Page header hundai
  • योगेन्द्रनाथ कर्माचार्य, प्रमुख सल्लाहकार, नेपाल यातायात व्यवसायी महासंघ


    पार्टनरमा बुबाले किनेको बसमा एसएलसी दिएको एउटा ठिटो काठमाडौं–बाह्रबिसे ओहोरदोहोर गरिरहन्थ्यो । साहुको छोरालाई बसका कर्मचारीले राम्रै व्यवहार गर्थे, मासुभात खुवाउँथे, बाह्रबिबसे बजार घुमाउँथे, खल्तीमा दुई चार पैसा हाल्दिन्थे । ती ठिटो थियो बनेपाका योगेन्द्रनाथ कर्माचार्य । नचाहँदा नचाहँदै यातायात व्यवसाय उनको नशामा रूपान्तरण भएछ । अरनिको यातायातबाट सुरु भएको उनको व्यावसायिक यात्रामध्ये दुई दशकभन्दा बढी महासंघमा बित्यो । २०५० सालतिर तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले बोलाएर कर्माचार्यलाई धाप मारेपछि यातायात क्षेत्रमा उनको लगाव अझ बढ्यो । भद्रगोल यो व्यवसायप्रति कर्माचार्य सन्तुष्ट छैनन्, एउटा फोरम बनाएर सुधार गर्न सरकारसँग सहयोगी भूमिका खेल्न पाए हुन्थ्यो भन्ने उनको चाहना छ । यिनै सन्दर्भमा कर्माचार्यसँग तरुणले गरेको कुराकानी ?

    ० कसरी यातायात व्यवसायमा संलग्न हुनुभयो ?
    – हामी बनेपा निवासी हौं, बुवा कविराज हुनुहुन्थ्यो, हाम्रो औषधि पसल पनि थियो । मेरो चासो पनि बुवाको पेसाप्रति थियो । बनेपामा अरनिको यातायात स्थापना भएको थियो । बुवाले एकजना साथीसँग मिलेर गाडी किन्नुभयो । एसएलसी दिएर म पनि फुर्सदमा थिएँ । त्यही गाडीमा म पनि हिँड्न थालें, मासुभात खान पाइने, पैसा उठाउन पाइने रमाइलो लाग्यो । नचाहँदा नचाहँदै म यो व्यवसायमा फस्न पुगें ।

    ० त्यसबेलाको यातायात व्यवस्थाबारे भनिदिनुस् न ?
    – निजी गाडीको त कुरै नगरौं, त्यसबेला आराथुन र ट्राम्ल नामको दुईवटा यातायातका साधनले बनेपा–काठमाडौं गर्थे । जनसंख्या र सडक सञ्जालको विस्तारसँगै थप यातायातका साधन आवश्यक पर्न थाल्यो । त्यही आवश्यकतालाई मध्यनजर गरेर २०२९ साउन १७ गते डा. सुरेन्द्रबहादुर बादेले अरनिको यातायात स्थापना गरेका हुन् । त्यसबेला १४ वटा गाडीबाट सुरु भएको अरनिको यातायात अहिले ५३० वटा पुगेको छ । त्यसबेला एक–डेढ घन्टामा बनेपाबाट काठमाडौंका लागि बस छुट्थ्यो, अहिले अरनिकोले बनेपा–काठमाडौंको यात्रा तय गर्दैन्, पूर्वी पहाडी जिल्लामा सेवा दिइरहेको छ, धेरैजसो ठाउँका लागि मिनेटमा दुईवटा बस छुट्छन् ।

    ० कुन उद्देश्यका लागि अरनिको यातायात स्थापना भयो ?
    – बनेपावासीलाई जहिले काठमाडौं आउनुपथ्र्यो, उनीहरूलाई सार्वजनिक यातायातका साधनको अभाव थियो । त्यही अभावलाई पूर्ति गर्ने उद्देश्यले अरनिको यातायात स्थापना भएको थियो । समयसँगै बनेपादेखि पूर्वी पहाडी क्षेत्रमा सडक सञ्जालको विस्तार भयो । ती क्षेत्रका जनतालाई सेवा दिन अरनिको यातायातले थाल्यो । अहिले यो संस्था नेपाल यातायात व्यवसायी महासंघको अभिन्न संस्था बनेको छ ।

    ० अरनिको सेवा अहिले कहाँ–कहाँ पुग्छ ?
    – पूर्वी पहाडी जिल्लालाई राजधानीसँग जोड्ने हो । पूर्वी पहाडी जिल्लामा सडक सञ्जाल विस्तार भएका सबै ठाउँमा अरनिको यातायात पुगेको छ । कोटेश्वरबाट छुटेको बस रामेछाप, सिन्धुली र दोलखाको जिरीसम्म पुग्छ ।

    ० त्यस क्षेत्रमा अरु व्यवसायी आए होइन ?
    – अहिले अरनिकोबाहेक अन्य चारवटा व्यवसायीहरू छन् । काभे्र बस व्यवसायीले धुलिखेलसम्म सेवा दिन्छ, अर्कोले पनौतीसम्म, अर्को हेलम्बु यातायात छ भने पछिल्लो पटक बीपीमार्गमा कुद्ने हिमाल तराई यातायात छन् । तर यी सबैको अभिभावक भनेको अरनिको यातायात नै हो ।

    ० विस्तार हेर्दा फाइदा धेरै हुन्छ जस्तो छ ?
    – फाइदाभन्दा पनि अनुशासनहीनता बढ्दै गएको छ । लोकतन्त्र र गणतन्त्र आएपछि सरकार निरीह र लगानीकर्ता छाडा भएका छन् । यो छाडापनले व्यवसायी किस्ता तिर्न नसक्ने अवस्थामा पुगे । अहिले प्रत्येक साता यातायातको साधन लिलामीको सूचना गोरखापत्रमा प्रकाशित हुन्छ । लगानी उच्च छ, फाइदा कम छ । सडकबारे कुनै अध्ययन अनुसन्धान छैन, सडकको क्षमताको मूल्यांकन हुँदैन, रुट तय व्यवसायी आफैले गर्छन् । धेरैले रोजगारी पाएको यो पेसा र व्यवसायलाई व्यवस्थित गर्ने दायित्व राज्यको हो, तर सरकार रमिते बन्छ ।

    ० राज्य किन निरीह बनेको ?
    – मुख्य कुरा हामीकहाँ स्थायी सरकार भएन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यकाल अझै दुई तीन वर्ष बाँकी नै छ, हाम्रा चारजना प्रधानमन्त्री उहाँलाई भेट्न पुगिसके । एउटा मन्त्री आएर केही गर्न खोज्यो, छाडेर हिँडिहाल्नुपर्छ । स्थायी सरकार भनेका कर्मचारी हुन्, उनीहरू माफियाको चँगुलमा फस्छन्, त्यसैले यो बेथितिले जरो गाडेको हो ।

    ० व्यवसायी नै सडकमा एकाधिकार जमाउन खोज्छन् ?
    – एकाधिकारलाई अंगे्रजीमा सिन्डिकेट भनिन्छ, आफूले उत्पादन गरेको सामानको मूल्य आफैले तोक्न पाउनुपर्छ भन्ने विश्वव्यापी मान्यता हो । राज्यले तोकेको भाडा र समितिले तोकेको रुटमा व्यवसायी हिँड्नुपर्छ । दुर्घटना भयो भने केही रकम विमाले दिन्छ, तर ५० लाख रुपैयाँसम्म खर्च हुन्छ । यी सबै कुराको जिम्मा राज्यले लिएर विधि र प्रक्रियामा अघि बढाए भइहाल्यो नि । किन व्यवसायीले सेन्डिकेट ग¥यो भन्नु ?

    ० के गर्दा राम्रो हुन्छ ?
    – कम्पनीमा जाने भनिएको छ, हामीकहाँ साझेदारी फापेको छैन । त्यसैले राज्यले यातायात विकास बोर्ड गठन गर्नुपर्छ । सडक प्रयोगकर्ताहरूको अधिकार सम्पन्न प्राधिकरण गठन गर्नुपर्छ । यो नै समस्याको स्थायी समाधान हो । जबसम्म निजी सार्वजनिक यातायात भरपर्दो र व्यवस्थित बनाउन सकिँदैन, तबसम्म सडक यातायातको समस्या समाधान हुँदैन ।

    ० यो विषयमा राज्यको ध्यान किन गएको छैन ?
    – यातायात कार्यालयलाई जति अस्तव्यस्त राख्न सकियो, माफियाहरूलाई त्यति नै फाइदा हुन्छ । यो क्षेत्रमा भिजन नभएको राज्यसंयन्त्रलाई ती माफियाहरूले घुमाइरहेका छन् । मुखले ठीक पार्ने र गलत व्यवहार गर्नेहरूलाई परास्त गर्दै राज्यसंयन्त्र बलियो बनाउनुपर्छ । 

    ० यो क्षेत्रमा कतिले रोजगारी पाएका छन् ?
    – झन्डै तीन लाख सार्वजनिक यातायात कुद्छन् । त्यसमा दुईदेखि पाँचजनाले प्रत्यक्ष र परोक्ष रूपमा रोजगारी पाएका छन् । त्यही हिसाबले पनि नौ लाख व्यक्तिले यो क्षेत्रमा रोजगारी पाएको अनुमान गर्न सकिन्छ । ती नौ लाख व्यक्तिसँग कम्तीमा चारजना आश्रित रहन्छन् । यो व्यवसाय उनीहरूको रोजीरोटीको सवाल हो ।

    ० यो क्षेत्रबाट तपाईंले चाहिँ अवकाश लिनु भएको हो ?
    – अरनिको यातायातको सचिव भएर लामो समय काम गरें । त्यसपछि नेपाल यातायात व्यवसायी महासंघको अध्यक्ष भएर पनि काम गरें । अहिले महासंघको पूर्वअध्यक्ष तथा प्रमुख सल्लाहकार हुँ । यो क्षेत्रमा काम गरेको चारदशकभन्दा लामो अनुभव छ मसँग, तर सन्तुष्ट छैन ।

    ० किन नि ?
    – यस क्षेत्रमा हुने विकृति विसंगति र सुधार गर्नुपर्ने ज्ञान राजनीतिक दल तथा राज्य सञ्चालकसँग छैन । हाम्रो अनुभव राज्य सञ्चालकका सम्वाहक राजनीतिक दललाई एउटा शुभेच्छुक संस्थाको रूपमा अवगत गराउन पाए छिटो सुधार हुने थियो ।

    ० त्यसका लागि केही पहल गर्नुभएन ?
    – एमालेप्रति आस्था राख्ने साथीहरूले लोकतान्त्रिक यातायात व्यवसायी संघ गठन गरेर लागिरहेका छन् । त्यसैगरी हामीले पनि प्रजातन्त्रमा आस्था राख्ने साथीहरू मिलेर नेपाल प्रजातान्त्रिक यातायात व्यवसायी संघ गठन गरेका छौं । त्यसको महाधिवेशन भदौ १८ गते पोखरामा हुँदैछ । १४ अञ्चलकै प्रतिनिधि भेला भएर नयाँ कार्यसमिति गठन गर्नेछ ।

    ० के हुनेछ महाधिवेसनको एजेन्डा ?
    – यति धेरै रोजगारी दिएको यातायात व्यवसायलाई राम्रो दृष्टिले हेरिँदैन, लुट्यो भन्नेबाहेक केही भनिँदैन । व्यवसायीले पनि सच्चिन आवश्यक छ, जनताले व्यवसायीलाई हेर्ने दृष्टिकोण पनि परिवर्तन गर्नुपर्ने छ । यसका लागि हामी राज्यसँग सम्बन्ध सेतु भएर काम गर्न सक्छौं । अर्को कुरा लगानी र सडकको क्षमता, यात्रुको आवश्यकताबारे अध्ययन अनुसन्धान हुनुपर्छ । हामी यिनै मुद्दामाथि महाधिवेशनमा छलफल गर्नेछौं ।

Ghar Bheti Animal Nepal
  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…