Page header hundai
  • वीरगन्जदेखि चन्द्रपुर नगरपालिकासम्म कांग्रेस–एमालेबीच कडा प्रतिस्पर्धा


    काठमाडौं । प्रदेश नम्बर २ मा राजनीतिक प्रभाव भएका सबै पार्टीका केन्द्रीय नेताहरू वीरगन्ज र जनकपुरमा मुकाम बनाएर चुनावी माहोल आफ्नो पक्षमा पार्न खटिएका छन् । आगामी असोज २ गते चुनाव हुन गइरहेका १३६ वटै पालिकामा नेपाली कांग्रेसले प्रमुख पदमा उम्मेदवार उठाएको छ भने तीनवटा पालिकाको उपप्रमुख माओवादीका निम्ति छाडिदिएको छ । 
    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि प्रायः सबै पालिकामा उम्मेदवार उठाएको छ । माओवादी, राजपा, संघीय समाजवादी फोरम र लोकतान्त्रिक फोरमले पनि ८० प्रतिशतभन्दा बढी पालिकाको प्रमुख पदमा आफ्ना उम्मेदवार खडा गरेका छन् । पहाडिया समुदायको बाहुल्यता भएका महेन्द्र राजमार्ग आसपासका पालिकाहरूमा मधेसी दल राजपाले केहीमा बाहेक धेरैमा उम्मेदवार खडा गरेको छैन । विजयकुमार गच्छदार नेतृवको लोकतान्त्रिक फोरमले पहाडी समुदाय बाहुल राजमार्ग आसपासमा पालिकामा पनि उम्मेदवार खडा गरेको छ ।
    खासगरी प्रदेश २ का सम्भावित राजधानी वीरगन्ज महानगरपालिका र जनकपुर उपमहानगरपालिका, राजमार्ग आसपासका नयाँ सहर भएका नगरपालिका र जिल्ला सदरमुकाम भएका नगरपालिकामा ठूला पार्टीहरूको ध्यान केन्द्रित देखिएको छ । प्रदेश २ का करिब करिब आधा जनसंख्याको बसोवास यिनै पालिकाहरूमा छ । जितपुर–सिमारा, निजगढ, चन्द्रपुर, हरिवन, लालबन्दी, बाग्मती (कर्मैया), बर्दिवास र लहान द्रुतगतिमा विकास भइरहेका नयाँ सहरहरू हुन् । यीमध्ये लहानबाहेक अरु सहरमा पहाडिया समुदायको ८० देखि ९५ प्रतिशतसम्म वर्चस्व छ । कलैया, गौर, मलंगवा, जलेश्वर, सिरहा र राजविराज जिल्ला सदरमुकाम रहेका नगर हुन् । यी नगरमा मधेसी समुदायको ९० देखि ९८ प्रतिशतसम्म वर्चश्व छ । 
    राजमार्ग आसपासका पालिका र जिल्ला सदरमुकाम रहेका पालिकामा पृथक् पृथक् खालका समस्या छन् । राजमार्ग आसपासका पालिकाहरूको मुख्य चुनौती भनेको अव्यवस्थित सहरीकरण तथा जनसंख्याको तीव्र वृद्धि हो । मधेसी आन्दोलनपछि दक्षिणी क्षेत्रका पहाडियाहरू राजमार्ग आसपासका पालिकामा बसाइँ सरेका कारण व्यवस्थित सहरीकरणको समस्या देखिएको हो । जिल्ला सदरमुकाम रहेका पालिकाहरूमा सहरको अस्तित्व रक्षा नै मुख्य चुनौती हो । जिल्ला सदरमुकामका सरकारी कार्यालयहरू गाउँपालिकाको केन्द्रमा सर्ने भएकाले कलैया, गौर, मलंगवा, जलेश्वर, सिरहा र राजविराजको अस्तित्व संकटमा पर्ने सम्भावना छ । यही सम्भावनालाई रोक्न सबै दलका उम्मेदवारहरूले मतदातासमक्ष विकल्प पेस गर्नुपर्ने छ । तर तीन महिनाभित्र लामखुट्टे उन्मूलन गर्ने, सडकका खाल्डाखुल्डी पुर्नेलगायतबाहेक आफ्नो पालिकाको दिगो विकासका कार्यक्रम उम्मेदवारहरूले प्रस्तुत गर्न सकिरहेका छैनन् ।
    सबै पार्टीका निम्ति चुनाव जित्नै पर्ने बाध्यता र स्थानीयस्तरमा राजनीति गर्ने नेता तथा कार्यकर्ताका लागि उम्मेदवार बन्नै पर्ने बाध्यता रहेका कारण उम्मेदवार चयनदेखि नै प्रदेश २ मा चुनावी माहाल निकै तातेको थियो । उम्मेदवार मनोनयनअघि र पछिको दृश्यमा केही परिर्वतन देखिएको छ । एउटा पार्टीले टिकट नदिए अर्को पार्टीबाट उम्मेदवार बन्ने विकल्पलाई  ठूल्ठूला हस्तीहरूले समेत प्रयोग गरेका कारण निर्वाचनको माहोल प्रदूषित बनेको हो । खासगरी नेपाली कांग्रेस र ६ वटा मधेसी दल मिलेर बनेको राजपामा उम्मेदवारका आकांक्षी निकै धेरै थिए । टिकट नपाउने आकांक्षीहरूले अन्य पार्टीबाट उम्मेदवारी दिएको र अन्तर्घातको समेत चेतावनी दिएका कारण नेपाली कांग्रेस र राजपाको अवस्था सोचे जस्तो देखिएको छैन । पहिलो र दोस्रो चरणको निर्वाचनमा एमालेले पारेको अन्तरको परिपूर्ति गर्न नेपाली कांग्रेसलाई धेरै नै मिहेनत गर्नुपर्ने अवस्था उत्पन्न भएको छ । टिकट वितरणपछि वीरगन्ज र जनकपुरमा उत्पन्न भएको असन्तुष्टि समाधान गर्न नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइराला र पूर्वमहामन्त्री विमलेन्द्र निधि फिल्डमा खटिएका छन् । मुख्य नगरहरूमा केन्द्रीय नेताको ध्यान केन्द्रित हुँदा साना नगर तथा वडाहरू लुज हुने आशंका पनि कांग्रेसभित्र गरिएको छ । 
    १३६ पालिकामध्ये उत्तरी क्षेत्रका पालिकाहरूमा नेपाली कांग्रेससँग एमालेले मुख्य प्रतिस्पर्धा गर्ने अवस्था छ भने दक्षिण क्षेत्रका अधिकांश पालिकामा नेपाली कांग्रेससँग मधेसी दलकै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । 

    वीरगन्ज महानगरपालिका
    प्रदेश २ को एक मात्र महानगर पालिका भएकाले वीरगन्जलाई सबै पार्टीले महत्व दिएका छन् । करिब एक लाख ८ हजार मतदाता रहे पनि बलिया उम्मेदवारहरू धेरै भएका कारण २० हजार मत कटाउने उम्मेदवारले चुनाव जित्ने अवस्था छ । खासगरी ६ वटा पार्टीका उम्मेदवारहरूले २० हजार मत कटाउने दाबी गरिरहेका छन् । क्रियाशील सदस्य तथा सक्रिय कार्यकर्ताहरूको टाउको गन्दा पनि २५ हजार भोट पुग्ने देखिएकाले नेपाली कांग्रेसका अजय द्विवेदी ढुक्क देखिएका छन् । नेपाली कांग्रेसको आन्तरिक असन्तुष्टि समाधान भयो भने द्विवेदीलाई चुनाव जित्न गाह्रो छैन । २०३९ सालयता भएका स्थानीय निर्वाचनमा एकपटक बाहेक सधंै चुनाव जित्दै आएका विमलकुमार श्रीवास्तव फोरम लोकतान्त्रिकबाट मेयर पदको उम्मेदवार बनेका छन् । ६–७ हजार मत उनको व्यक्तिगत पकडमा भएको अनुमान गरिएको छ । 
    पछिल्लो मधेस आन्दोलनका कारण वीरगन्जमा राजपाको शक्ति केही बढेको छ । राजपाले राजेशमान सिंहलाई अघि सारेको छ । प्रतिस्पर्धीमध्ये उनी मात्रै पहाडिया समुदायका हुन् । वीरगन्जमा पहाडिया समुदायको मत करिब १५ प्रतिशत रहेको छ । मधेसी दलका तर्फबाट चुनाव लडेका कारण उनले कि निकै धेरै मत ल्याउने कि त जमानत जोगाउन नै धौ धौ पर्ने अवस्था आउने अनुमान धेरैले गरेका छन् । व्यापारी तथा व्यवसायीमा धेरै राम्रो पकड भएका विजय सरावगीलाई संघीय समाजवादी फोरमले उम्मेदवार बनाएको छ । वीरगन्जमा व्यापारीहरूको मत निकै ठूलो रहेको र  सामाजिक क्षेत्रमा पनि सक्रिय भएका कारण सरावगी बलिया उम्मेदवार हुन् र उनैसँग काँग्रेसको प्रतिश्पर्धा हुने देखिन्छ । एमालेले नवधनाढ्य बसरुद्धिन अन्सारीलाई उम्मेदवार बनाएको छ । करिब २० प्रतिशत मतदाता मुसलमान रहेका कारण बसरुद्धिन कमजोर उम्मेदवार भने होइनन् । एमालेको पार्टीगत मतमा मुस्लिम मत थपिने भएका कारण कांग्रेसका द्विवेदीसँग उनैले प्रतिस्पर्धा गर्ने सम्भावना पनि देखिएको छ । तर माओवादीले पनि मेडिकल व्यापारको फिल्डकै मुस्लिम युवालाई उम्मेदवार बनाएको छ । मुस्लिम मत बाँडियो भने एमालेका उम्मेदवार अन्सारीको पोजिसन विमल श्रीवास्तवपछि पाँचौमा पुग्ने सम्भावना पनि त्यत्तिकै छ ।
      
    जितपुर–सिमारा उपमहानगरपालिका
    नगरपालिका भएको छोटो समयमै उपमहानगरपालिका बनेको जितपुर–सिमारा इटहरी जस्तै सम्भावना बोकेको क्षेत्र हो । जसरी इटहरीले  विराटनगरलाई तानेको छ, त्यसरी नै जितपुर–सिमाराले वीरगन्जलाई तानिरहेको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं–तराई द्रुतमार्ग सम्पन्न हुने क्रममा रहेका कारण जितपुर–सिमाराले केही वर्षभित्रै  वीरगन्जलाई उछिन्ने कुरामा सन्देह छैन । मुलुककै सबैभन्दा ठूलो औद्योगिक कोरिडोर पनि यही क्षेत्र भएका कारण नेपाली कांग्रेस र एमालेको मुख्य ध्यान यो उपमहानगरपालिका हात पार्न केन्द्रीत छ । माओवादीको खासै संगठन छैन ।
    ५७ हजार मतदाता रहेको यो उपमहानगरमा ५५ प्रतिशतभन्दा बढी वर्चश्व पहाडिया समुदायको भएका कारण मधेसी दलहरूले चुनाव जित्ने आशा गरेका छैनन् । तर मधेसी दलको भूमिका निर्णायक हुने देखिएको छ ।   मधेसी दलले कांग्रेस र एमालेमध्ये जुन पार्टीलाई साथ दिन्छन्, उसैले चुनाव जित्ने अवस्था छ । नेपाली कांग्रेसले मधेसी समुदायका नेता कृष्णव्रत सिंहलाई उम्मेदवार बनाएको छ भने एमालेले पहाडी समुदायका नेता डा.कृष्ण पौडेललाई उम्मेदवार बनाएको छ । माओवादीले अघि सारेका युवा नेता राजन पौडेल पनि व्यक्तिगत रूपमा लोकप्रिय छन् । विगतमा माओवादीबाट लखेटिएकाहरू र मधेस आन्दोलनबाट लखेटिएकाहरूको मत उल्लेख्य रहेका कारण चुनाव जित्ने आशा एमालेले गरेको छ । कांग्रेसका कृष्णब्रत जितपुर गाविसका पूर्व अध्यक्ष हुन् । सरल स्वभावका कृष्णब्रत स्थानिय स्तरमा निकै लोकप्रिय छन् ।

    निजगढ नगरपालिका
    पञ्चायतकालदेखि नै एमालेको निकै पकड रहेको निजगढमा नेपाली कांग्रेसको अवस्था सुधार भएको संविधानसभाको गत निर्वाचनदेखि हो ।  एमाले तथा राप्रपाका कार्यकर्तालाई पार्टीभित्र हुलेर र पार्टीको ब्यानरमा थुप्रै सामाजिक काम गरेर शम्भु बुढाथोकी, पेमा लामालगायतका युवा नेताहरूले नेपाली कांग्रेसको संगठन निकै सुदृढ बनाएका छन् । जसका कारण नेपाली कांग्रेस चुनाव जित्ने अवस्थामा पुगेको छ । ४५ प्रतिशत मतदाता जनजाति रहेको यो नगरपालिकामा नेपाली कांग्रेसले पेमा लामालाई अगाडि बढाएको भए चुनाव जित्ने कुरामा कुनै आशंका थिएन, तैपनि टिकट दिइएका सुरेश खनाल पनि कमजोर उम्मेदवार भने होइनन् । बुढाथोकी र पेमाको हार्दिक सहयोग लिन सफल भए भने खनालले सजिलै चुनाव जित्नेछन् । नगरपालिकाका १३ वटा वडामध्ये एमालेबाट आएकालाई आठवटा वडामा टिकट दिइएको छ भने राप्रपाबाट आएकालाई दुईवटा वडामा टिकट दिइएको छ । नेपाली कांग्रेसका पुराना कार्यकर्ताले ७, ९ र ११ नम्बर वडामा मात्रै अवसर पाएका छन् । अन्य पार्टीबाट धेरै कार्यकर्ता आएका कारण पार्टीको संगठन सुदृढ भएकाले नेपाली कांग्रेसले नयाँलाई अवसर दिएको हो ।
    एमालेले कुस्त पैसा कमाएका काठ व्यापारी एमबहादुर (नारायण)  खड्कालाई अघि सारेको छ । खर्च गरेरै चुनाव जित्ने अभिायनमा उनी छन् । माओवादीको भोट भने खासै छैन ।

    चन्द्रपुर नगरपालिका
    रौतहट जिल्लाको सबैभन्दा ठूलो नगरपालिका हो चन्द्रपुर । जनसंख्याका आधारमा प्रदेश २ कै दोस्रो ठूलो र क्षेत्रफलका आधारमा सबैभन्दा ठूलो नगरपालिका पनि हो यो । मधेसी आन्दोलनपछि एमाले नेता माधवकुमार नेपालले समेत जिल्ला सदरमुकाम गौरबाट आफ्नो बसाइँ सराई यहीँ सारेका छन् । माओवादी पीडित र मधेसी पीडितको आश्रयस्थल जस्तो रहेको चन्द्रपुरमा मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस र एमालेबीच नै हो । अन्य पार्टीका उम्मेदवारहरूले जमानत जोगाउन सक्ने अवस्था छैन ।
    मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेसका रामचन्द्र चौधरी र एमालेका उद्धव रेग्मीबीच नै हो । माओवादीका युवा उम्मेदवार समिर भट्टराई पनि तीन–चार हजार मत ल्याउन सक्ने पोजिसनमा छन् । मतदाता संख्या ३८ हजार रहेका कारण १३ हजार मत ल्याउन सक्ने उम्मेदवारले सजिलै चुनाव जित्ने अवस्था छ । १० हजार मत थारु समुदायको छ । थारु समुदायबाटै उम्मेदवार उठाएका कारण नेपाली कांग्रेसले चुनाव जित्ने सम्भावना देखिएको हो । अर्कोतिर उम्मेदवार चयनदेखि नै एमालेभित्र निकै ठूलो असन्तुष्टि छ । दुईजनालाई दिइसकेको टिकट क्यान्सिल गरी तेस्रोलाई टिकट दिइएका कारण एमालेको पोजिसन खस्केको छ । आफ्नो गृहनगरमै माधव नेपाल कमजोर छन् भन्ने सिद्ध गर्ने अभियानअन्तर्गत एमाले अध्यक्ष केपी ओलीले टिकट वितरणमै वातावरण बिथोलिदिएकाले नेपाली कांग्रेसले चुनाव जित्ने सम्भावना देखिएको छ । 

    जनकपुर काँग्रेस राजपाको प्रतिस्पर्धा
    प्रदेश २ को सम्भावित राजधानीका रुपमा चिनिएको जनकपुर उपमहानगरको निर्वाचन काँग्रेसका लागि प्रतिश्ठाको विषय बनेको छ । पूर्व राष्ट्रपति रामवरण यादव, नेपाली काँग्रेसका पूर्व महामन्त्री विमलेन्द्र निधि, नेताहरु लीला कोइराला, आनन्द ढुंगाना, रामकृष्ण यादवको प्रभाव रहेको जनकपुर उपमहानगरको निर्वाचनमा यस पटक नेपाली काँग्रेसका मनोज साहले निर्वाचन जित्ने सम्भावना छ । अघिल्ला निर्वाचनमा काँग्रेसबाट विद्रोह गर्नेले चुनाव जित्दै आएकोमा यस पटक विद्रोही नभएकाले पनि मनोज साहलाई चुनाव जित्न सहज भएको हो । साहको प्रतिश्पर्धामा राजपाका लालकिशोर साह आउने देखिएको छ ।  मेयरका लागि १९ जनाले उम्मेदवारी दिए पनि काँग्रेस र राजपावीच नै प्रतिश्पर्धा हुने देखिन्छ । उम्मेदवारी दर्ताअघि राजपाले देखाएको तामझाम कमजोर बन्दै गएको छ भने नेपाली काँग्रेसको अवस्था मजबुत बन्दै गएको छ । सहरी मतदाता भन्दा ग्रामिण मतदातामा पकट राखेको नेपाली काँग्रेसलाई चुनाव जिताउन पूर्व महमन्त्री विमलेन्द्र निधिले जनकपुरलाई नै मुकाम बनाउनु भएको छ । धनुषाका १८ पालिकामध्ये १३ पालिका जित्ने नेपाली काँग्रेसको विश्लेषण छ ।  मधेस केन्द्रीत दलहरुले आगामी निर्वाचनमा ३ प्रतिशत मत ल्याउन नसक्ने भएकाले उपमहानगरपालिका सहित जिल्लाको विकाशमा ठूला राष्ट्रिय पार्टीलाई नै मत दिने मिथिला विहारीका उमेश यादवले दावी गरेका छन् ।  नेपाली कांग्रेसले चुनाव जिते मात्रै जनकपुर प्रदेश २ को राजधानी बन्नेछ भन्ने कुरा स्थानीय मतदाताले बुझिसकेका छन् ।

    लाहन नगरपालिकामा त्रिपक्षीय भिडन्त 
    सिरहा जिल्लाका जिल्लाका १७ पालिकामध्ये लहान र सिरहा नगरपालिका महत्वपूर्ण मानिन्छन् । त्यसैले काँग्रेस, राजपा, एमालेले यी पालिकामा चुनाव जित्नुलाई प्रतिष्ठाको विषय बनाएका छन् । स्थानिय निर्वाचन सकिएको करिव दुई महिनापछि प्रदेश र संघको निर्वाचन हुने भएकाले पनि राजनीतिक दलहरु सक्रिय भएका हुन् । ७ वटा नगरपालिका र १० वटा गाउँपालिका रहेको सिरहामा उम्मेदवारी दर्ताको दिन वडा अध्यक्षको उम्मेदवार चयनका सन्दर्भमा उत्पन्न विवाद कुटपिटमा परिणत भएको थियो । काँग्रेसकी केन्द्रीय कोषाध्यक्ष सितादेवी यादवका छोरा डा.सुभाषचन्द्र यादवले प्रमुखमा टिकट पाएका छन् भने उपप्रमुखमा श्यामादेवी गुप्ता छन् । उनीहरु दुवैलाई काँग्रेसले चुनाव जित्ने सूचीमा राखेको छ । गत संविधानसभा निर्वाचनमा नेपाली काँग्रेसले सबैभन्दा बढि ४७ हजार ६ सय ०४ मत पाएको थियो भने एमाले र माओवादीले क्रमशः ४२ हजार ८ सय ७९, ३० हजार ७ सय २० मत ल्याएका थिए ।
     राजमार्गसँग जोडिएको लाहन नगरपालिकामा नेपाली काँग्रेसका अचमितलाल चौधरी, राप्रपा ( प्रजातान्त्रिक ) लगनलाल चौधरी र एमालेका मुन्नी साहवीच त्रिपक्षीय प्रतिश्पर्धा हुने देखिन्छ । अचमितलाल सांसद पद्मनारायण चौधरी नजिका क्षेत्रिय सभापति हुन् । व्यक्तिगत रुपमा चौधरीद्वय र साह बलिया उम्मेदवार हुन् भने सांगठानिक रुपमा नेपाली काँग्रेस र एमाले बलिया छन् । माओवादी, राजपा, संघिय फोरमले चुनाव जित्ने अवस्था छैन । एमाले उम्मेदवार मुन्नी साह ०५४ को स्थानिय निर्वाचनमा मेयर बनेकाले सबैसँग परिचित छन् ।
    समाचारमा प्रयोग भएको तस्बिर अनलाइन खबरबाट लिइएको हो ।

Ghar Bheti Animal Nepal
  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…