आन्दोलनद्वारा बहुदलीय व्यवस्था स्थापना भएका बखत सर्वोच्च कमान्डर गणेशमान सिंहको सार्वजनिक रूपमा आलोचना गर्ने आँट यो मुलुकमा कसैले राख्थ्यो भने  रवीन्द्र मिश्रका बाबु मनुजबाबु मिश्रले राख्थे । राजदरबारमा चित्र कोर्ने जागिर खाएका मनुज पञ्चायत समाप्त भएकोमा तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहभन्दा पनि दुःखी थिए । बहुदलीय व्यवस्था नढलेसम्म घरबाट बाहिर ननिस्कने भन्दै गुप्तवास बसेका मिश्र २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र अपहरण गरेपछि मात्रै बाहिर निस्केका थिए । 
    प्रकाशमान र रवीन्द्र मिश्रको यो प्रतिस्पर्धालाई रगतको दुश्मनीका रूपमा पनि लिइएको छ । 
    गणेशमानको रगत र मनुजबाबुको रगतबीचको यो प्रतिस्पर्धामा यस्तै नतिजा आउँछ भन्न सक्ने अवस्था छैन । २०६४ र २०७० सालको संविधानसभा निर्वाचनको मत विश्लेषण गर्दा प्रकाशमानलाई हराउने ताकत कसैले राख्दैन । यी दुवै निर्वाचनमा प्रकाशमानले  ६० प्रतिशतभन्दा बढी मत हासिल गरेका थिए भने  बाँकी उम्मेदवारहरूले ४० प्रतिशतभन्दा कम मत हासिल गरेका थिए । तर गत स्थानीय निर्वाचनको परिणाम हेर्ने हो भने तीव्र प्रतिस्पर्धा देखिन्छ । यो निर्वाचन क्षेत्रमा महानगरपालिकाका चारवटा वडा पर्दछन् । 
    यो क्षेत्रका वडाबाट कांग्रेस मेयर उम्मेदवारले ६ हजार आठ सय, एमाले उम्मेदवारले आठ हजार दुई सय ६९ र माओवादीले एक हजार तीन सय १४ मत ल्याएका थिए । तर कांग्रेसकी उपमेयर उम्मेदवारले भने ११ हजार मत ल्याएकी थिइन् । विवेकशील र साझाका मेयरको मत जोड्दा सात हजार ६ सय ८० पुग्छ । यी दुई पार्टीले प्राप्त गरेको सात हजार ६ सयमध्ये ९० प्रतिशत मत कांग्रेसकै हो । 
    यी चारवटा वडामा एमाले र माओवादीका मेयर उम्मेदवारको मत जोड्दा कांग्रेसका उम्मेदवार राजुराज जोशीको मत करिब दुई हजार कम छ भने उपमेयरको मत दुई हजार बढी छ । तर एमाले मेयरको मतमा करिब १५ सय मत राप्रपाको पनि छ । यसैगरी, साझा पार्टीकी रञ्जु न्यौपाने र विवेकशील पार्टीका किशोर थापाको मत जोड्दा झन्डै कांग्रेसका मेयर उम्मेदवार राजु जोशीको भन्दा एक हजार बढी हुन्छ ।
    प्रतिगामी कित्ताको रणनीतिअनुसार रञ्जु र किशोर थापाले पाएको मतमा राप्रपाको मतसमेत जोडेर खसाल्न सकियो भने रवीन्द्र मिश्रले झिनो मतले चुनाव जित्नेछन् । तर यतिले मात्रै प्रकाशमानलाई हराउन सकिने अवस्था  उनीहरूले देखेका छ्रैनन् । यस क्षेत्रमा करिब २५ प्रतिशत नेवार समुदायका मत छन् । यी मत प्रकाशमानका भोट बैंक हुन् ।  कांग्रेसका गैरनेवार मत कटाउन हरिबोल भट्टराईलाई बागी उम्मेदवारका रूपमा उठाउने तारतम्य पनि सुरु भएको छ । ठूलै रकम नपाएसम्म हरिबोलले यो आँट गर्ने अवस्था छैन । २०४४ सालको पञ्चायती चुनावमा गणेशमानकै साथ पाएर हरिबोलले प्रधानपञ्चमा चुनाव जितेका थिए । यसैगरी, हरिबोल भट्टराई प्रकाशमान सिंहका मोही पनि हुन् । सानोतिनो पैसाको लोभमा उनले नमक हराम काम गर्ने सम्भावना कम छ । तीनतिर भोट बाँडिने भएकाले ३० प्रतिशत भोट ल्याए चुनाव जित्ने अवस्था छ । हरिबोल बागी उठे पनि ३० प्रतिशत भोट ल्याउने अवस्थामा प्रकाशमान छन् । नेपाली कांग्रेसको नेतृत्व लिन सक्ने सम्भावित यी नेताहरूको चुनावी अवस्थाका बारेमा देशैभर चासो रहेकाले अनुसन्धानात्मक यो विश्लेषण गरिएको हो ।

    तीनदेखि पाँच हजारको अन्तरमा निधि जित्दै
    अनेकथरी षड्यन्त्रका बाबजुद धनुषा क्षेत्र नम्बर ३ बाट सधैं चुनाव जित्दै आएका विमलेन्द्र निधिलाई भने यसपटक प्रकाशमानलाई जस्तो अप्ठेरो छैन । एक महिनाअघि सम्पन्न स्थानीय तहको निर्वाचनमा उनको क्षेत्रमा कांग्रेस, एमाले र मधेसी दलका उम्मेदवारले पाएको मत विश्लेषण गर्ने हो भने यसपटक निधिले विगतको जस्तो झिनो अन्तरले नभई निकै फराकिलो अन्तरले चुनाव जित्ने अवस्था देखिन्छ । मधेस, पहाड र हिमाल जोड्ने मेरुदण्डका रूपमा काम गर्दै आएका विमलेन्द्र निधिका विरुद्ध एमाले खनिनु त कारण होलान्, तर मधेसी मुद्दाको सधैं वकालत गर्ने उनीविरुद्ध मधेसी दलहरू लाग्नु चाहिँ आश्चर्यको विषय बनेको छ । कतिपयले उत्तरतिरबाट प्राप्त आरएमबीले चरित्रहीन मधेसी दलका नेतालाई प्रभावमा पारेको विश्लेषण पनि गरेका छन् ।
    निधिको निर्वाचन क्षेत्रमा रहेका सबै पालिकाका वडाहरूमा खसेको ५९ हजार चार सय ३३ मतमध्ये नेपाली कांग्रेसले १८ हजार पाँच सय ६६ मत पाएको छ । दोस्रोमा रहेको राजपाले १३ हजार तीन सय ३ मत पाएको छ । त्यस्तै, तेस्रोमा रहेको एमालेले १२ हजार चार सय ३९ मत पाएको छ । राजपासँग चुनावी तालमेल गर्ने निर्णय गरेको संघीय समाजवादी फोरमको यो क्षेत्रमा तीन हजार ६ सय ७५ मत रहेको छ । यी दुवैको मत जोड्दा पनि यो मत कांग्रेसको भन्दा एक हजार पाँच सय ८८ मत कम हुन्छ । 
    एमालेले गठबन्धन गर्ने निर्णय गरेको माओवादी केन्द्रको यो निर्वाचन क्षेत्रमा जम्मा दुई हजार एक सय ६८ मत मात्र छ । एमाले र माओवादी दुई पार्टीको मत जोड्दा पनि यो क्षेत्रमा उनीहरूको मत १४ हजार पाँच सय ८० मात्र हुन्छ । अर्थात् कांग्रेस एक्लैको भन्दा यो मत झन्डै चार हजार कम हो ।
    निधि निर्वाचन लड्ने धनुषा ३ मा जनकपुर उपमहनगरपालिकाका १८ वटा वडा (१, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १५, १६, २०, २३, २४ र २५) पर्छन् । त्यस्तै, विदेह नगरपालिका वडा नबर १, धनौजी गाउँपालिका, नगराइन नगरपालिका र मुखियापट्टी मुसहरमिया गाउँपालिका पर्छन् । स्थानीय निर्वाचनमा मुखियापट्टी मुसहरनियामा निधि समूहकै बीच उम्मेदवारको सवलमा मनमुटाव भएकाले एमालेले जितेको हो । यतिबेला दुवै पक्ष एक भइसकेका छन् ।
    क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने जनकपुर उपमहानगरपालिकाका १८ वटा वडामा  मेयर पदमा राजपाका उम्मेदवारले १० हजार चार सय मत प्राप्त गरेका थिए भने कांग्रेसका उम्मेदवारले नौ हजार मत प्राप्त गरेका थिए । १८ वटा वडामध्ये राजपाले १० र कांग्रेसले सात वडामा विजय हासिल गरेको थियो । एउटा वडामा स्वतन्त्र उम्मेदवारले निर्वाचन जितेका छन् ।  एउटा वडा पनि नजितेको एमालेका मेयरले दुई हजार सात सय मत प्राप्त गरेका छन् । संघीय समाजवादी फोरमले एक हजार २९ मत प्राप्त गरेको छ ।
    जनकपुर उपमहानगरबाहेकका अन्य दुई नगरपालिका र दुई गाउँपालिका गरेर जम्मा २१ वटा वडा यो निर्वाचन क्षेत्रमा पर्छन् । कांग्रेसले यी २१ वटा वडामध्ये आठवटामा जितेको छ भने एमालेले १० वटा वडामा जितेको छ । एउटा वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् भने राजपा र फोरम एक–एक वडामा विजयी भएका छन् । उपमहानगरबाहेकका वडामा खसेको सदर मत २८ हजार नौ सय ६९ मध्ये नेपाली कांग्रेसले नौ हजार ६ सय एक मत पाएको छ । एमालेले नौ हजार सात सय ३४ मत पाएको छ । राजपाको यी वडाहरूमा जम्मा दुई हजार आठ सय ७८ मत छ भने संघीय समाजवादी फोरमको दुई हजार ६ सय ४६ मत छ । यसरी विश्लेषण गर्दा नेता निधिले तीन हजारदेखि पाँच हजारको अन्तरमा चुनाव जित्ने देखिन्छ ।

    शशांकले पाँच हजार अन्तरमा चित्त बुझाउनुपर्ने
    नवलपरासी १ बाट २०६४ र २०७० को संविधानसभा निर्वाचनमा  प्रतिस्पर्धीभन्दा करिब दोब्वर भोट ल्याएर चुनाव जितेका कांग्रेस महामन्त्री डा.शशांक कोइराला विगतमा जस्तो फराकिलो मतअन्तरले चुनाव जित्ने अवस्थामा छैनन् । उनको निर्वाचन क्षेत्रअन्तर्गत पर्ने पालिकाहरूमा गत स्थानीय निर्वाचनमा कांग्रेस, एमाले र माओवादीले ल्याएको मत विश्लेषण गर्ने हो भने कोइरालाले करिब पाँच हजार मात्रै मतअन्तरले चुनाव जित्ने अवस्था छ । 
    २०७० सालको निर्वाचनमा कोइरालाले १८ हजार, एमाले उम्मेदवार दीपक अधिकारीले १२ हजार, राप्रपाका विक्रम पाण्डेले ६ हजार भोट ल्याएका थिए भने माओवादी उम्मेदवारले दुई हजार भोट ल्याएका थिए । त्यतिबेलाको क्षेत्र नम्बर २ को आधा भाग पनि अहिले क्षेत्र नम्बर १ मा गाभिएको छ । त्यतिबेला क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार जीवन श्रेष्ठले १६ हजार, कांग्रेसका महेन्द्रध्वज जिसीले १३ हजार र माओवादीका मोतीप्रसाद पंगालीले पाँच हजार भोट ल्याएका थिए । त्यो सबै भोटको विश्लेषण गर्दा शशांकको क्षेत्रमा नेपाली कांग्रेसको २५ हजार र एमाले–माओवादी गठबन्धनको पनि २५ हजार नै देखिन्छ । तर गत स्थानीय तहको निर्वाचनमा पालिकाहरूका वडाको मत विश्लेषण गर्दा एमाले–माओवादी गठबन्धनभन्दा नेपाली कांग्रेस पाँच हजार मतले अघि देखिन्छ । अर्थात् एमाले र माओवादीको गरी २४ हजार मत छ भने कांग्रेस एक्लैको २९ हजार मत छ ।

Ghar Bheti Animal Nepal
  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…