Page header hundai
  • सविता प्रसाई सापकोटा


    नेपालका प्रमुख जातिमा ब्राह्मण पनि मानिन्छ, जो देशका विभिन्न प्रान्तमा छरिएर रहेका छन् । प्रायः देशका सबै निकायमा संलग्न भई प्राचीनकालदेखि नै आर्य संस्कृतिको अस्तित्व बचाई राखेका छन् । अन्तर्राष्ट्रिय प्रजातिय हिसाबले ब्राह्मण जातिलाई ककेसियनमूलका मानिन्छन् । नेपालमा ‘बाहुन’ भनेर पनि चिनिने यो जातिलाई ‘तागाधारी’ वा ‘द्विज’ जाति भनेर पनि सम्बोधन गरिन्छ । विशेष पहाडी इलाकामा बसोवास गरिरहेको यो जाति २००७ सालको आन्दोलनपछि तराईका विभिन्न क्षेत्रमा बसाई सरेर आइहाल देशका धेरै जिल्लामा बसोवास गरेको पाइन्छ । २०११ को जनगणनाअनुसार यो जातिको जनसंख्या कूल जनसंख्याको १२ प्रतिशत रहेको छ । पेसाको हिसाबले विशेष गरी यो जाति पुरेत्याईँ, वा कर्मकाण्ड, ज्योतिषी, खेतिपाती, अध्ययन, अध्यापन, सरकारी सेवा आदि विविध पेसामा आबद्ध छ ।
    सनातन हिन्दू संस्कृतिका अनुयायी यो जातिका प्रमुख चाडपर्वहरूमा दशैँ, तिहार, जनैपूर्णिमा, चैते दशैं, माघे संक्रान्ति आदि नै हुन् । यीलगायत अन्य हिन्दूधर्ममा आधारित चाडवाडहरूमा यिनीहरू रमाउने गर्दछन् । देवनागरी भारोपेली भाषा समूहमा बोलिने ‘खस’ भाषा बोल्ने भएकाले यिनीहरूलाई ‘खस’ जाति पनि भनिन्छ ।  परम्परागत रूपमा पुरूषहरूले धोती र भोटो, महिलाले गुन्युचोलो लगाउँछन्, तर हाल आधुनिक पहिरनमा नयाँ पुस्ता रमाउन थालेको छ, त्यसैले अहिले धेरै कुरामा परिवर्तन आएको महसुस गर्न सकिन्छ । खाने कुरामा दालभात नै मुख्य आहारा भएको हुनाले सोहीअनुसारको अन्नपात र खेतबाली लगाउने गरिन्छ ।
    नेपालमा विभिन्न जाति तथा जनजातिको बेलामौकामा अध्ययन गरिए तापनि नेपालको प्रमुख जातिको रूपमा रहेर पनि यो जातिको यथेष्ट अध्ययन हुन अझै बाँकी छ । अझ ब्राह्मण महिला जातिले नेपालको समाज र संस्कृति विकासमा पु¥याएको योगदानको विषयमा त अध्ययन भएकै छैन भने पनि हुन्छ । वास्तवमा ब्राह्मण समाजमा हरेक किसिमका संस्कारहरू ब्राह्मण पुरोहितद्वारा नै सम्पन्न गरिन्छ । पुरेत्याइँ गर्ने पुरोहित सगोत्री हुनु हुँदैन । कतै कतै भाञ्जा वा ज्वाइँलाई पनि पुरोहित बनाइएको पाइन्छ । पुरोहितविना ब्राह्मणका कुनै पनि संस्कारहरू पूरा हुँदैनन् । यस्ता पुरोहित कतिपय स्थानमा स्थायी पनि हुन सक्छन्, जो एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण पनि हुन सक्छन् । हिजो आज आधुनिक शिक्षाका कारण ब्राह्मण जातिका सन्तानहरू अन्य पेसामा आकर्षित हुँदै गएका छन् भने अर्कोतिर पुरेत्याइँ र पण्डित्याइँ गर्ने व्यक्तिले हिन्दूधर्मले निर्देशित गरेको आचरणमा बस्नुपर्ने भएकाले पनि हिजोआज प्रशस्त मात्रामा पुरोहित पाउन पनि मुस्किल बन्दै गएको छ । पुरोहित मान्ने वा नमान्ने भन्ने सन्दर्भमा पनि जैसी बाहुन र उपाध्याय बाहुनमा पश्चिम नेपालमा केही भिन्न प्रचलन पाइन्छ, साथै मनाउने अन्य संस्कारमा पनि पूर्व र पश्चिममा केही फरक चलन देखिन्छ । 
    हिन्दू परम्परामा जन्मदेखि मृत्युसम्ममा ब्राह्मण जातिले पालना गर्नुपर्ने जम्मा १६ वटा संस्कारको व्याख्या गरेको पाइन्छ । यी सोह्र संस्कारमा गर्भाधान, पुम्समान, सिमान्तोनयन, जातकर्म, न्वारन, निष्काम, अन्नप्राशन, चूडाकर्म, कर्णभेद, विद्यारम्भ, केशानत, समावर्तन, विवाह, अन्त्येष्टि आदि प्रमुख हुन् ।  तर हाल प्रायः १० संस्कार नै प्रचलनमा रहेका छन् । अझ अहिले त तिनलाई पनि छोट्याएर पाँचवटा संस्कारमै ब्राह्मण समाज सीमित भएको देखिन्छ, जुन न्वारन, व्रतवन्ध, विवाह, दान तीर्थ व्रत आदि र अन्त्येष्टि नै प्रमुख हुन् । गर्भाधारणदेखि नै संस्कार सम्पन्न गर्नुपर्ने मान्यता हिन्दूधर्ममा पाइन्छ ।  तापनि व्यवहारमा यस्तो किसिमको चलन देखिँदैन । बच्चा गर्भमा आएपछि जब गर्भको शिशुमा श्वास पस्छ, तबदेखि नै संस्कारको शुभारम्भसहित मान्यता दिइन्छ । गर्भाधारण पाँच महिनापछि धार्मिक कार्यहरू विशेष गरी पितृश्राद्धमा गर्भवती महिलालाई सहभागी गराइँदैन । त्यस्तै कतिपय परिवारमा दोजिया भएकी महिलाले पकाएको नखाने चलन पनि छ । 
    नवजात शिशुको नाभिबाट सालनाल छुट्याएपछि सूतक सुरू हुन्छ र ११ दिनमा न्वारन गरेपछि शुद्ध हुन्छ । सूतक लागेको बेलामा पूजाआजा निषेध गरिएको हुन्छ र कुनै पनि धार्मिक कार्यहरू गरिँदैन । जूठोमा जस्तो सूतकमा अन्य मानिससँगै खानपान गर्न हिँड्डूल गर्न निषेध हुँदैन । तर सुत्केरी महिलालाई भने उक्त समयमा अछुत नै मानिन्छ । पश्चिम नेपालमा ब्राह्मण परिवारमा भने यो नियम अझ कठोर देखिन्छ । सुदूरपश्चिमका केही गाउँगाउँमा अझै पनि गोठ वा छाप्रोमा सुत्केरी गराउने चलन छ । ब्र्राह्मण समाजमा बच्चा जन्मेको छैँटौ दिनमा भावीले बच्चाको भाग्य लेख्न आउँछ भन्ने विश्वास पाइन्छ, त्यसैले उक्त दिनमा कापीकलम राखी रातभर बत्ती बाली दिने चलन पनि छ । 
    जुनसुकै समाजमा नाम महत्वपूर्ण रहन्छ । त्यसैले नामाकरण संस्कारलाई सबैले नै आ– आफ्नो तरिकाले सम्पन्न गरेको पाइन्छ । बच्चाले यही संस्कारबाट आफ्नो थर र जातीय पहिचान पाउँछ । सूतक परेको ११ दिनको दिन पितापक्षीय नातेदारभित्रका सबैले पञ्चकव्य सेवन गरेर चोखिने चलन छ । सूतक चोखिने यस अन्तिम दिन सुत्केरीले टाउको र शरीर नुहाउने, आफ्नो कपडा र सुतेको ओछ्यान धोएर चोख्याउनुपर्ने हुन्छ । गाईको गोबरले लिपेर पवित्र बनाएको स्थानमा यज्ञ स्थापना गरी विभिन्न देवीदेवताको आह्वान गरिन्छ । बच्चा जन्मिएको ठीक समय टिपेर ज्योतिषीद्वारा कुन ग्रह नक्षत्रमा जन्मिएको हो, सो हेरी कुन अक्षरबाट नाम उठ्छ, सो निश्चित गरेर नाम प्रदान गरिन्छ । सोही समयमा बच्चाको पिताद्वारा बच्चाको थर र गोत्र प्रदान गरिन्छ । पुरोहितद्वारा पीपलको पातमा केसरी रङले बच्चाको नाम लेख्ने गरिन्छ र पुरोहितले बच्चालाई बोकी अग्निको परिक्रमा गराई तीनचोटि हावामा उफारेपछि न्वारनको कार्य सम्पन्न हुन्छ । यसपछि बच्चालाई घरबाहिर निकाली सूर्यको दर्शन गराइन्छ । 
    न्वारनपछिको महत्वपूर्ण संस्कार पास्नी हो । यो संस्कार छोरी भएमा पाँच महिनामा र छोरा भए ६ महिनामा सम्पन्न गरिन्छ । ज्योतिषी वा पुरोहितले निश्चित गरेको शुभदिनमा यो संस्कार सम्पन्न गरिन्छ । पुरानो परम्परामा त पास्नीपछि मात्र बच्चालाई नयाँ कपडा लगाइदिने चलन थियो । तर हिजोआज यस्तो चलन पाइँदैन । यो संस्कार त्यति धेरै जटिल छैन । सामान्य रूपमा स्वादिष्ठ र मिष्ठान्न परिकारलाई परिवारको ज्येष्ठ सदस्यले सुनको असर्फी वा सिक्का वा अन्य बहुमूल्य धातुले सर्वप्रथम खुवाइन्छ र मर्यादाक्रमअनुसार परिवारका अन्य सदस्यहरूले खुवाउँदै जान्छन् । यो भातख्वाई अथवा प्रचलित भाषामा पास्नी संस्कारलाई दुईवटा दृष्टिकोणबाट हेर्न सकिन्छ । पहिलो त बच्चालाई उमेर वृद्धिसँगै ठोस खाना खुवाउने संस्कारका रूपमा र अर्को भात खुवाइसकेपछि जोडिने पवित्रता र अपवित्रताको भावना । प्रायः बच्चाको मृत्यु पास्नी अगाडि नै भयो भने त्यसको अन्तिम संस्कार पनि सामान्य तरिकाबाट गरिन्छ र पास्नीपछि मृत्यु भएमा त्यसको अन्तिम संस्कार कर्म नचलेका वयस्कसरह नै गरिन्छ । कसैकसैले बच्चाको पहिलो दाँत आउने र पास्नीलाई सँगै जोडेर पनि हेर्ने गरेको पाइन्छ । किनकि पास्नी गर्ने समयसम्ममा बच्चाको पहिलो दाँत आइसकेको हुन्छ । त्यसैले पहिलो दाँत आएको खुसियालीका रूपमा पनि यो संस्कारलाई लिइन्छ । 
    पास्नी कसरी गर्ने भन्ने कुरा पनि परिवारको आफ्नो आर्थिक स्थिति वा हैसियातमा भर पर्दछ । यदि विपन्न ब्राह्मण परिवार भएमा सामान्य तौरतरिकाले मन्दिरमा लगेर वा घरमा नै विधि फुकाउने चलन पनि छ । समय पुगको भए सोही वर्षको दशैंमा पनि गर्ने चलन पाइन्छ । हिजोआज सम्पन्न परिवारले अरूको देखासेखी गरेर होटल वा रेस्टुरेन्टमा पनि गर्ने गरेको पाइन्छ । जे होस्, व्रतवन्ध अगाडिको महत्वपूर्ण संस्कारमा यही संस्कारलाई नै लिइन्छ । 

Ghar Bheti Animal Nepal
  • प्रदेश र संघमा दाबी गर्नेहरू प्रचारमा

    बेसीसहर । नेपाली कांग्रेसको प्रभाव क्षेत्र मानिए पनि स्थानीय तहको निर्वाचनमा एमाले–माओवादी केन्द्र गठबन्धनले बाजी मारेको लमजुङ जिल्लामा प्रदेशसभा र…

  • अमेरिकाको गम्भीर चेतावनी

    काठमाडौं । उत्तर कोरियाले परमाणु बम परीक्षण गरिरहेका बेला त्यसको कूटनीतिक असर नेपालमा पनि देखिन थालेको छ । ठूला देशहरूको…

  • यिनै वरिष्ठले देखाए कमाल

    काठमाडौं । प्रदेश नम्बर २ का आठ जिल्लामध्ये नेपाली कांग्रेसले सबैभन्दा ठूलो क्षति सिरहामा बेहोरेको छ । कोषाध्यक्ष सीता यादव,…

  • मध्यपूर्वी पृतनामा भारत र अमेरिका !

    काठमाडौँ । नेपाली सेनाले बर्दिबासबाट थोरै पूर्व धनुषाको धारापानीमा नयाँ पृतना खडा गरेको छ । अमेरिकी सेनाले सेनाको एयर बेस…

  • देउवा फर्किएलगत्तै केन्द्रीय समिति बैठक

    काठमाडौं । महान चाड बडादशैंको उल्लाससँगै सिंगो मुलुक महाचुनावमा होमिइसकेको छ । आगामी मंसिर १० र २१ गते एकैपटक दुई…

  • ओलीले ‘ब्ल्याक मेलिङ’ गरेको माधवको आरोप

    काठमाडौं । एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच केन्द्रीय समितिको बैठकमा जुहारी चलेको छ । पार्टी विधि,…

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…