Page header hundai
  • सविता प्रसाई सापकोटा


    ब्राह्मण जातिको अति नै महत्वपूर्ण संस्कार ‘व्रतबन्ध’ हो । यो संस्कारको अर्को नाम ‘उपनयन’ पनि हो ।  सामान्यतया छोराको व्रतबन्ध र छोरीको विवाह गरेपछि मात्र कर्म चल्दछ भन्ने मान्यता छ । अझै पनि संस्कारी परिवारमा यो धारणा लुप्त रूपमा रहेको पाइन्छ । व्रतबन्ध संस्कार मुख्य दुई कारणले विशेष महत्वको मानिएको छ । पहिलो त, छोराको व्रतबन्धन गरूञ्जेल ऊ अशुद्ध नै मानिन्छ र ठूलाका साथ बसेर खाने तथा अन्य क्रियाकलाप गर्ने अनुमति प्राप्त हुँदैनथ्यो । त्यसैले पनि व्यक्तिको जन्म दुई पटक मानिन्छ, पहिलो आमाको गर्भबाट र दोस्रो व्रतबन्ध गरेपछि । 
    व्रतबन्ध गरेपछि उसलाई ‘द्विज’ मानिन्छ । द्विजको अर्थ संस्कारले जन्म हुनु हो । द्विज भएपछि विशेष रूपमा पवित्र, अपवित्र, जुठोचोखो आदिको विशेष ख्याल राख्नुपर्ने नियम हिन्दू धर्मले निर्देशित गरेको छ । दोस्रो महत्व, यस कारणले मानिन्छ कि यो संस्कारपछि उसलाई गुरुको नजिक विद्या आरम्भका लागि पठाइन्छ । त्यसैले पनि यो संस्कारलाई उपनयन भनिएको हो । उपनयनको अर्थ पनि गुरुको समीप भन्ने नै हुन्छ । प्राचीन समयमा व्रतबन्ध संस्कारपश्चात विद्या अध्ययनका लागि गुरुकुल पठाइन्थ्यो । लामो समयसम्म गुरुआश्रममा रहेर कठोर नियम र आचरणका साथ विद्या हासिल गरिन्थ्यो ।
    हिन्दू धर्मका चार आश्रममध्ये ब्रह्मचर्य आश्रम यही संस्कारबाट सुरू हुन्छ । वास्तवमा कर्म चलेपछि व्यक्ति नैतिक र संस्कारगत रूपले आफ्ना कार्यप्रति उत्तरदायी हुन्छ । आफ्नो स्वधर्म र परिवारजनको कूलको मर्यादाको पालना गर्छ भन्ने विश्वास पनि गरिन्छ । त्यस्तै व्रतबन्धको सम्बन्ध जोडिएको अर्को पक्ष के पनि हो भने कर्म चलेपछि बाबुआमाको किरियाकर्म गर्न पाउँछ । व्रतबन्धन गरूञ्जेल यो संस्कारलाई पनि प्रायः बर्जित नै मानिएको छ । यी विविध कारणले पनि व्रतबन्ध संस्कार हिन्दू ब्राह्मण समाजमा निकै महत्वपूर्ण रहिआएको छ । व्रतबन्ध संस्कारका आफ्नै विधिविधान रहेका छन् । जसलाई क्रमैसँग यहाँ व्याख्या गरिएकोे छ । 
    पूर्वांग ः मुख्य व्रतबन्ध कार्य गर्ने अघिल्लो दिनलाई ‘पूर्वांग’ भनिन्छ । पूर्वांग भन्नाले ब्राह्मण वा क्षेत्री समुदायमा ठूला धार्मिक कामहरू गर्नु अगाडि कामको पूर्वतयारीका रूपमा बुझिन्छ । अर्को अर्थमा कामको थालनी वा सुरूवातका रूपमा पनि यसलाई बुझ्न सकिन्छ । यसमा बन्धुबान्धव तथा सहयोगी भेला भई कसरी काम सम्पन्न गर्ने भन्नेबारे विस्तृत योजना र तयारी गरिन्छ । 
    पूर्वांग गरेपछि कुनै जुठो, सूतक परे पनि कार्य रोकिँदैन । पूर्वांगपश्चात दुईजना विवाहित महिलाले सिंगारेको मंगल कलश पूजा गर्ने र कसार बटार्ने काम गरिन्छ र अविवाहित कन्या केटीहरूले चोखो ठाउँबाट खनेर ल्याएको माटोले पूर्वांग सक्नेवित्तिकै जग्गे वा मण्डप बनाइन्छ । पूर्वांगको साँझमा भोलिपल्ट छेवर गर्नका लागि कैँची, छुरा, तीनतिर सेतो र एकातिर कालो भएको दुम्सीको काँडा, २७ वटा कुशका टुक्रा, दुईवटा पित्तलका कचौरामा नौनी, दही, गाईको घिउ, रातो बाच्छीको गोबर, तीन टुक्रा पहेंलो कपडाभित्र तोरी जौ, दूबो, श्रीखण्डको धूलो, दही चामल र गोबर राखेर तीनवटा अलग अलग मुठा बनाइन्छ । यी मुठालाई बाबु वा पुरोहितले बटुकहरूका टाउकोमा बाँधिदिन्छन् । 
    छेवर ः व्रतबन्ध संस्कारसँग जोडिएको अर्को महत्वपूर्ण विधिका रूपमा छेवरलाई पनि लिइन्छ । व्रतबन्धको बिहान पण्डितले मण्डपभित्र अग्नि स्थापना गर्दछन् र बटुकका बाबुले सातवटा गोदान गर्दछन् । अन्य विविध प्रक्रियाका साथमा तीन टुक्रा कुश टाउकाको टुप्पोमा ठड्याएर राखिन्छ, त्यसपछि ज्योतिषीले जुराएको साइतमा कपाल काटिन्छ । काटेको कपाललाई अनेक विधिका साथ नदीमा बगाइन्छ । अन्त्यमा दिदीबहिनीले भाइको शरीरमा बुकुवा दलेर ठूलो तामाको भाँडामा राखेर नुहाइन्दिछन् र छेवर कार्य सम्पन्न गरिन्छ । 
    एपनयन ः व्रतबन्धको मुख्य दिन बटुकले नुहाइसकेपछि पुरोहितको छेउमा बसेर तीनवटा गोदान गर्नुपर्छ । यी तीनवटा गोदान गर्नुको अर्थ पनि अचम्मको छ । बटुकले बाल्यकालमा जानीनजानी गरेको विभिन्न गल्ती जथाभावी खाएको, जथाभावी बोलेको आदि प्रायश्चितका रूपमा गरिने कर्म हो । यसपछि बालकलाई मृगचर्म दिइन्छ ओछ्याउनका लागि । उक्त छालालाई बटुकले कुममाथि लगाउँछ । कम्मरमा कन्दनी लगाएर जंगली अदुवाको पात लगादिइन्छ । त्यसपछि बाहिरबाट नसिलाएको पहेँलो लुंगी बेर्न लगाइन्छ । दहिने हातमा लठ्ठी, दाल चामल, राख्न मिल्ने जोगी झोला दिइन्छ । अन्त्यमा पहेँलो कपडाले खौरेको टाउको बाँधिन्छ । यसैबीचमा गुरुले बटुकलाई जनै लगाउन दिन्छन् । यसपछि गुरु शिष्य दुवैले तीनपटकसम्म अचमन गरेपछि बटुकले गुरुलाई उपहार र गोदान दिन्छन्, यसपछि नै शुभमुर्हूतमा बटुकलाई गुरुले गायत्रीमन्त्र दिन्छन् । मन्त्र प्रदान व्रतबन्धको मुख्य पाटो हो । यसपछि बटुक मण्डपको वरिपरि तीनपटकसम्म घुम्दै भिक्षा माग्ने काम गर्छन् । यसवेला सर्वप्रथम बटुककी आमाले भिक्षा दिन्छिन्, त्यसपछि बटुककी फुपू हुँदै अन्य नातेदारले भिक्षा दिने गर्दछन् । भिक्षा दिनु व्रतबन्ध संस्कारको महत्वपूर्ण कार्य हो । 
    प्राचीन समयमा सानै उमेरमा व्रतबन्ध संस्कार सम्पन्न गरेर गुरुले शिष्यलाई गुरु आश्रममा लिएर जान्थे । त्यहाँ निकै कठोर नियममा बसेर मात्र विद्या अध्ययन सम्भव थियो । बिहान सबेरै उठेर विविध क्रिया सम्पन्न गरी गृहस्थीहरूकहाँ भिक्षा माग्न पठाइन्थ्यो । निकै नम्र भावले मागेर ल्याएको भिक्षा नै गुरु तथा शिष्यले पकाएर खाने गर्दथे । यो क्रम एक दिन वा दुई दिनको मात्र होइन, पूरै ब्रह्मचर्या आश्रममा रहुञ्जेल लगभग २५ वर्षको समयसम्म गुरुआश्रममा रहेर गरिने क्रियाको झझल्को दिनलाई हाल व्रतबन्ध संस्कारमा तीन फन्का भिक्षा माग्न लगाएर सम्पन्न गरिन्छ । यो संस्कारमा बाबुले भिक्षा दिने चलन छैन । मागेर जे जति ल्याइएको सामग्री हुन्छ, सबै गुरुको चरणमा राख्ने चलन छ । गुरुको आज्ञाअनुसार बटुकले केही वस्तु ग्रहण गर्दछन् । त्यसपछि गोदान तथा होम कार्य गरिन्छ । यसपछि नुहाउन लगाई नयाँ कपडा बटुकलाई प्रदान गरिन्छ । यसरी व्रतबन्ध संस्कार सम्पन्न गरिन्छ । 
    हाल व्रतबन्ध संस्कारमा प्राचीन पद्धतिमा लुकेको मर्म कमजोर भएको अनुभूति गरिन्छ । यसलाई मात्र कर्म चलाउने वा विवाहका लागि विधि फुकाउने कार्यका रूपमा मात्र लिन थालिएको छ । हालको सामाजिक गतिशिलता तथा परिवर्तनसँगै धेरै कुरामा परिवर्तन आएको छ । उच्च वर्गले यसलाई सामाजिक प्रतिष्ठाको विषय मान्दै ठूला ठूला होटलहरूमा भव्य पार्टीको आयोजना गरेर सम्पन्न गर्ने चलन बढ्दो रूपमा छ । निम्न वर्गले यसलाई केवल कर्म चलाउने क्रियाको रूपमा मात्र लिन थालेका छन् । विगतमा ब्राह्मणहरू आफ्नो गाउँ, नातेदारी र छिमेकमा मात्र सीमित थिए । हाल जात व्यवस्था निकै कमजोर बन्दै गएको छ । साथै, खानपान तथा अन्य विविध सामाजिक क्रियाहरू निकै खुकुलो बन्दै गएका छन् ।  विस्तारै पश्चिमीकरण, भूमण्डलीकरण, आधुनिकीकरण, आधुनिक शिक्षा प्रणाली, बसाइँ सराई र अन्य सामाजिक प्रक्रियाले कुनै एउटा स्थान विशेषको मात्र नभई संस्कृति सबैको भन्ने अवधारण बढ्दै गएको छ भने ब्राह्मण वर्ग विभिन्न देश विदेश जाने र स्थायी बसोवास गर्ने क्रम बढ्दो रूपमा रहेको छ । त्यसैले पनि पुराना संस्कारलाई जोगाइराख्न गाह्रो हुनु स्वाभाविकै हो । अझ वेद अध्ययन गर्ने ब्राह्मण पाउन पनि हाललाई निकै मुस्किल पर्न थालेको छ । तर पनि जुन समयमा यो संस्कारको उत्पत्ति भयो त्यस समयमा यो संस्कार निकै व्यावहारिक र वैज्ञानिक पनि थियो । हिन्दू सामाजिक जीवनलाई सय वर्षको आयु मान्दै पहिलो २५ वर्षको आश्रमलाई ब्रह्मचर्या आश्रमका रूपमा लिँदै यो आश्रमलाई पूर्णरूपमा विद्या अध्ययनका लागि नै छुट्टाइएको थियो । यो आश्रमको समाप्तिसँगै व्यक्ति गृहस्थी आश्रममा प्रवेश गर्दथ्यो । 

Ghar Bheti Animal Nepal
  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…