Page header hundai
  • डा.सुरेन्द्र केसी, राजनीतिक विश्लेषक


    त्रिभूवन विश्व विद्यालयका इतिहासका प्राध्यापक डा. सुरेन्द्र केसीले नेपालका कम्युनिष्ट पार्टीहरुको विषयमा विद्या वारिधि गरेका हुन् ।  नेपालको कम्युनिष्ट आन्दोलनका  उतार चडावका विषयमा सबै भन्दा जानकार मानिन्छन् डा. केसी । यस विषयमा उनका करिव एक दर्जन पुस्तक प्रकासित छन् । पत्रपत्रिकामा हजारौं आर्टिकल प्रकासित छन् । कम्युनिष्ट पार्टीबीच हुने एकीकरण तथा विभाजनका मामिलामा  विगत ३० दशक देखि उनले गरेका भविष्यावाणी मिल्दै आएका छन् । २०४७ सालमा मालेका तत्कालिन नेता मदन भण्डारीले बहुदलीय जनवादको अवधारणा ल्याउँदै गर्दा डा. केसीले कम्युनिष्ट पार्टीको एउटा झुण्ड बहुदलीय व्यवस्थाको खिलापमा लाग्ने  विश्लेषण गरेका थिए ।
       कम्युनिष्ट पार्टीहरुका नेताहरु मुलतः दरवारबाट संचालित हुनेगरेको विश्लेषण डा. केसीले गर्थे । गणतन्त्र स्थापना पछि  नेपालका कम्युनिष्ट  पार्टीहरुको बागडोर दिल्लीको हातमा पुग्ने विश्लेषणका साथ डा. केसीले थुप्रै लेखहरु लेखेका छन् । मुलुकका ठूला कम्युनिष्ट पार्टीहरु एमाले र माओवादीबीच पार्टी एकीकरणको लक्ष्य राख्दै चुनावी तालमेलको सहमति भएको छ । यस विषयमा डा. केसीको विश्लेषण के छ त ? प्रस्तुत छ तरुणका गरिएको कुराकानी ।

    ० अहिले जसरी वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन बनेको छ । यसले मुलुक दुई धु्रवमा धु्रवीकृत हुन लागेको हो ?
    – त्यतातिर मुलुक गएको हो, तर वाम गठबन्धन भन्ने मलाई लागेको छैन । केही घटकहरूले आफ्नो चुनावी व्यवस्थापनका लागि तालमेल गरेका हुन् । तर यो पनि विश्वसनीय हुन सक्दैन भन्ने मलाई लाग्छ । म सुन्दै छु, अहिले बाबुराम भट्टराईले पनि त्यहाँबाट छुट्टी लिइसके । त्यसैले यो खाली चुनावी तालमेलको मात्र कुरा हो । वाम गठबन्धनको कुरा होला जस्तो मलाई लाग्दैन ।

    ० तर यो गठबन्धनमा अन्य साना वामपन्थी दल राजमो र नेकपा (माले) पनि आउन खोजेका छ नि ?
    – सबै अस्तित्वको रक्षाको प्रश्नमा छन् । सबैलाई एउटा चुनावी वातावरण चाहिएको छ । आफ्नो पायकअनुसार सबै दल यताउति हुन खोजेका छन् ।  

    ० नेपालका सबै कम्युनिस्ट पार्टीहरू एक ठाउँमा आउन सक्छन् कि सक्दैनन्, तपाईलाई के लाग्छ ?
    – आउन नसक्ने कुरा त के भयो र ? तर ल्याउनेतिर भन्दा पनि आफ्नो चुनावी मोर्चाबन्दी बनाउन मात्र यो गठबन्धन भएको छ । सैद्धान्तिक व्यवस्थापनतर्फ यसको अभिमुखीकरण नै भएको मैले देखेको छैन ।

    ० सैद्धान्तिक रूपमा कम्युनिस्टहरू एक ठाउँमा आउन सक्दैनन् भन्न खोज्नु भएको हो ?
    – त्यो अर्को कुरा हो । यिनीहरू सैद्धान्तिक तत्व नै होइनन् भन्ने मेरो ठम्याइँ हो । 

    ० सैद्धान्तिक तत्व भनेको ?
    – यी दलहरु कम्युनिज्म सिद्धान्तमा छैनन् भन्ने मेरो बुझाई हो । यिनीहरूको अवसर र स्वार्थको गठजोड मात्र हो । त्यसैले विचारको कुरा अर्कै हो । यो त खाली  अवसरको व्यवस्थापन मात्र हो । चुनावी व्यवस्थापन खोजेका हुन् ।

    ० माओवादी र एमाले कम्युनिज्म नै होइनन् त ?
    – नेपालको समग्र कम्युनिस्ट आन्दोलन नै आधारभूत वर्गबाट उठेको नभई पढेलेखेको टाठाबाठाहरूको खेल हो भन्ने मेरो निष्कर्ष हो । 

    ० भनेपछि यो तालमेल चुनावमा भोट ल्याउने उपाए मात्र हो त ?
    – चुनावी व्यवस्थापनका लागि उनीहरूको तालमेल मात्र हो यो । यो कुनै गठजोड, गठबन्धनभन्दा पनि चुनावी तालमेलको अभ्यास हो । 

    ० नेपालमा कम्युनिस्ट सिद्धान्त बोकेका पार्टी नै छैनन् त ?
    – नेपालमा कम्युनिस्ट पार्टी कुनै पनि छैनन् । डेमोक्रेट पार्टीहरू पनि डेमोक्रेट छैनन् । खाली सत्ताको व्यवस्थापनका लागि एक ठाउँमा आएका झुण्ड मात्र हुन् । वामपन्थीहरूले हँसिया हथौडालाई टे«डमार्क बनाएका छन् । विचारमा समर्पित छैनन् भन्ने मेरो तर्क हो । 

    ० अहिले जुन गठबन्धन बनेको छ, यसले चुनावी परिणाम कस्तो आउला ?
    – अहिलेको गठबन्धनको हिसाबले त वाम पक्षमा नतिजा जान सक्नुपर्ने हो, तर जनताले नेताहरूको जुन अवसरवादी चरित्र छ, यसलाई कसरी लिइरहेका छन् ? त्यो भन्न सकिँदैन । मधेसको प्रश्नमा मधेसवादी दलहरूले जित्नुपर्ने हो, तर त्यहाँ कांग्रेसले जित्यो । त्यसैले नेपालको राजनीति अझै पनि एउटा संक्रमणकालमा छ र मतदाता पनि अन्योलमा छन् । त्यस्तो बेलामा उनीहरू कस्तो किसिमले प्रस्तुत हुन्छन् ? त्यो दाबी गरेर भन्न अहिले गाह्रो छ । 

    ० प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा लोकतान्त्रिक गठबन्धन बलियो होला कि वाम गठबन्धन ?
    – सरसर्ती हेर्दा वाम गठबन्धन बलियो हुने सम्भावना छ किनभने नेपालको मत वामपन्थीतिर झुकेको देखिन्छ । तर वामपन्थीको चरम अवसरवादी चरित्र अहिले जसरी आइरहेको छ, त्यसलाई जनताले सूक्ष्म रूपमा विश्लेषण गरिरहेका छन् । मतदाताहरू संक्रमणकालमा देखिन्छन् । संक्रमणकालमा यस्तै हुन्छ भनेर भन्न एकदमै कठिन हुन्छ । 

    ० दुवै गठबन्धन सफल होला कि नहोला ?
    – गठबन्धन चरम अवसरवादमा आधारित भएको देखिन्छ । भोलि कुन पक्ष कहाँ गोलबद्ध हुने हो ? त्यो पनि भन्न सकिँदैन । आफूले भनेको जस्तो नहुनेवित्तिकै ऊ भड्किन्छ । जस्तो कि बाबुराम भट्टराई भड्किए । यस्ता उदाहरण छन् । लोकतान्त्रिक गठबन्धनमा पनि आफूले भने जस्तो भएन, सिट पाइएन भने भड्किने सम्भावना रहन्छ । 

    ० तर केहीले एमाले र माओवादी केन्द्रको मिलन चुनावी तालमेलका लागि मात्र हो, चुनावपछि यी दुई पार्टी एक हुनै सक्दैनन् भन्छन्, तपाईलाई कस्तो लाग्छ ?
    – त्यो चाहिँ चुनावको परिणामले निदृष्ट गर्छ । चुनावको परिणाम दुवै दलको पक्षमा भयो भने उनीहरू एकताको चरणसम्म अगाडि बढ्छन्, तर चुनावको परिणाम प्रतिकूल भयो भने उनीहरू बीचबाटै भड्किन सक्छन् । बाबुरामको जस्तो  नतिजा कुनै पनि दिन आउन सक्छ ।

    ० मोहन वैद्यको कम्युनिस्ट पार्टी पनि यसटक चुनामवा जाने लागेको छ नि ?
    – मोहन वैद्यको कम्युनिस्ट पार्टी जाने भनेको छ, तर त्यसको कुनै तात्विक उपस्थिति हुँदैन । किनभने उनीहरू चुनावी प्रक्रियाबाट अलगथलग भइसकेका छन् । 

    ० तर नेमकिपा एक्लै चुनावमा जान खोजको छ । सानातिना पार्टी एक्लै चुनावमा गए जित्न सक्लान् र ?
    – रोहितले एक ठाउँमा जित्न सक्लान् । अरु सानातिना वाम उम्मेदवारहरूले नेपालभर कहीँ पनि जित्ने ठाउँ छैन । 

    ० माओवादी अहिले सरकार र प्रतिपक्षी दलसँग गठबन्धनमा पनि छ, नैतिक रूपमा माओवादीले यस्तो गर्नु हुँदैनथ्यो भन्ने कुरा पनि आएको छ नि ?
    – यो चरम अवसरवाद हो । संसदीय व्यवस्थामा सत्ता गठबन्धनले प्रमुख प्रतिपक्षी दलसँग कुनै पनि किसिमको तालमेल गर्दैनन् । तर यहाँ सत्ताको प्रश्नमा कांग्रेससँग तालमेल गर्ने, चुनावको प्रश्नमा प्रमुख प्रतिपक्षी दलसँग तालमेल गर्ने नीति माओवादीले ल्यायो, यो झनै डरलाग्दो अवसरवाद हो । 

    ० प्रधानमन्त्रीले माओवादी केन्द्रबाट प्रतिनिधित्व गरेका मन्त्रीहरूलाई सरकारबाट हटाउन सक्छ कि सक्दैनन् ?
    – संसदीय व्यवस्थामा प्रधानमन्त्रीसँग त्यो विशेषअधिकार हुन्छ, तर नैतिक जवाफदेहिता र राजनीतिक जवाफदेहिता पनि चाहिन्छ । 

    ० अहिले गरिएको मन्त्रिपरिषद् विस्तारलाई एमाले र माओवादी केन्द्रले विरोध गरेका छन् । आचारसंहिता बाहिर हो भनिरहेका छन् । प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्न सक्छन् कि सक्दैनन् ?
    – संसदीय व्यवस्थामा प्रधानमन्त्रीसँग त्यो अधिकार हुन्छ । तर त्यसको नैतिक र राजनीतिक जवाफदेहिता पनि चाहिन्छ । त्यो प्रधानमन्त्रीसँग भएको म पाउँदिन किनभने आफ्नै सरकारको प्रमुख गठबन्धन प्रमुख प्रतिपक्षी दलसँग मिलेको छ । तिनलाई उनले निकाल्नुपर्नेमा निकाल्न सकेका छैनन् । ननिकाल्दै एक प्रकारले भेडाबाख्रा जस्तो मन्त्रीको ठूलो संख्या निर्माण गरेका छन् । यसमा प्रधानमन्त्रीसँग नैतिक संकट भएको मैले देख्छु । तर पनि संसदीय व्यवस्थामा प्रधानमन्त्रीसँग सरकार विस्तार गर्ने विशेष अधिकार हुन्छ ।

    ० अहिले बनेको वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले राजनीतिक परिस्थित  फेरिएको हो ? 
    – चरित्रगत दृष्टिकोणले राजनीति जहाँको त्यहीँ छ । खेलोफड्को इत्यादि यिनीहरूले गर्दैछन् । जनताले यसपटकको मतदानमा यो खाले प्रवृत्तिलाई  दुरुत्साहित गरिदिए भने यो उनीहरूको अन्तिम अभ्यास हुन्छ । त्यसैले मतदातहरूले के गर्छन् ? त्यसैमा यिनीहरूको भविष्य निर्धारण गर्छ । 

    ० अहिले साना पार्टीहरू हराउन थाले । ठूला ठूला पार्टी मात्र रहन थाले । साना पार्टीहरू ठूला पार्टीहरूसँग एकीकृत हुन थालेका छन्, यसलाई कसरी हेर्नुभएको छ ? 
    – साना पार्टीहरूले दोकान जस्तो चलाइरहेका थिए । आफ्ना श्रीमतीलाई मन्त्री बनाउने, सभासद् बनाउने घीनलाग्दो खेल उनीहरूको तर्फबाट भइरहेको थियो । यस्तो खालको प्रवृत्ति बढारिनु राजनीतिका लागि राम्रो हो । 

    ० यो चुनावमा क्षेत्रीय पार्टीहरू आउने सम्भावना हुन्छ कि हँुदैन ?
    – त्यो सम्भावना थियो । तर क्षेत्रीय मुद्दाहरूलाई दुरुपयोग गरेपछि स्थानीय निर्वाचनमा क्षेत्रीय पार्टीहरूको कस्तो हालत भयो ? सबैले देखेका छन् । नेपाली जनता क्षेत्रीय र जातीय राजनीतिको पक्षमा पनि नेपाली जनता छैनन् भन्ने देखिएको छ । मूलप्रवाहको राजनीतिको पक्षमा नेपाली जनता छन् भन्ने यसपटकको चुनावको परिणामले देखाएको छ । यो हिसाबले मूलप्रवाहका राजनीतिक दलहरू नै बलियो हुने र क्षेत्रीय र सामाजिक मुद्दाहरू किनारा लाग्ने जस्तो देखिन्छ । 

    ० अहिले विभिन्न दलमा जो जो टिकटका लागि सिफारिस भएका छन्, त्यसमा पैसावाला, गुण्डा, ठेकेदार हाबी भएका देखिन्छन् । निष्ठाको राजनीति सकिँदै जान लागेको हो ?
    – निष्ठाको राजनीतिक रामहरि जोशीको मृत्यु र भीमबहादुर तामाङको अवसानपछि सिद्धिसक्यो । अब नेपालको राजनीति डन र गुण्डाहरूको हुने भयो । 

    ० राजनीतिमा नैतिकता, मूल्य र मान्यता पनि हराउन थालेको हो ?
    – नैतिकता, मूल्य र मान्यता नेपालको राजनीतिमा कहिले पनि आकृष्ट भएन । तपाईले पूरा राजनीति हेर्नुभयो भने विदेशी, पैसाका लागि काम गर्ने, स्वार्थका लागि लाग्ने र श्रीमतीहरूलाई हालीमुहाली गराउनेहरूकै अस्तित्व नेपालको राजनीतिमा देखिन्छ । 

    ० आगामी चुनावमा कुनै एक पार्टीले बहुमत ल्याउने स्थिति देख्नुभएको छ ?
    – जनताले कसरी हेरेका छन् ? त्यसमा भर पर्छ । यो चलखेल बढी भयो । चलखेल बढी भएकाले असामाजिक पक्षलाई कमजोर बनाउनुपर्छ र राजनीतिलाई मूलप्रवाहमा ल्याउनुपर्छ भन्ने जनताको मुड बन्यो भने त्यो सम्भावना पनि छ । होइन भने उनीहरूले अहिले जुन प्रणाली अवलम्बन गरेका छन्, त्यो प्रणालीअनुसार कसैले कहिल्यै पनि बहुमत ल्याउँदैनन् । तर पनि जनताको निर्णय हेर्न बाँकी नै छ । 

    ० भनेपछि फेरि पनि संयुक्त सरकार बनिरहने स्थिति छ, होइन ?
    – बहुमतको सरकार बन्दैन भन्ने नै छ  । जस्तो प्रमुख प्रतपक्षीको त बहुमत नबन्ने नै भयो । किनभने ६०÷४० गर्नेवित्तिकै प्रमुख प्रतिपक्षको पक्षमा बहुमत नहुने प्रस्ट देखिएको छ । सत्ता पक्ष कांग्रेस छ, यसले राप्रपालाई बोकेर हिँड्ने जुन दुष्सप्रयास गरेको छ, यसलाई पनि दण्डित गर्नुपर्छ भन्ने जनताले ठाने भने सत्ता पक्षले पनि बहुमत ल्याउँदैन । व्यक्तिगत रूपमा सबै दलका असल मान्छेहरू विजयी भएर आउने सम्भावना छ । सामूहिक रूपमा राजनीतिक दलहरू बढारिन सक्ने सम्भावना पनि छ । बहुदलीय व्यवस्थामा जनता नै न्यायाधीश हुन्छन् । न्यायाधीशको फैसला पर्खेर बस्न पर्ने भयो ।


    वरिष्ठ र स्थापित प्राध्यापक हुँ

     

    ० तपाईलाई स्वतन्त्र बाम बुद्धिजीवी भन्न मिल्छ ?
    – म वाम बुद्धिजीवी होइन । विश्वविद्यालयको प्रोफेसर हुँ । वाम बुद्धिजीवी भनेर तपाईहरूले लगाइदिएको टीका हो यो ।  

    ० त्रिभुवन विश्वविद्यालयको प्रोफेसर मात्र भन्ने त ?
    – त्रिभुवन विश्वविद्यालयको प्रोफेसर मात्र होइन, सबैभन्दा वरिष्ठ र स्थापित प्राध्यापक पनि हुँ । 

    ० तपाईंलाई राजनीतिकर्मी भन्न मिल्छ कि मिल्दैन ?
    – म राजनीतिकर्मी कहाँ हुँ ? विश्वविद्यालयको प्राध्यापक पनि कहीँ राजनीतिक  हुन्छ र ?

    ० राजनीतिक विश्लेषक भन्न सकियो, होइन ?
    – राजनीतिक विश्लेषक, इतिहासविद्, चिन्तक जे भने पनि तपाईको पायकअनुसार भन्न सक्नु हुन्छ 

    ० वाममन्थी भन्न मिलेन ?
    – वामपन्थी किन भन्ने ? विश्वविद्यालयको प्राध्यापक पनि वामपन्थी र आमपन्थी भन्ने हुन्छ र ?

    ० तपाई कुनै समय कम्युनिस्ट विचारधारसँग आबद्ध हुनुहुन्थ्यो नि ?
    – आबद्ध थिएँ । सुरुमा म अखिलको कार्यकर्ता थिएँ । पेसामा लागेपछि अनुसन्धानदाता भएँ । अहिले प्राध्यापक छु । 

    ० भनेपछि कम्युनिस्ट पार्टी छाडिसक्नु भयो ?
    – कम्युनिस्ट पार्टीको जनवर्गीय संगठनमा आबद्ध थिएँ । कम्युनिस्ट छाडेको या नछाडेको भन्दा पनि म २०३५÷३६ सालमा अखिलको कार्यकर्ता थिएँ । त्यतिबेला त्यसलाई माले भन्थे । म आबद्ध भएको अखिल मालेको जनवर्गीय संगठन थियो । त्यतिखेरको माले अहिले एमाले भएको छ । त्यसपछि म प्राध्यापन पेसामा लागें । राजनीतिबाट छुट्टिएँ । प्राध्यापनतिर लागेपछि पार्टीसँग मेरो संलग्नता रहेन । 

    ० अहिले स्वतन्त्र भएँ भन्न खोज्नु भएको हो ?
    – मलाई प्राध्यापक मात्र भने भइहाल्यो नि । त्यत्रो स्टाटसलाई किन बेवास्ता गर्ने ?
     

Ghar Bheti Animal Nepal
  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…